केशव भट्टराईको असामयिक निधनपछि खाली रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन खुल्ला गरिएको छ । सरकारले आज बोर्ड अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो ।
इच्छुक व्यक्तिले सूचना पकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसका लागि विभिन्न योग्यतासमेत तोकेको छ । बोर्ड अध्यक्ष हुनका लागि ३० वर्ष पुरा भएर ६५ वर्ष ननाघेको नागरिक हुनुपर्ने छ ।
साथै, कुनै पनि बिषयमा स्नातक पास गरेका र चलचित्र क्षेत्रमा १० बर्ष विताएका व्यक्तिले आवेदन दिन सक्नेछन् । प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेर चलचित्र क्षेत्रमा २० बर्ष बिताएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।
बोर्डमा अध्यक्ष नहुँदा चलचित्रसम्बन्धी विभिन्न गतिविधिहरु ठप्प रहँदै आएका छन् । त्यसो त, बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरिए पनि सरकारले भनसुनका आधारमा अनुकुल व्यक्तिलाई नै बोर्डमा लाने गरेको छ । यसअघि बोर्डको अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, नायक भूवन केसी लगायतको नाम अगाडि आएको थियो ।
source https://www.onlinekhabar.com/2020/04/859065
0 comments:
Post a Comment