Wednesday, 3 November 2021

माधव नेपालले भने– ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा’

१८ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने चेतावनी दिएका छन् । आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको पनि उनले बताए ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले हिन्दी लवजमा भने, ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा ।’ (जो हामीसँग ठोक्किन्छ, टुक्रा–टुक्रा हुनेछ)

विभिन्न प्रदेश सरकारमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको चर्चा गर्दै नेपालले कर्णाली प्रदेशमा नेकपा एमालेको हालत उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको बताउँदै उनले भने, ‘कर्णाली प्रदेशमा हामीले टक्कर दिएर अर्को पार्टी उठ्नै नसक्ने गरी एमालेको हालत खतम छ ।’

एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले भने, ‘त्यसो हुनाले हामी भन्छौं हामीसँग टक्कर लिने कुरा सोच्यो भने तराईतिर भनिन्छ– जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’

आगामी निर्वाचनबारे विभिन्न ठाउँको आकलन गरिरहेको बताउँदै नेपालले भने, ‘आगामी चुनावमा एकीकृत समाजवादी पार्टीको विजय अभियान अघि बढ्ने छ । हामी जित्ने छौं । हामीसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

‘गठबन्धनलाई कसैले भत्काउन सक्दैन, छिटै चुनाव हुनेवाला छैन’

पूर्वप्रधानमन्त्री नेपालले संघीय संसदको चुनाव समयमै हुने र पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्नेसमेत बताए । ‘पाँच दलको एकता बलियो हुनेछ, यो गठबन्धनलाई कसैले भत्काउन सक्दैन,’ नेपालले भने, ‘छिटै चुनाव हुन्छ कि भनेर भ्रम नपाले हुन्छ । छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव समयमै हुनेछ ।’

उनले भ्रष्टाचार मुक्त भएको, सुशासनको मान्यतामा अगाडि बढेको, जनसेवाको मन्त्र बोकेको र समाजलाई परिवर्तनको दिशामा डोर्याउने सोचका साथ अगाडि बढ्न नेताहरुलाई निर्देशन दिए । आफूहरुले त्यही अनुसार मन्त्रीहरुलाई अगाडि बढाएका बताउँदै उनले भने, ‘राम्रो गर्नुहुन्छ भने बस्न सक्नुहुन्छ, राम्रो गर्नु भएन भने तपाईंहरुलाई कारबाही हुने छ, हटाइने छ ।’



source https://www.onlinekhabar.com/2021/11/1034472

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More