यो शिर्षक देखेर कतिपयलाई झोंक चल्न सक्छ । कोरोना भाइरसको कारण विश्वभर थुप्रैले वियोग, कष्ट, त्रास, असुविधा भोगिरहेका छन् । अहिलेसम्म दुई लाख बढीले ज्यान गुमाएका छन्, जसभित्र प्रवासी नेपाली पनि सामेल छन् ।
कोरोना वैश्विक महामारीको रुपमा देखापरेको कारण यसप्रति विश्वकै ध्यान र चासो बढेको हो । यद्यपि अन्य रोगबाट दिनहुँ मर्नेहरुको संख्या आकडा निकाल्ने हो भने यो भन्दा कति गुणा बढी हुन्छ । अरुको के कुरा गर्नु, सामान्य झाडापखलाबाट हाम्रै मुलुकमा कतिपयले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको संक्रमण जुन रुपमा फैलियो, त्यो आफैमा दुःखदायी कुरा हो । तर, कोरोना भाइरसको कारण थुप्रै कुरा राम्रो पनि भएको छ । वर्तमान युगका लागि कोरोना त संक्रमित रोग मात्र नभएर एक सन्देश वहाक वा शिक्षक जस्तो पनि पो भइदियो । जस्तो कि यसले शारीरिक सरसफाईको पाठ सिकाउनेदेखि प्रकृतिप्रति मानव हस्तक्षेप कुन रुपमा बढिरहेको थियो भन्ने सन्देश समेत दिन भ्यायो ।
अतः यहाँ कोरोना भाइरसले गर्दा भएका सकारात्मक पाटो खोतलिएको छ ।
शारीरिक सरसफाईको पाठ
आमाबुवाले भने, ‘सफा सुग्घर हुनुपर्छ ।’ विद्यालयमा सिकाइयो, ‘यसरी हात धुनुपर्छ, यसरी सरसफाई गर्नुपर्छ ।’ त्यतीले मात्र कहाँ पुग्नु, सरकारी, गैर–सरकारी संघ–संस्था घरदैलोमा, टोलमा आएर भन्यो, ‘शारीरिक स्वास्थ्यका लागि यसरी सरसफाई गर्नुपर्छ ।’ हामीले टेरे पो ?
कोरोनाले भने एकै झड्कामा विश्वका मानव–जातिलाई सरसफाईप्रति जागरुक गराइदियो । सर्तक गराइदियो । भिडभाडमा हिँड्दा मास्क लगाउनुपर्छ । घरमा प्रवेश गर्नुअघि साबुन पानीले राम्ररी हात धुनुपर्छ । एउटा टोल वा गाउँ मात्र होइन, मुलुक मात्र होइन, विश्वलाई नै सरसफाईप्रति जागरुक गराइदियो कोरोनाले । संभवत कोरोना भाइरसको संक्रमण नफैलिएको भए सरसफाईप्रतिको यस्तो सचेतना फैलाउन सरकारी÷गैरसरकारी निकायले अर्बौं अर्ब खर्च गरेर पनि यति सिघ्र नतिजा आउने थिएन होला ।
पारिवारिक मेलमिलाप
‘बावु मादले आमा मारुनी, छोराछोरी भल्ट्याङभुल्टुङ देन लात्ताले’ पूर्वेली समाजको ठेट टुक्का हो यो । यसले पारिवारिक मेलमिलाप नहुँदाको अवस्था चित्रण गर्छ । पछिल्लो समय हरेक घर–परिवारको अवस्था यस्तै थियो । बिहान बालबच्चा विद्यालयमा, आमाबुवा आ–आफ्नै काम धन्दामा । घरमा बस्ने त उही, पाको बुवाआमा ।
मान्छेले आफुलाई कतिसम्म यान्त्रिक बनाइरहेका थिए भने आफ्नै बालबच्चासँग खेल्न उनीहरुलाई समय थिएन, आफ्नै बुवाआमासँग भलाकुसारी गर्ने फुर्सद थिएन । आफ्नै भान्साको खाना खाने मेसो समेत उनीहरुलाई मिल्दैनथ्यो । बालबच्चा एकातिर, आमाबुवा एकातिर । यसले पारिवारिक मूल्यलाई खुम्च्याउँदै लगेको थियो । कोरोना भाइरसको संक्रमण फैलिएपछि भने सबैजना एकमुठ घरभित्र बसे । पारिवारिक वातावरणमा रमाए । भलाकुसारी गरे । एकअर्काको कुरा सुने ।
कोरोना संक्रमण नफैलिएको भए पारिवारिक मिलापको यो मेलोमेसो कहिले मिल्ने थियो होला र ?
जंकफूड र मदिरापान खपत कम
सामान्य अनुमान गर्न सकिन्छ, लकडाउनका क्रममा धेरैले मदिरापान गर्ने अनुकुलता पाएनन् । बजार नै ठप्प भएपछि मदिरा कहाँबाट ल्याउने ? त्यसमाथि बालबच्चा र आमाबुवासँग बसेको बखत मत्ने अनुकुलता पनि भएन । संभवत धेरैले मदिरा नखाएपछिको स्वास्थ्य लाभ अनुभव गरे होलान् । अर्कोतिर बालबच्चाले पनि जंकफुड माग्ने, खाने मौका पाएनन् । घर बाहिर निस्कने स्थिती नभएको भन्दै आमाबुवाले जंकफुड किन्न जानु पनि परेन ।
श्रीमानलाई भान्साको काम
हामीकहाँ आमा, श्रीमती, बुहारी, भाउजु वा छोरीले भात भान्सको काम सम्हाल्ने गर्छन् । त्यसैगरी बगैंचाको गोडमेल, फूल रोप्ने, सरसफाई गर्ने, लुगा धुने इत्यादि काम महिलाको पेवा जस्तै हुन्छ । लकडाउनको कारण सबैजना घरमै बस्नु परेपछि भने कामको यो स्वरुपमा परिवर्तन आएको हुनुपर्छ । श्रीमन, छोरा, देवर, दाजु भाई आदिले भात पकाउन सिके होलान् । कुचो लगाउने, बगैंचा बनाउने काम गरे होलान् । करेसाबारी वा छतमा सागसब्जी रोप्ने जाँगर पनि चल्यो होला ।
कोरोना भाइरस नफैलिएको भए यस्तो माहौल कसरी बन्थ्यो होला ? महिला अधिकारकर्मीहरु जतिसुकै उफ्रिएपनि कसैले टेरपुच्छर लगाएको भए पो ? कोरोनाले भने भान्सा एवं घरायसी कामकाज कस्तो हुन्छ ? श्रीमतीले यी सबै काम कसरी चुपचाप गरिरहेका छन् भन्ने पाठ सिकाइदियो ।
धर्तीलाई विश्राम, प्रकृतिलाई हाईसञ्चो
कोरोना भाइरसले विश्वकै मानव समुदायलाई एउटा कुरा सूचित गरेको छ, ‘यो धर्ती एवं प्रकृतिमाथि तिमीहरुको हस्तक्षेप कुन हदसम्म बढिरहेको छ ?’
वास्तवमा मान्छेले आफ्नो सुख र सुविधाको चक्करमा धर्ती एवं प्रकृतिमाथि तान्डव मच्याइरहेको थियो । यान्त्रिक कम्पनदेखि, प्रदूषण र कोलाहालले प्रकृतिको स्वच्छन्द हरण गरिदिएको थियो । हावाले आफ्नै लयमा वहकिन पाएको थिएन, खोला–नाला आफ्नै गतिमा सुस्ताउन पाएको थिएन, किरा–फट्याग्रादेखि वनस्पतिसम्म मान्छेको दादागिरीबाट संकट र सकसमा थिए ।
कोरोना भाइरसपछि विश्वमा त्यस्ता भौतिक गतिविधिहरु ठप्प भए, जो धर्ती, प्रकृति एवं पर्यावरणका लागि हनिकारक थिए । कलकारना बन्द भए, गाडीहरु चलेनन्, विद्युतिय यन्त्रको प्रयोग घट्यो । यसले कोलाहाल, प्रदूषण सबै हटाइदियो । यस्तो लाग्न थाल्यो, धर्ती आरमले खुट्टा तन्काएर बसेको छ । हावाले शान्तिपूर्वक सास फेरिरहेको छ । प्रकृति मुस्कुराइरहेको छ ।
राज्य एवं सरकारको परीक्षा
पत्याउनुहोस्न-पत्याउनुहोस्, कोरोनाले अधिकांश मुलुकको परीक्षा लिएको छ । खासगरी त्यहाँको सरकार, स्वास्थ्य संयन्त्र, मानव सभ्यताको परीक्षा लियो ।
यस परीक्षामा कतिपय मुलुकले विश्वमै आफ्नो नाम चम्काउने मौका पाए भने कतिपय मुलुक लाजले मुख छोप्नुपर्ने अवस्थामा पुगे । कतिपय मुलुकको स्वास्थ्य सेवा अत्यान्तै द्रुत, छरितो र प्रभावकारी भइदियो । कतिपय मुलुकको नागरिकमा उच्च स्वास्थ्य चेत र सर्तकता देखियो । कतिपय मुलुकका सरकार भने यस्तो संवेदनसिलताबाट नागरिकलाई बचाउने त कता हो कता, धमिलो पानीमा माछा मार्ने दाउपेचमा पो लागे ।
यसले कुन मुलुकको नेतृत्व कति सक्षम र कति असक्षम भनेर सर्वसाधरण नागरिकबीच चिनाइदियो ।
source https://www.onlinekhabar.com/2020/04/859240






0 comments:
Post a Comment