चन्द्रजीसँगका पछिल्ला केही दिन
डा. चन्द्रकुमार लक्सम्बा अर्थात् चन्द्रजीसँग दिनहुँजस्तो कुरा भइरहेको थियो । कहिले सेन्टर फर नेपाल स्टडिज युके (सीएनएस युके) को बारेमा, कहिले नेपाल ओपन युनिभर्सिटीको बारेमा, कहिले नेपालको राजनीतिको बारेमा त कहिले परिवार छोराछोरीको बारेमा ।
सन् २०१८ देखि नै उहाँले नेपाल ओपन युनिभर्सिटीको प्राध्यापकको हैसियतमा अनलाइनमा पढाउन थाल्नु भएको थियो । नेपालप्रति अनि प्राध्यापन पेसामा उहाँको मोह बढ्दै गएको थियो । अन्ततः उहाँले अबको बाँकी समय देशकै सेवा गर्छु भन्ने अठोटका साथ, बेलायतमा एउटा गतिलो जागिर, सम्पत्ति, वैभव, परिवार छाडेर स्थायी रूपमा नै नेपाल जाने निधो गर्नुभयो । यो जीवनकै ठूलो निर्णय थियो । सन २०१९ को अन्ततिर श्रीमती र कान्छो छोरासहित उहाँ नेपाल फर्कनु भयो । नेपाल ओपन युनिभर्सिटीमा प्राध्यापनलाई पूर्णकालीनरूपमा निरन्तरता दिँदै ललितपुरमा स्थायी बसोबासको व्यवस्था मिलाउनु भयो ।
गत वर्ष (मार्च २०२०मा) नेपालमा लकडाउन सुरु हुनु अगाडि ठूलो छोरा-बुहारी नाति नातिना भेट्न उहाँ श्रीमतीसहित बेलायत आउनु भएको थियो । म नेपाल जान र उहाँ बेलायत आउने एउटै समय पर्यो । म नेपाल अड्किएँ, उहाँ बेलायतमा । कहिले नेपालमा बन्दाबन्दी कहिले बेलायतमा । यो शृखंलाले उहाँको नेपाल जाने टिकट पटकपटक सार्नु परेको थियो । अन्ततः जनवरी ५ मा नेपाल जाने तयारी थियो । तर दुर्भाग्य, यसैबीच बेलायतमा कोभिडको नयाँ प्रजाति देखिएपछि नेपाल सरकारले बेलायतबाट हुने आवतजावतमा बन्देज लगायो । उहाँ फेरि बेलायतमै अड्किनु पर्यो । अनि फेब्रुअरीमा नेपाल जाने गरी टिकट सारेर अनलाइनमै अध्यापनलाई निरन्तरता दिँदै जानु भयो ।
जनवरी २ मा चन्द्रजीले एक्कासी फोनमा “भोलि मेरा दुईजना एमफिल विद्यार्थीको प्रपोजल डिफेन्स् गर्नुपर्यो, तपाईं एक्स्ट्रनल एक्जामिनर बन्दिनुस् न । तपाईं अक्स्फोर्डको मान्छे हामीलाई एउटा सिस्टम पनि बन्छ” भनेर अनुरोध गर्नुभयो । मैले एउटा किताबको प्रुफ पढेर बुझाउने डेडलाइनमा थिएँ । चन्द्रजीलाई मैले नाइँ भन्न नसक्ने, चन्द्रजीले मलाई कन्भिस् गर्न खप्पिस । अन्तत: एकदिनको सट्टा दुई दिन लगाएर जनवरी ३ र ४ मा काम सम्पन्न गरियो । उहाँ असाध्यै खुशी हुँदै भन्नु भयो, “विद्यार्थीहरू उत्साहित छन् । डीन सर (प्रा. रामचन्द्र पौडेल) ले पनि अब तपाईंले गरेको परीक्षण प्रक्रियालाई ‘बेन्चमार्क’ बनाउने भन्नु भएको छ । ”
चन्द्रजीले ओपन युनिभर्सिटीको समाजशास्त्रको कोर्ष संयोजन गरिरहनु भएको थियो । जहाँ बसेर पनि ओपन युनिभर्सिटीका विद्यार्थीले अनलाइन पढ्न सक्छन् । बन्दाबन्दीको समयमा सम्पूर्ण शैक्षिक जगतका लागि यो विधि महत्वपूर्ण औजार सावित भएको छ । चन्द्रजी सधैं अत्यन्त व्यस्त देखेपछि मैले “तपाईं दुईवटा पेन्सन पाकेर पनि किन आफैंलाई यति धेरै दु:ख दिएको” भनेको थिएँ । उहाँले, “हो [जन्म] गाउँमा गएर बस्छु” भनेर जवाफ दिनु भएको थियो ।
८ जनवरीका दिने सीएनएस युकेको जुममार्फत बैठक बसेको थियो । इङ्गलेन्ड र वेल्समा २१ मार्चमा हुन लागेको जनगणनामा सीएनएस युकेले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गर्न र सोसहित अन्य अध्ययन अनुसन्धानका लागि केन्द्रको प्रतिनिधित्व गर्ने गरी नरेश खपाङ्गीलाई रिसर्च एसोसिएटमा नियुक्ति गर्न उक्त बैठक बोलाइएको थियो । २०११ को युके जनगणनामा चन्द्रजी र मैले विशेष भूमिका खेलेका थियौं । यो पटक अध्यापनमा व्यस्त र नेपालतिर केन्द्रित भएकोले “म सुन्छु मात्र र समर्थन गर्छु, बोल्दिनँ” भन्नु भएको थियो । बैठकमा उहाँले गोर्खा पेन्सनसम्बन्धी पुस्तक बिक्रीवितरण गरेबापत पाउनुपर्ने ४,००० पाउन्डमध्ये ५०० पाउन्ड मात्र दिएको र बाँकी रकम उठ्न ढिला भएको बताउनु भएको थियो । उहाँको सहलेखनमा प्रकाशित सो पुस्तक बिक्रीबाट उठेको रकमले सिएनएस युकेले नेपालमा संचालन गर्दै आएको मोतिलाल सिंह मास्टर्स शोधपत्र पुरस्कारका लागि अक्षयकोष संचालन गर्ने योजना थियो/ छ ।
चन्द्रजीको नेपाल जाने कार्यक्रम सरेको र म पनि तत्काल नेपाल जाने कार्यक्रम नभएकोले केही वर्ष अगाडि उहाँकै अग्रसरतामा थालिएको ‘जर्नल अभ् ग्लोबल नेपाली डायस्पोरा’ को प्रकाशनलाई पूर्णता दिउँ न त भन्ने सल्लाह भएको थियो । त्यसमा उहाँ एकदम उत्साहित हुनु भएको थियो । त्यसका लागि गत साल हामीले संयुक्तरूपमा साफा (सोल्जर, सेलर्स एण्ड एयरम्यान्स फ्यामिली एसोसिएसन)का लागि गरेको गोर्खा बुढाबुढीसम्बन्धी अनुसन्धानको प्रतिवेदनबाट उहाँले एउटा लेख मस्यौदा गर्ने र मैले पूर्णता दिने सल्लाहबमोजिम उहाँले काम थाल्नु भएको थियो । त्यसअनुसार समीक्षा गर्न १८ जनवरीमा जुम बैठकको आयोजना गर्ने तय भएको थियो ।
१७ जनवरीका बिहान चन्द्रजीले वाट्सएपमा एउटा मेसेज लेख्नु पठाउनु भयो: “शुभप्रभात कृष्णजी । माफ गर्नुहोला, तपाईंको फोन उठाउन सकिनँ । यो हप्ताको कार्यक्रममा समावेश हुन नसक्ने भएँ । लोकेन्द्र ढकालजी र सिएनएस-युकेका साथीहरूलाई पनि खबर पुर्याइदिनु होला । तपाईंको सूचनाका लागि म फ्रिम्ली पार्क अस्पतालमा छु । मलाई निको भइरहेको छ । शुभेक्षा, चन्द्र ।”
अघिल्लो दिन चन्द्रजीसँग कुरा गर्दा घरमै हुनुहुन्थ्यो । सबै परिवारलाई कोभिड लागेको रहेछ । उहाँले खोकी रहनुभएको थियो । “अरू त ठीकै छ, तर तागत हराउने रहेछ । चर्पी जाँदा पनि एकपटक बिसाउनु पर्छ”, भन्दै गर्दा उहाँ थकित गलित देखिनु हुन्थ्यो ।
गत वर्ष अप्रिलतिर म नेपालमा थिएँ, उहाँ बेलायत । उहाँले कोभिडले बेलायतमा नेपाली समुदायलाई त्यति असर गर्न नसक्ने विश्वास व्यक्त गर्नु भएको थियो । बेलायतमा नेपालीहरूलाई कोभिड लागेको र मरेका खबरहरू आइरहेका थिए । हामीले मोटामोटी तथ्यांक विश्लेषण गर्यौं । नेपालीहरूको मृत्युदर सरदरमा बेलायत मूल तथ्यांक दरसँग मिल्दोजुल्दो भएको निष्कर्ष निकालियो । केही हप्ता अगाडि पनि हामीले नेपालमा कोभिड्को अवस्थाको बारेमा समीक्षा गरेका थियौं । नेपालीहरूको रोग निरोधक शारीरिक विशेषताको बारेमा उहाँले तर्क गर्नु भएको थियो ।
२० जनवरी दिन फ्रिम्ली पार्क अस्पतालको शैय्याबाट चन्द्रजीले वाट्सएपमा भिडियो कल गर्नु भयो । मैले भनेँ, “अँ बल त धेरै चाहिँदो रहेछ, बल छैन भने यसले त खत्रक्क पार्ने रहेछ । अक्सिजन नलगाइकन कोसिस गरेको काम गरेन । अरू त सबै राम्रो भैरहेको छ । अब शनिबारतिर घर जान्छु होला ।” अर्को एकपटकको सम्वादमा उहाँले आफ्ना विद्यार्थीहरूले मेरो कमेन्ट पठाइदिन भनेका छन् भनेर खबर दिनु भएको थियो ।
त्यसपछि उहाँको परिवारसँग मेरो निरन्तर कुरा भइरह्यो । २५ जनवरीमा अचानक भाउजुले रुँदै “सर उहाँलाई मेजर स्ट्रोक भएछ” भन्दै गर्दा उहाँले वाक्य पुर्याउन सक्नु भएन, म पनि धरमराएँ । बुहारीलाई फोन दिनुभयो । चन्द्रजीलाई मस्तिष्क घात भएर भेन्टिलेटरमा राखिएको रहेछ । अधिक रक्तश्राव भएकोले अपरेसन गर्न मिल्ने/नमिल्ने निधो गर्न लन्डनको एक विशेषज्ञ अस्पतालमा टाउकोको स्क्यान गरी पठाइएको रहेछ । २६ जनवरी विहान अप्रेसन गर्न नमिल्ने खबर आयो । दिउँसो सवा दुई बजेतिर अस्पतालबाट खबर आएछ, “अब उहाँलाई बचाउन सकिँदैन, भेन्टिलेटर बन्द गर्न परिवार आउनु पर्यो” । परिवारले उहाँलाई यही अन्तिम घडीमा मात्र देख्न पाए । यही १०-१२ दिनको नाटक मन्चनजस्तो भयो, चन्द्रजीले यो धर्तीलाई छाडेर सदाका लागि जानु भयो ।
बहुआयमिक व्यक्तित्व
ताप्लेजुङ् जिल्लामा एक लाहुरे परिवारमा जन्मिनु भएको चन्द्रजीको सानैदेखि वामपन्थी झुकाव थियो । वि.सं. २०३५-३६ सालको विद्यार्थी आन्दोलनताका उहाँ अस्कलमा पढ्नु हुन्थ्यो, त्यहीँबाट विद्यार्थी राजनीति गर्नु हुन्थ्यो । अनेरास्ववियु पाँचौंको स्थापनामा उहाँको पनि योगदान रहेको छ । प्राय नेविसंघले जितिरहने अस्कल क्याम्पसमा उहाँले २०३६ सालमा निर्वाचित भएर अखिलको तर्फबाट पहिलो सभापति हुनु भएको थियो । उहाँका कतिपय समकालीन साथीहरू नेपाली राजनीतिको राजपाट सम्हालिरहेका छन् । तर उहाँको बाटो अन्तै मोडियो ।
फेरि पनि उहाँलाई लाहुरे विरासतले पछ्यायो; उहाँको पारिवारिक साँस्कृतिक पुँजीले उहाँलाई गोर्खा भर्तितर्फ डोहोर्यायो । पढे लेखेको, उमेर पुगेका उहाँ सन् १९८४ मा ब्रिटिश गोर्खा कलर्कमा भर्ति हुनु भयो । उहाँसँगै फौजमा काम गरेका गोर्खा अफिसर मेजर सूर्य उपाध्याय सम्झनु हुन्छ, “उहाँमा भविष्यको नेतृत्व लिने (अफिसर हुने) प्रचुर सम्भावना देखेर कलर्कबाट इन्फ्यान्ट्रीको रूपमा ७ जीआरमा सारिएको थियो” ।
चन्द्रजीको रूचि सैन्य क्षेत्रमा भन्दा पनि प्राज्ञिक क्षेत्रमा बढ्दै गयो । उहाँले सेवारत छँदै बेलायतको युनिभर्सिटी अफ लण्डनबाट अण्डर ग्राजुयट र पोस्ट ग्राजुयट सर्टिफिकेट गरिसक्नु भएको थियो । पछि सेवामा छँदै उहाँ बेलायतको सरे विश्वविद्यालयमा निरन्तर शिक्षा विषयका विश्वविख्यात विद्वान प्रा. पिटर जाभिसको सुपरिवेक्षणमा विद्यावारिधिका लागि भर्ना हुनु भयो । सन् २००२ मा सेवानिवृत्त भएर उहाँले सन् २००५ मा ‘नेपालमा जीवन पर्यन्त सिकाइ विषय’मा विद्यावारिधि हासिल गर्नु भयो ।
पुरानो राजनीतिक विरासत, आकर्षक व्यक्तित्व, सशक्त तर्क शक्ति र मीठो बोलीका धनी उहाँ गोर्खा न्यायको आन्दोलनमा पटक-पटक जोडिनु भयो । सन् २००० पछि ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बीजीडब्लुएस)को सङ्गठन निर्माणमा लागेर गोर्खा आवासीय अधिकारको लडाइँमा योगदान गर्नु भयो । त्यतिबेला बेलायतमा बढ्दो नेपाली जनसंख्यालाई मध्यनजर गर्दै नेपाली जनगणना गर्ने र नेपालीको पहिचान स्थापित गर्ने हेतुले भर्खरै बेलायती विश्वविद्यालयबाट पिएचडी गरेका डा. गोबिन्द दाहाल, डा. कृष्ण अधिकारी, नेपालबाट उच्च दक्ष जनशक्ति स्किम अन्तर्गत आएका लोकेन्द्रपुरुष ढकाल, आनन्द भण्डारी र श्री बरालसँग मिलेर उहाँले २००७ मा थिंक ट्यांकको रूपमा सीएनएस युके स्थापना गर्नु भयो ।
सँगसँगै उहाँ गैरआवासीय नेपाली संघ बेलायतको प्रथम निर्वाचित उपाध्यक्ष भएर एक पदावधि सेवा पनि गर्नु भयो । बेलायतमा नेपालीसम्बन्धी ज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले स्थापित सीएनएस युके संस्थामा विभिन्न अनुसन्धान तथा अभियानहरूमा नेतृत्वदायी भूमिका खेलेर उहाँले नेपाली समुदायमा ठूलो योगदान पुर्याउनु भएको छ । २००९-१० मा सीएनएस युकेको संयोजक रूपमा र २०१२-१४ मा कार्यकारी निर्देशकको रूपमा उहाँले नेतृत्व सम्हाल्नु भएको थियो । नेपाली जनगणना २००८ लगायत २००९-१२ मा संचालित नेपाली डायस्पोराका धर्म संस्कारसम्बन्धी अध्ययन (अक्सफोर्ड विश्वविद्यालय), गोर्खा पेन्सन नीति र अभियान विश्लेषण (२०१२-१४), सोसल मोबिलिटी प्रोजेक्ट (२०१५-१७), साफा गोर्खा सहयोग कार्यक्रम मूल्यांकन (२०१९-२०) मा उहाँको विशेष योगदान रहेको छ ।
सन् २०१४ देखि १८ को बिचमा उहाँले क्याम्ब्रिज विश्वविद्यालयबाट सन्चालन हुने अन्तर्राष्ट्रिय परीक्षामा नेपाल अध्ययन सम्बन्धी एक परीक्षकको रूपमा काम गर्नु भएको थियो । जागिरकै सिलसिलामा सन् २००५ देखि २०१९ सम्म उहाँले सिटी एण्ड गिल्डसको व्यावसायिक मान्यता प्रमाणपत्र (तह ४-८) का लागि सहजकर्ता, शिक्षक र परीक्षकको काम गर्नु भएको थियो । नेपाल ओपन युनिभर्सिटीमा पूर्णकालीन भएपछि उहाँले यी कामहरू छाड्नु भयो । निरन्तर सिकाइ विषयमा बेलायतमा आर्जन गरेको सीप र विज्ञताको हिसाबले नेपालमा पनि मानिसहरूको व्यवहारिक सीपलाई औपचारिक योग्यताको रूपमा प्रामाणीकरण गर्नु पर्ने उहाँको धारणा थियो र आफूले यस दिशामा योगदान गर्न चाहनु भएको थियो । उहाँको प्राज्ञिक क्षमताको कदर गर्दै नेपाल सरकारले हालै मात्र उहाँलाई लुम्बिनी विश्वविद्यालय सिनेटको सदस्यमा मनोनयन गरेको थियो ।
चन्द्रजीले आफ्नो विश्वविद्यालय र विद्यार्थीको हितका लागि आफ्नो सञ्जालमा रहेका विभिन्न देशका विशेषत: बेलायतका नाम चलेका संस्थामा काम गर्ने नेपालसम्बद्ध बौद्धिक मित्रहरूलाई परिचालन गर्ने कोसिस गर्नु भएको थियो । म लगायत कयौं उहाँका मित्रहरूले उक्त विश्वविद्यालयमा गेस्ट लेक्चर दिएका छौं । उहाँका विद्यार्थीहरू नेपालका विभिन्न भागमा छरिएका छन् । उहाँकै नाताले मैले सुर्खेत र धनगढी जाँदा उहाँका विद्यार्थीहरूलाई सामूहिक रूपमा भेटेर अन्तरक्रिया गरेको छु । विश्वविद्यालयमा सामजशास्त्र विषयको कोर्स कोर्डिनेटर चन्द्रजीले अक्स्फोर्डका प्रा. डेविड गेल्नरलाई पनि मानवशास्त्रको कोर्स निर्माणमा सल्लाहकारको भूमिकामा परिचालन गर्नु भएको थियो । अब नेपाली तथा हिमालयन अध्ययन विषयका प्राध्यापक माइकल हटलाई एमफिलको एउटा कक्षा लिन अनुरोध गरेको छु भन्नु भएको थियो । त्यसो हुन् नपाउँदै चन्द्रजीको देहावसान भयो ।
चन्द्रजीलाई सम्झँदा गोर्खा न्यायको क्षेत्रमा उहाँले पुर्याएको विशेष योगदान कदापी बिर्सिन सकिँदैन । उहाँले गोर्खा आन्दोलनमा लागेका प्राय सबै संस्थाहरूलाई स्थापनादेखि कुनै काल खण्डमा कुनै न कुनै रूपमा सल्लाह सुझाव दिनु र सहयोग गर्नु भएको छ । बीजीडब्लुएसपछि उहाँले यूबीजीएन, बीगेसो, गोर्खा सत्याग्रह हुँदै हाल उहाँ गेसोमा सल्लाहकारको रूपमा आवद्ध हुनुहुथ्यो । विद्यार्थीकालदेखिको उहाँको जुझारू स्वभाव बेलायती सरकारले गोर्खाप्रति गरेको अन्यायको विरुद्धमा पनि टड्कारो देखिन्थ्यो । उहाँ विभिन्न अभियानमा त मिसिनु भयो नै, लेखनको क्षेत्रमा लागेर यो आन्दोलनलाई अझ सशक्त बनाउन लागि पर्नु भयो ।
‘बेलायतमा नेपाली’ पुस्तक (२०१२) लेखनको क्रममा मैले उहाँलाई गोर्खाको विषयमा छुट्टै अध्याय लेख्न अनुरोध गरेको थिएँ । सो पुस्तकका लागि उहाँले ‘युद्धको मैदानदेखि नागरिक आन्दोलनसम्म’ शीर्षकमा लेख तयार पार्नु भयो । सिएनएस युकेले गोर्खाका विषयमा विशेष योगदान गर्नु पर्छ भन्ने लक्ष्य राखेर उहाँ ‘भूपू लाहुरे’ भएको नाताले पनि यो विषयमा नेतृत्व लिन अनुरोध गरियो । खासमा गोर्खाहरूलाई पेन्सनको सबालमा कस्तो अन्याय भएको छ चिरफार गरौं भनेर २०१२-१४ मा एक अध्ययन गरियो । गोर्खा पेन्सन नीति पुस्तक तयार भयो, जसलाई बेलायतको गोर्खा समस्या सुनुवाई संसदीय समितिको पहिलो सेसनमा प्रस्तुत गरियो । बीजीडब्लुएसको मुद्धामा युरोपेली अदालतमा पनि प्रमाणको रूपमा प्रस्तुत गरियो र अहिले दशौँ हजार पटक यो दस्ताबेजलाई एकेडिमिया इडियु र रिसर्च गेटमा हेरिएको छ । गोर्खा विशेषांक ‘न्युजलेटर’ प्रकाशनदेखि निवृत्तिभरण नीति पुस्तकको नेपाली अनुवादसम्मका काममा उहाँको सक्रिय संलग्नता रह्यो । उहाँले २०१७ मा गठित बेलायत सरकार, नेपाल सरकार र गोर्खा सम्मिलित त्रिपक्षीय प्राविधिक समितिमा विज्ञको रूपमा रहेर योगदान गर्नु भएको थियो । यो समितिले गोर्खा न्यायका लागि १३ बुँदे सिफारिस गरेको छ, जसको कार्यन्वयन हुन बाँकी छ ।
बहुआयामिक व्यक्तित्वका धनी चन्द्रजीको मिडियाको क्षेत्रमा पनि विशेष योगदान छ । बेलायतमा लामो समयसम्म प्रभावशाली मानिएको युरोपको नेपाली पत्रको उहाँ संस्थापक प्रधान सम्पादक हुनु हुन्थ्यो । उहाँले केही समय गोर्खा आवाज र गोर्खा भ्वाइस् (अंग्रेजी) पत्रिका पनि निकाल्नु भएको थियो । लिम्बु इतिहास र संस्कृतिको संरक्षण, प्रवर्धनमा पनि उहाँको रूची थियो । दुई कार्यकाल त उहाँ ताप्लेजुङ समाज बेलायतको अध्यक्ष भैसक्नु भएको थियो । किरात याक्थुङ चुम्लुङका संस्थापक सल्लाहकार उहाँको लिम्बूहरूको उत्पत्तिका बारेमा एउटा लामो लेख लेख्दा मैले टिप्पणी र सम्पादन गर्ने मौका पाएको थिएँ । उहाँसँगको सङ्गतले किराँत र लिम्बूसंस्कृतिबारे धेरै कुरा सिक्न पाइएको थियो ।
काम गर्ने क्रममा मतान्तर हुँदा उहाँले आफ्नो तर्क र विचारलाई सशक्त लागु गर्न खोज्नु हुन्थ्यो । कुनै कुरामा शंकाको भरमा दोषारोपण गर्नेहरूप्रति हैरान हुँदै ‘म पनि लाहुरे हुँ’ भनेर प्रतिकार गर्ने रणनीतिलाई पनि अघि सार्न पछि पर्नु हुन्थेन । कुनै गल्ति भएमा पछि महशुस गर्ने बानीले गर्दा मतान्तर र कटाक्ष भएका मानिससँग पनि मिल्ने खुबी थियो उहाँको । वामपन्थी विचारमा जुझारू उहाँमा राजनीतिकरूपमा सहिष्णुता थियो । धार्मिकरूपमा आफूलाई हिन्दु, बौद्ध र किंरात मान्ने उहाँले जातीय अतिवाद र घृणालाई भने मन पराउनु हुन्थेन । मौका पाए सबै नेपालीले उत्तिकै प्रगति गर्न सक्छन् भन्ने उहाँको सोच थियो र बेलायतमा नेपाली छोराछोरीले गरेको प्रगति देखेर उहाँ खुशी हुनु हुन्थ्यो । सबै समुदायमा लोकप्रिय उहाँ बेलायतमा सबै थरी नेपालीलाई जोड्न सक्ने एउटा बलियो सेतु हुनु हुन्थ्यो, अनि भरोसाका केन्द्र । यसर्थ उहाँको देहावसानले समाजलाई पनि ठूलो र अपूरणीय क्षति पुर्याएको छ । नेपालको राजनीतिमा एक सशक्त नेता हुने क्षमता र पृष्ठभूमि भएका उहाँ पछिल्ला राजनीति घटनाले चिन्तित हुनु भएको थियो । तैपनि उहाँले आफूलाई सक्रिय राजनीतिबाट टाढा राखेर विशुद्ध प्राज्ञिक कर्ममा जुट्नु भएको थियो ।
उहाँले आफ्नो पछाडि एक सुशिक्षित परिवार छाडेर जानु भएको छ । उहाँकी श्रीमती (कल्पना भाउजू) पूर्वी नेपालको वामपन्थी राजनीतिमा लागेको परिवारबाट आउनु भएको हो (उहाँको पिता स्वर्गीय अम्बिका साँवा सांसद र मन्त्री हुनु हुन्थ्यो) । चन्द्रजीसँगै नेपाल जाने क्रममा उहाँले पनि आफ्नो नोकरीमा राजीनामा दिनु भएको थियो । जेठो छोरा (बसन्त) हेम्पसायर पुलिस फोर्समा अफिसर छन्, बुहारी (योजना) चार्टर्ड एकाउन्टेन्ट र कान्छो छोरा (बहार) काठमाडौं लिंकन स्कुलमा शिक्षक । चन्द्रजीका एक नाति (ग्रीष्म) र एक नातिनी (अमया) रहेका छन् ।
मलाई याद छ, बेलायत-नेपाल प्रज्ञा परिषदको दर्हम्मा भएको नेपाल अध्ययन दिवसबाट फर्किंदा हामीले गाडीमा बच्चु कैलाशको ‘कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन’ भन्ने गीत लगाएर अनि गाएर बाटोभरि उहाँलाई हौस्याएका थियौं । हामीले यो गीत तपाईं र कल्पना भाउजूको प्रेमलाई देखेर कथिएकोजस्तो लाग्छ भनेर जिस्काएका थियौं । उहाँ खुशी हुनु भएको थियो । अहिले त्यही गीतको याद भैरहेछ । शब्दको हरेक अर्थमा जुझारू मित्र, अथक योद्धा, चन्द्रजी मुस्कुराई रहनू । हार्दिक श्रद्धाञ्जली ।
२६/०१/२०२१
रेडिङ, यु.के.
source https://www.onlinekhabar.com/2021/01/927068
0 comments:
Post a Comment