‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’ मा भाका हाल्दै गर्दा समीक्षा अधिकारीको बालापन सकिएकै थिएन । ‘नाइँ नभन्नु ल–५’ को शीर्ष गीत गाउँदै गर्दा उनको उमेर कति नै थियो र ? पुगनपुग १३ वर्ष ।
तर, बालापनमै समीक्षाले जसरी आफूलाई ‘पार्श्व गायिका’का रूपमा पेस गरिन्, त्यसअनुरूप उनको चिनारी बनेन। गीत खुब चल्यो, उनी चलिनन् ।
लकडाउनको बखत सार्वजनिक गीत ‘माया मारेर’ले भने संगीत पारखीहरूमाझ बेग्लै झंकार पैदा गर्यो । त्यसपछि गीतकार र संगीतकारले समीक्षालाई पत्याउन थाले। अन्ततः एकपछि अर्को गीतले उनलाई पच्छ्याइरह्यो । कतिसम्म भने, एकैदिन पाँचवटासम्म गीत रेकर्ड गर्न थालिन् समीक्षाले ।
‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु बर’, ‘नबोली नबोली’ जस्ता गीतहरूबाट समीक्षा चर्चाको उचाइमा उक्लिइरहिन् । लकडाउनयता मात्र उनले १५० गीतमा स्वर दिइसकेकी छन् । समीक्षाको ‘पछ्यौरी लिस्यो’ गीतले युट्युबमा करोड भ्युज पाएको छ ।
उमेरले १६ वर्ष टेक्दै गर्दा उनले लोभलाग्दो सफलता हाँसिल गरेकी छन् । ‘सोचेकै थिइनँ’ हालैको एक मध्याह्न समीक्षाले उत्साहित भावमा सुनाइन्, ‘यति छोटो समयमा यतिबिघ्न माया पाइएला भनेर ।’
लाग्छ, यतिबेला उनकी सरस्वती दाहिना छिन् । आखिर उनी कस्तो पृष्ठभूमि र धरातलमा टेकेर यति तीव्रताका साथ छलाङ मारिरहेकी छन् ? कथा घतलाग्दो छ ।
जब गाउँमा ‘छक्का पन्जा-३’ पुग्यो
कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोक गाउँ, जहाँ समीक्षा जन्मिइन् र हुर्किइन् । सोही गाउँमा चलचित्र छक्का पञ्जा–३ को छायांकन हुँदै थियो । त्यसबेला समीक्षा स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी अध्ययनरत विद्यालयमा नै चलचित्रको छायांकन हुँदै थियो ।
चलचित्रको फ्रेमभित्र उनी पनि ‘झल्याक-झुलुक’ देखिएकी छन् । यद्यपि उनलाई त्यससँग खास सरोकार थिएन । सरोकार थियो त आफ्नो गायकीमा । समीक्षा गाउनमा रूचि राख्थिन्, जुन कुरा छायाँकार पुरुषोत्तम प्रधानले थाहा पाए ।
उनले आफ्नो मोबाइलमा समीक्षाले गीत गाएको भिडियो खिचे । फेसबुकमा अपलोड पनि गरे । त्यसबेला समीक्षाले ‘नाइँ नभन्नु ल-२’ को ‘यी आँखामा तिमी छौं’ गीत गाएकी थिइन् । संयोग कस्तो पर्यो भने, समीक्षाले गाएको र पुरुषोत्तमले आफ्नो फेसबुकमा अपलोड गरेको यो भिडियो विकासराज आचार्यले हेर्न पुगे । चिनाइरहनु नपर्ला, विकासराज आचार्य ‘नाइँ नभन्नु ल’ शृङ्खलाका निर्देशक हुन् । उनलाई समीक्षाको स्वर गजब लाग्यो । संगीतकार बसन्त सापकोटाले पनि रूचाए ।
विकासराज नयाँ चलचित्रको तयारीमा थिए, ‘नाइँ नभन्नू ल ५’ । विकास र बसन्तले एकआपसमा सल्लाह गरे, नयाँ चलचित्रको एक गीत समीक्षाको स्वरमा रेकर्ड गराउने ।
सुटिङमा भेट भएयता समीक्षाको छायाँकार पुरुषोत्तमसँग कुरा भइरहन्थ्यो । पुरुषोत्तमले समीक्षालाई फोन गरे र भने, ‘तिमीलाई बसन्त सापकोटा सरले फोन गर्न सक्नुहुन्छ, उठाउ ल ।’
चलेका संगीतकार बसन्त समीक्षाका लागि नयाँ नाम थियो । युट्युबमा खोजिन । ‘नाइ नभन्नू ल’ देखि धेरै चलेका गीतहरु स्क्रिनमा आए । समीक्षामा खुसीको सीमा रहेन् । बाबा–ममीलाई बसन्तका गीतहरुबारे सुनाइन् ।
अब, समीक्षालाई बसन्तको फोनको प्रतिक्षा ब्यग्र रह्यो । अन्ततः बसन्तको फोन आयो ।
‘नानी तिमीले गीत गाउँदै छौं । भोली नै एकजना अभिभावकका साथ काठमाडौं आउ ल’ –बसन्तले भने ।
फूपू दिदीको साथ लागेर समीक्षा खुसी हुँदै काठमाडौं आइन् ।
समीक्षा काठमाडौं ओर्लिएको भोलिपल्ट संगीतकार बसन्तसँग स्टुडियो पुगिन् । निर्देशक विकासराज स्टुडियोमै थिए ।
रोचक कुरा त के भने समीक्षालाई चलचित्रको गीत गाउँदैछु भन्ने समेत जानकारी थिएन ।
‘बसन्त अंकलले नानु तिमीले चलचित्र ‘नाई नभन्नू ल ५’को गीत गाउँदैछौं भन्नुभएपछि अझ धेरै खुसी भएँ’ पहिलो गीत गाउँदाको क्षण सुनाइन् ।
अगाडि थप उत्साहित हुँदै भनिन् ‘त्यो क्षण एकदमै डर लागिरहेको थियो । तर, आफैले आफैलाई सम्झाएँ । आफ्नो प्रतिभा देखाउने मौका यहि हो भन्ने सोँचेर रेकर्र्डिङका लागि कोठामा छिरेँ ।’
र, भाका हालिन्, ‘कहाँ आउँछ घुमेर, यो बालापनको उमेर ।’
विकासराज, बसन्तले समीक्षाको तारिफ गरे । पारिश्रमिक स्वरुप १० हजार रुपैयाँ पनि दिए । पहिलो गीतमा १० हजार रुपैयाँ पारिश्रमिक पाउँदा समीक्षा मख्ख पर्दै स्टुडियोबाट निस्किइन् । र, अर्को दिन काठमाडौंदेखि घर फर्किइन् ।
पहिलो गीत हिट, तर गुमनाम समीक्षा
समीक्षाले गीत रेकर्ड गरेर फर्किँदा गाउँमा छिमेकी, विद्यालयमा शिक्षक तथा साथीभाइमा चर्चा भइसकेको थियो । धेरैले उनलाई बधाइ दिए ।
गीत सार्वजनिक हुन भने केही महिना लाग्यो ।
गीत सार्वजनिक हुनुभन्दा अघिल्लो दिन बसन्तले समीक्षालाई फोन गरेर भोलि गीत रिलिज हुँदैछ भन्ने जानकारी गराए ।
समीक्षाको घरमा इन्टरनेट थिएन । गीत कस्तो बन्यो होला ? मेरो गीतमा अरुले नृत्य गर्दा कस्तो देखियो होला ? कसरी हेर्ने होला ? समीक्षामा एकदमै उत्सुकता थियो ।
विद्यालयमा ‘इन्टरनेट’ थियो । तर, विद्यालयमा मोबाइल लैजान प्रतिबन्ध थियो । तर, पनि समीक्षा गीत सार्वजनिक हुने दिन मोवाइल लिएर विद्यालय गइन् । मोबाइल लगेर मात्र भएन्, उनलाई त आफ्नो गीत हेर्नु थियो ।
तेस्रो पिरियडमा कम्प्युटर कोठामा पुगिन् । शिक्षिकासँग आफ्ूले गीतको भिडियो हेर्नका लागि अनुमति मागिन् ।
भिडियो हेर्न थालेकी के थिइन् शिक्षक सोही समय कोठामा छिरे र मोबाइल खोसिदिए ।
समीक्षाले आफ्नै गीतको भिडियो पूरा हेर्न पाइनन् ।
निराश हुँदै घर फर्किन् । सोही दिन घर नजिक छिमेकीकोमा गएर भिडियो हेरिन् । दाइले मोबाइलमा पनि गीत डाउनलोड गरेका रहेछन् । घरमा परिवारका साथ बसेर गीत हेरिन् । पहिलो गीत हेर्दा छुट्टै खुसी लागेको समीक्षाले बताइन् ।
केही समयपछि गीत हिट भयो । रेष्टुरेष्टमा होस् वासांगीतिक कार्यक्रम, वा कतै सार्वजनिक सवारीमा नै किन नहोस् । बजिरहेको हुन्थ्यो, ‘बालापनको उमेर’ ।
धेरै स्थानमा समीक्षाकै अगाडि गीतको तारिफ हुन्थ्यो । तर, नजिकै रहेकी समीक्षालाई कसैले चिन्दैनथे । त्यो क्षण सुनाइन्, ‘उनीहरुलाई यो गीत मैले गाएको भन्न पाए पनि हुन्थ्यो नी लाग्थ्यो, तर नचिनेको ब्यक्तिहरुलाई आफूले गाएको भनेर भन्न पनि नमिल्ने !’
समीक्षा कक्षा ९ मा पढ्न काठमाडौं आइन् ।
सीडी विजय अधिकारी ‘दि भ्वाइस अफ नेपाल’को विजेता बनेका थिए । एकदिन, केही सञ्चारकर्मीहरु विजयको अन्तर्वाता लिन पुगेका थिए । नजिकै बसेकी थिइन् समीक्षा ।
त्यतिबेला समीक्षा सोचेकी थिइन् ‘यिनीहरुलाई त्यो गीत मैले गाएको जानकारी होस् । मेरो पनि अन्तर्वाता लिए मलाई पनि धेरैले चिन्ने थिएँ ।’
उनका एकजना दाइले सञ्चारकर्मीलाई भनिदिएछन्, एक युट्युब च्यानलमा समीक्षाको अन्तवार्ता भयो ।
‘त्यो अन्तर्वाता एकदमै भाइरल भयोे । त्यहाँबाट पनि धेरैले मलाई चिन्नुभयो’ समीक्षा सुनाउँछिन् । त्यसपछि समीक्षाको दोस्रो गीत ‘बाबा’सार्वजनिक भयो ।
जब चल्यो ‘माया मारेर’
समीक्षाले फाट्टफुट्ट गीतहरु गाउँदै गइन् । तर, चर्चा केही गीतले मात्र पाए ।
४० वटाजति गीत गाएकी थिइन् । उनलाई लागेछ, ‘अब म संगीतकारहरुसँग चिनिनुपर्छ । अनिमात्र उहाँहरुले मलाई काम दिनुहुन्छ ।’
धेरै संगीतकारलाई फेसबुकमा ‘रिक्वेष्ट’ पठाइन् । जसमध्ये एक थिए, नरेश खाती ।
फेसकुबमा समीक्षा र नरेशको कुराकानी भयो । सँगै गीत गाउने कुरा भयो । त्यतिबेला नेपालमा कोरोनाको त्रास सुरु भैसकेको थियो । लकडाउनको केही समयअघि गीत रेकर्ड भयो, सुटिङ भयो । भिडियोमा नरेश र समीक्षा स्वयं देखिए । केही दिनमा गीत सार्वजनिक भयो । गीतको चर्चा चुलिँदै गयो । युट्युबमा मात्र नभएर टिकटकमा समेत गीत निकै लोकप्रिय बन्यो । हालसम्म यो गीतलाई युट्युबमा १ करोड ५५ लाख बढी पटक हेरिसकिएको छ । त्यसपछि हो, समीक्षालाई गीत अफरको ओइरो लागेको ।
गाउन नपाउँदाको छट्पटी
‘माया मारेर’पछि समीक्षाको ब्यस्तता यति बढ्यो कि दिनमै कुनै रेकर्डिङ त पथ्र्यो नै । सोही ब्यस्तताका बीच उनको घाँटीमा समस्या देखियो । डाक्टरले उनलाई भने, ‘६ महिना गीत नगाउँनू ।’
उनी स्टुडियो होइन, घरमै थन्किनुपर्यो । थुप्रै गीतहरु छोड्नुपर्यो ।
हरेक दिन नयाँ–नयाँ गीत गाएकी समीक्षालाई यो समय कस्तो भए हुँदो हो ? ‘एकदमै छटपटी भो । कति रोएँ’ उनी सुनाउँछिन्, ‘डाक्टरले ६ महिना रेष्टमा बस्न भने पनि आफू जतिसक्दो चाँडो ठिक हुनुपर्छ भनेर एकदमै कियर गरेँ ।’ तीन महिना आरामपछि भने फाट्टफुट्ट गीत गाउन थालेको समीक्षाले बताइन् ।
अहिले पनि डाक्टरले समीक्षालाई धेरै गीत नगाउन भनेका छन् । त्यसैले गीत कम गाएको समीक्षा बताउँछिन् ।
‘अफर आएका सबै गीत गाएँ भने त अहिले पनि दिनमै ५÷७ वटा हुन्थे । तर, हेरेर मात्र गाएकी छु’ उनले सुनाइन् । घाँटीको समस्याका कारण ‘हाई रेन्ज’भन्दा ‘लो रेन्ज’का गीतहरु बढी गाइरहेको बताइन् ।
सानो उमेरमै पाएको लोभलाग्दो चर्चा
कलिलो उमेरमै समीक्षाले पाएको चर्चा साँच्चिकै लोभलाग्दो छ । आधुनिक होस् वा लोकलयको गीत, समीक्षा मज्जाले गाउँछिन् । हाई र लो दुबै रेन्ज उनको राम्रो छ । त्यसैले पनि गीत संगीत बजारमा समीक्षा खोजिएकी छिन् ।
चर्चासँगै बजारमा समीक्षाको तुलना पछिल्लो समयकै केही गायिकाहरुसँग गरिन्छ । तर, आफू कसैको प्रतिस्पर्धी नभएको समीक्षा बताउँछिन् । ‘मलाई कोही प्रतिस्पर्धी लाग्दैनन् । सबैको फरक–फरक प्याट्रन छ । एउटै प्याट्रन भए पो प्रतिस्पर्धा भन्ने हुन्थ्यो, होइन र ?’ उनी प्रतिप्रश्न गर्छिन् ।
पढाइ–संगीत प्रशिक्षण
काठमाडौंमा आफन्तसँग बस्दै आएकी समीक्षा हाल विजय स्मारक स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् । अब उनलाई एसईईको तयारी गर्नुपर्ने छ । सुनाउँछिन्, ‘अब केही समय गीत कम गरेर पढाइमा केन्द्रित हुन्छु ।’
तत्काल पढाइमा बढी समय दिने योजनामा रहेकी समीक्षा त्यसपछि संगीत प्रशिक्षण लिएर अगाडि बढ्ने सोच सुनाउँछिन् ।
‘दर्शक–स्रोताले शुरुदेखि नै माया गरिदिनुभयो । अब गायनमा कसरी राम्रो गर्ने सोँच्दै छु’ उनी भन्छिन्,–‘तत्काल पढाईमा बढी केन्द्रित हुनुपर्ने भए पनि त्यसपछि संगीतको शिक्षा लिएर अगाडि बढ्नेछु ।’
कुराकानीको अन्त्यमा समीक्षालाई सोधियो, ‘दिन रात रेकर्डिङमा समय दिनुपर्ने, सञ्चारमाध्यममा कुराकानीका लागि तयार हुनुपर्ने, फ्यानहरुसँग तस्वीर खिचाउनुपर्ने । चिटिक्क भएर हिँडनुपर्ने । साँच्चिकै ‘सेलेब्रेटी लाइफ’ कस्तो हुँदो रहेछ ?’
केही सेकेन्ड सोचिन् र बोलिन् ‘रुचिको क्षेत्र नै यही हो । पहिले धेरै कुरा थाहा थिएन । अहिले धेरै कुराहरु सिक्दै अगाडि बढिरहेकी छु । पहिलेभन्दा आफूमा केही परिवर्तन पनि ल्याएकी छु । धेरैले माया गर्नुभएको छ । भेट हुँदा फोटो खिचौँ भन्नुहुन्छ । कोहीले मेरो बाबु नानी तिम्रो ठूलो फ्यान हुन् भन्नुहुन्छ । खुःसी अनि रमाइलो लागिरहेको छ ।’
source https://www.onlinekhabar.com/2021/01/927372
0 comments:
Post a Comment