सधैंझैं पत्रिकाले बेरिएको खानाको पोकाभित्र प्लास्टिक बेरिएको हुन्थ्यो । हरेक दिन उसिनेको भातको साथ एकपिस फ्राई–माछा त्यो पनि तीतो खालको र उसिनेको एउटा अन्डा पाइन्थ्यो । त्यही पनि सधैं अपुग । अर्को रमाइलो मिश्रण के भने सोही खाना बेरिएको पत्रिकामा आफ्नै बारेमा चित्र अनि शब्दहरू प्रकाशित भएको पो रहेछ !
सबैजना उत्सुकताका साथ तँछाडमछाड गर्दै हेर्न थाल्यौं । एकअर्काको अनुहारको बारेमा प्रतिक्रिया आदानप्रदान गर्दै हाँसो अलिकति, खुसी थोरै अनि दुःख चिन्ता धेरै गर्दा हृदयभित्रका शब्दहरू तँछाडमछाड गर्दै बेरिन थाल्यो । अन्जान ठाउँ भएर हाँसो र खुसी थियो । नेपालतिरका पत्रिका अनि टेलिभिजनमा पनि दिइएको हुन्थ्यो भने त कति दुःखी भएर आँत्तिदा होलान् हाम्रा परिवार ?
मानिसको जीवनमा दुई किसिमले चर्चा हुन्छ भन्छन् । एक राम्रो र अर्को नराम्रो । त्यस्तै पत्रपत्रिकामा पनि दुई किसिमका कारण नै प्रायः प्रकाशित बनेर खबर बन्न पुगेजस्तै हामीमा पनि त्यो कुरा लागू भएको छ । मेरा लागि हाँसो, खुसी, दुःख, चिन्ता जे भएपनि यो पहिलोपटक भएर होला, बारम्बार घोत्लिएर सोही पत्रिका हेरेको हेर्यै भइरहें ।
वास्तवमा हामी राम्रो–नराम्रो केही त्यस्तो काम गरेर आएका थिएनौं । तर पनि त्यसरी पत्रिकामा आएको आफ्नै फोटोले पनि गिज्याइरहेझैं लाग्दै थियो । मलाई समय कटाउन अति नै गारो भइरहेको थियो । यस अवस्थामा बिहान, बेलुकी, दिन र रात क्रमिक आइरहेकै थियो । रातको निद्रा फकाउँदै गर्दा बीचमा सुतेर टनटनी कहनिएको आवाजले मलाई झस्कायो ।
को होला भनी आँखा र कानलाई एकचित्त बनाएँ । हेरें, दीपक पो रहेछ । हिरासतको कोठाभित्र रातभरि बत्ती बल्ने हुनाले चिन्न गाह्रो पर्ने कुरै भएन । कतै सपनामा बर्बराएको हो कि भनेर बिस्तारै ‘दीपक…दीपक’ भन्दै बोलाएको मात्र के थिएँ, उसले जुरुक्क मुन्टो ठड्याउँदै मतिर हेरेर अनुहार खुम्चाउँदै एउटा हात तल कट्टुभित्र हालेको देखें ।
म अचम्म मानेर हेरिरहें । ऊ केही बोल्न सकिरहेको थिएन । मैले पुनः उसलाई सोधें– ‘के भयो तिमीलाई ?’ उसको अनुहारमा पीडा प्रशस्तै देखिन्थ्यो ।
‘मलाई यहाँ तल साह्रै दुख्यो यार’, उसले उठ्दै भन्यो । अनि उसले पाइखाना पुगी निकै फुलेर पाकेजस्तो लिङ्ग लाजै नमानी देखायो । म छक्क परें ।
‘अनि कसरी यस्तो भयो ?’
‘खै थाहै भएन यार’, उसले जवाफ दियो ।
‘अब के गर्ने ?’ मैले भनें ।
‘म त टनटनी दुखेर सुत्न नसक्ने भएँ । शुक्रकीटजस्तै पीप झरेको झर्यै छ’, उसले अत्तालिँदै एकमुष्ट भनिसक्यो ।
‘अब यति राती त्यो गार्डलाई भनेर पनि के गर्ने ? भोलि बिहान उज्यालो नभइन्जेल त जसरी हुन्छ, सहनु नै वेश होला । अनि तिमीले पहिले नै किन नभनेको ? एक्कासि आजै मात्र यस्तो भएको त पक्कै हैन होला ?’
‘सुन्निएको त अस्तिदेखि नै हो तर यस्तो विधि दुख्ला भन्ने मैले सोचेको थिइनँ ।’
उसको पीडादायक स्वर सकिनसकी निस्किरहेको थियो । ‘प्लिज ! केही नदुख्ने औषधि छ कि यसो सोध न गार्डलाई बोलाएर’, उसले भन्यो ।
केटालाई साह्रै नै दुखेछ भन्ने ठानेर बिस्तारै फलामे बारको ढोकाबाट चियाएर पल्लोपट्टि बसेको गार्डलाई बोलाएँ । गार्ड नजिकै आयो ।
‘सर ! उसलाई लिङ्ग दुखेर सुत्नै नसक्ने भयो के गर्ने ?’ मैले भनें ।
‘यति राती अस्पताल लाने मान्छे छैन । नदुख्ने औषधि होला म हेर्न जान्छु ‘
गार्ड गयो । केही छिनमा दुइटा ट्याब्लेट ल्याएर दिँदै भन्यो ।
‘अहिले यो खानू, बिहान उज्यालो भएपछि अस्पताल लैजान्छु ।’
गार्ड मुसुमुसु हाँसेर दीपकलाई जिस्क्याउँदै पनि थियो ।
हामी मध्येकै सबैभन्दा कान्छो उमेरको गोरो केटो थियो, दीपक । त्यसैले पनि उसलाई सबैले जिस्क्याउने गर्दथे । सत्र वर्षको उमेरमा विदेश हिँडेको, त्यो पनि गाउँघरमा सम्हाल्न नसकेर रे ! गार्डले दिएको औषधि खाएर ऊ थचक्क बस्यो । गार्डले उसलाई जिस्क्याउँदै तर्सायो, ‘तँलाई एड्स लागेको छ ।’ दीपक असमञ्जसमा थियो । केही बोल्नै सकिरहेको थिएन ।
त्यतिबेला सम्मको भलाकुसारीले अरु साथीहरु पनि ब्युँझेर जिस्काउन थालिसकेका थिए । हाँसो र पीडाको सम्मिश्रणपछि हामी बिस्तारै रात कटाउनतर्फ लाग्यौं ।
‘राती साह्रै चाप्दोरहेछ यार !’ भन्दै थियो दीपक ।
‘हो र ? गर्थिस् नि बैङ्ककमा । खूब केटीहरूसँग घुम्ने भा’को’, उसको एक छिमेकी लिम्बू साथी भन्दै थियो । ‘लाग्यो, यसलाई अब भिरिङ्गे लाग्यो’, अर्को उसैको छिमेकी धिमाल भन्छ ।
कोही के भन्छन्, कोही के । ऊ घरिघरि बेस्कन चिढिन्छ तर पनि उसले सहनु नै पर्नेछ । राती ड्युटी बसेको गार्डले अरु पुलिसलाई खबर गरेर होला, सबेरै दुईजना सोधपुछ गर्न आइपुगे । दीपक लजालु बनेर इसारा गर्दै थियो । म देखेजाने अनुसार उनीहरूलाई प्रस्ट्याउँदै थिए ।
उसलाई बाहिर निकालेर झोलाहरू राख्ने कोठामा लैजान्छन् कपडा लगाउनका लागि । त्यही मौका छोपेर म दन्तमञ्जन लिने बहानामा सरल पुलिसको फाइदा उठाउँदै ऊसँगै स्टोर कोठामा छिर्न पुग्छु । आफ्नो झोलाबाट मञ्जनका साथै एउटा ज्याकेट, सानो डिक्सनेरी र चस्मा झिक्न पुग्छु । ज्याकेटको खल्तीमा मैले बैङ्ककदेखि काठमाडौं जाने जहाजको टिकट र सानो पावरवाला चस्मा पनि निकालेको थिएँ । दीपकलाई उनीहरूले अस्पताल लिएर गए ।
म भित्र छिरेर टुथपेस्ट च्यात्न थाल्छु । किनभने त्यहाँ मैले एकसय दरका चार पत्ता डलर प्लास्टिकले बेरेर राखेको थिएँ । आफूसँग भएको पैसा नै त्यत्ति भएकाले त्यसलाई जोगाउनु मेरो प्राथमिकता थियो । धेरै दिनसम्म थुनामा बस्नुपर्यो भने त्यो पैसा कुहिएला कि भनेर साह्रै पीर परेको थियो । तर, जस्ताको त्यस्तै भेटेपछि म दङ्ग परें ।
त्यो पैसा त निकालें । तर, लुकाएर राख्ने कहाँ ? कहीँ लुकाउने ठाउँ नपाएपछि सोही डिक्सनेरीभित्र केही पानाहरु जुधेर खप्टिएको ठाउँमा स्टिच मारेको थिएँ । त्यसैमा पट्याएर घुसारें । मन बल्ल केही हलुका भयो ।
कथा, गफ, भलाकुसारी नै दैनिकी बनेको यस ठाउँमा डिक्सनेरी मेरो समय कटाउने मेलो भएको थियो । आजभोलि गर्दागर्दै बानी पर्न थालिसकेछ । नरमाइलो लाग्न पनि कम भएछ । अब त हामी आफ्नै तरिकाले समय व्यतीत गर्न थालेका थियौं । एकदिन छुद्र पुलिसको ड्युटी परेछ । जो थुनुवाहरू राखेको कोठामा छिरीकन तर्साउँदै खानतलासी लिँदै गरेको दृश्यले हामीलाई त्रसित र चिन्तित बनायो ।
मेरो ज्याकेट अनि डिक्सनेरी त छँदै थियो । पदम (गुरुङ) को दाजुसँग पनि तीनसय डलर थियो । ऊ त अलि उमेर खाएको मानिस, त्यसमाथि दुई–चारवटा दाँतका बंगारा नभएकाले प्लास्टिकमा नोटलाई बेरेर त्यहीँ घुसारी मुख बन्द गरी बस्न थाल्यो । नभन्दै त्यस छुद्र पुलिसले हामी बसेको कोठामा छिरेर एकएक गर्दै खानतलासी लिन थाल्यो । उसले कट्टुसमेत खोल्न लगाएर हे¥यो । कतै पैसा गुप्ताङ्गभित्र लुकाएको छ कि भनेर ।
कपडासमेत साथमा राख्न नपाइने कोठामा बाक्लो ज्याकेट देखेपछि ऊ उतै लम्किएर कराउँदै ‘यो कसको हो ?’ भन्न थाल्यो ।
‘मेरो हो’, मैले बिस्तारै भनें ।
उसले मलाई त्यही ज्याकेटले बेस्कन झटारो हान्यो । पुनः ज्याकेट उठाएर खल्तीतिर छाम्दै गर्दा खल्तीमा मेरो जहाजको टिकट भेटेपछि आफ्नो खल्तीबाट लाइटर झिक्यो र जलाइदिन्छु भन्न थाल्यो । बलेको लाइटरमाथि टिकट झुन्ड्यायो । मेरो मन कट्कटी काटियो । उकुसमुकुस भएँ । के गरौं – कसो गरौं भयो । मेरा आँखाबाट पिलपिल आँसु बग्न थालेको थियो भने सबै साथीहरु मूर्तिसरि चुपचाप खडा थिए । ऊ घरिघरि लाइटर मार्दै बाल्दै मलाई तर्साउँथ्यो । घरि मलाई लात्तीले हान्न भ्याइहाल्थ्यो । कसरी सम्झाउने उसलाई ?
ऊ आफ्नै भाषामा च्याठिँदै थियो । उसको अगाडि केही गर्ने हिम्मत नै आएन । त्यो पनि हिरासतभित्र के नै गर्न सक्थें र ! म ठूलो धर्मसङ्कटमा परें । कठाङ्ग्रिएको मेरो रुप देखेर पल्लो बारमा कुनामा उभिएको बर्मेलीले मलाई आँखाले इसारा गर्दै भन्यो ‘नडराऊ, यसले तर्साएको मात्रै हो, केही गर्दैन ।’ त्यही इसारा नै मेरा लागि सहारा बन्न पुग्यो । त्यसपछि मलाई उसको गाली र लात्तीले पनि छुन छाड्यो । उसले पाइखानाको बाल्टीसमेत पल्टाएर हेर्न छोडेन । झ्यालको डन्डीमाथि राखेको त्यस डिक्सनेरीमाथि उसको नजर गयो । तान्दै फररर पल्टाउँदै फेरि कड्कियो ।
‘यो कसको हो ?’
उसले त्यसो भन्नासाथ म झनै तर्सिएँ ।
मेरो खुम्चिएको अनुहार देख्नासाथै उसले मेरो हो भन्ने भेउ पाइसकेकाले फेरि नजिक आएर थप दुई लात्ती बर्सायो । यसबखत मसँग प्रतिकार गर्ने कुनै अस्त्र थिएन । म आफैंलाई साह्रै निरीह लाग्दै थियो । डिक्सनेरी ज्याकेट भएको ठाउँमा फ्यात्त फाल्दै पुनः त्यो उठाएर ले भन्यो । उठाएर पोको पारी उसको पछिपछि लागें । स्टोर कोठामा लगेर ज्याकेट बाहिरै राखे पनि त्यस डिक्सनेरीलाई भने झोलाभित्र राखी तुनो कस्दै गर्दा उसले हेरिरहेको देखें । म अलिक हड्बडाएजस्तो भएँ ।
ढोका ढ्याप्दै मलाई पुनः त्यही हिरासत कोठामा फर्काएर ऊ अफिस कोठातर्फ लाग्यो । अभिभावकले समेत नहानेको त्यस्तो लात्ती खानुपर्दा मैले त्यसलाई भुल्ने कुरै भएन । साथीहरूका अगाडि म मरेतुल्य बनेको थिएँ ।
डिक्सनेरीभन्दा पनि डलरप्रतिको लगाव बढी भएकाले मेरो ध्यान हमेसा त्यसैमा केन्द्रित भइरहन्थ्यो । त्यस ठाउँमा कैदीहरुको आउने–जाने क्रम चलिरहने हुनाले स्टोरमा राखिएका सामान नहराउलान् भन्न सकिन्थेन । कोही आउँदा–जाँदा म निकै सतर्क हुने गर्थें । किनभने त्यो पैसाबिना मेरो जीवनका पाइला अगाडि बढ्न निकै कठिन थियो । अरु केही नेपाली रुपैयाँ त थियो तर यस ठाउँमा चल्नेवाला थिएन । केही खुद्रा डलर भए तापनि त्यतिले गन्तव्यसम्म पुग्ने सम्भावना कम थियो ।
(जोशीको प्रकाशोन्मुख संस्मरण ‘श्रीमाटन’बाट )
source https://www.onlinekhabar.com/2020/11/912042
0 comments:
Post a Comment