१३ असार, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र निको भएर घर फर्कनेको संख्या १२४ पुगेको छ ।
कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पीसीआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कूल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत) निको भएर घर फर्केको निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
“पछिल्लोे दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ । अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ”, निर्देशक डा खड्काले भने, “नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।”
आइसोलेसनमा बस्ने दुई हजार सङ्क्रमितको सङ्ख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाको कोरोनाले मृत्यु भएको छ ।
कोरोनाले सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।
source https://www.onlinekhabar.com/2021/06/974817
0 comments:
Post a Comment