Friday, 29 January 2021

कविता : बाकस

बाकस आयो, बाकस आयो

छ फुटे बाकस आयो !

पल्लाघरे काकाले भने

हिड़ जाउँ काठमाडौँ, तिम्रो बाबाको बाकस आयो

 

आमा त हिजै गैसकिछन्

काका- आमालाई भन्दिनू

म पुग्नुभन्दा पहिला नखोल्नु रे बाकस !

जादाखेरि बाले भनेर गा’थे

कोशेली पठाउँछु

तिम्रा लागि बाकसभरि

आमाका लागि झोलाभरि

 

आमा त रुँदै गइन् अरे !!!

आफ्ना लागि कम भो भनेर हो कि ?

नरुनु है आमा, नाना मात्र म लगाऊँछु

पापा त खाउँला नि बाँडीचुँडी !

 

काकाले मलाई सुमसुम्याउँदै

काखमै राखे बाटोभरि

सधैं सपनीमा बा आउँछन्

गाडीमा पनि निदाएँ, आउलान् कि भनी

आज सपनीमा पनि बाकस मात्र देखें

सोचें, कस्तो लोभी भएँ म पनि !

 

ट्याक्सीमा पहिलोचोटि चढ़दैछु

सिधै छिर्यो एयरपोर्टभित्र

आमा अझै रुँदै रहिछिन्

छाती पिटीपिटी !

अलि नजिक गएर हेरें

बा पो रहेछन् बाकसभित्र !

 

आमाको मुख थुनें दुईवटै हातले

निदाई रा’छन् बा भनी !

बासँगै सत्र बाकस बन्द थिए

खुशी भएँ ! बा पनि आएछन्

ल्याएछन् बाकस अरु पनि  !

धुप अगरबत्ती, अबिर अनि खादा

आउँदा किन निदाएछन् बा

उठेरै गा’थे जाँदा !

 

बालाई पशुपति लग्नुपर्छ भन्दा

अचम्ममा परें ।

सुतिरहेको मान्छे कसरी गर्छ र दर्शन भनी !

मन्दिर पुग्दा त उठ्लान् बा

कस्ती लाटी म पनि  !



source https://www.onlinekhabar.com/2021/01/927686

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More