१४ जेठ, काठमाडौं । चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए ।
दाङका एकजना संक्रमितको उपचारको क्रममा बिहीबार राति मृत्युपछि उनको आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए । कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रामण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।
चिकित्सकहरुको प्रदर्शनका कारण अस्पतालमा कोभिडका नयाँ बिरामीहरु भर्ना हुन सकेका छैनन् । अस्पतालमा उपचाररत बिरामीलाई भने सीमित चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालका कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदीले बताए ।
बिरामीलाई बचाउने चिकित्सकहरुको मुख्य दायित्व भएको भन्दै उनले दोषीलाई तत्काल कारबाही नभएसम्म नयाँ बिरामी भर्नामा भने अवरोध गर्ने बताए । सूरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म स्वास्थ्यकर्मीहरु काममा नफर्कने उनले बताए ।
source https://www.onlinekhabar.com/2021/05/960883
0 comments:
Post a Comment