Sunday, 26 April 2020

युरोपमा नेपाली होटल तथा रेष्टुरेन्ट व्यवसायी संकटमा

१५ वैशाख, बार्सिलोना। कोभिड- १९ ले नराम्रोसँग थलिएको युरोपमा ब्यापार, व्यवसाय र लगानी गरिरहेका नेपालीहरु अहिले चिन्तित देखिएका छन्  । युरोपमा नेपाली स्वामित्वका ५० भन्दा बढी होटलहरु अहिले बन्द हुँदा व्यवसायीहरु चिन्तित बनेका हुन्।

गैर आवासीय नेपाली संघका अभियन्ताहरुको “ट्रिप इन होटेल ग्रुप’ द्वारा जर्मनीमा सञ्चालित झन्डै तीन दर्जन होटेल रहेका छन् । अन्य नेपाली व्यवसायीहरुले पनि यहाँ होटल सञ्चालन गरेका छन् । एक होटल व्यवसायीकाअनुसार जर्मनीमा मात्रै नेपाली स्वामित्वमा ४० बढी होटलहरु रहेका छन् । यसबाहेक बेल्जियममा ६ वटा, फ्रान्समा २ वटा र स्विट्जरल्याण्डमा एक होटलमा पनि नेपाली व्यवसायीहरुले लगानी रहेको छ।

अहिले यी सबै होटलहरु बन्द छन्। व्यवसायीकाअनुसार आउँदो डिसेम्बरसम्मका सबै बुकिङ्हरु रद्द भइसकेका छन् । युरोपमा हरेक महिना आफ्नै गोजीबाट रकम हाल्ने अवस्था नरहेको व्यसायीहरु बताउँछन् । राज्यले उपलब्ध गराउने ऋण सुविधा लिएर व्यवसाय धान्नु नै व्यवसायीहरुको अन्तिम बिकल्प रहेको उनीहरु बताउँछन् । तर सवै कम्पनीहरु ऋण पाउन योग्य रहदैनन् । सहुलियतमा ऋण रकम पाउने कम्पनीलाई मात्र व्यवसायी धान्न केही सजिलो देखिन्छ।

दुई दर्जनभन्दा बढी होटलहरुमा लगानी गरेका गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले अहिले व्यवसायमा नरारात्मक प्रभाव पारेको बताए। अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, ‘सन् २०२० होटल व्यवसायका लागि अप्ठारो अवस्था हो। पर्यटकहरु नआउने, हिँड्न डराउने अवस्था रहन्छ। बिभिन्न ठूला ठूला कन्फेरेन्सहरुलाई राज्यले नै रद्द गरेको अवस्था छ। तर हामी पूर्ववत् रूपमा काममा फर्कने छौं भन्ने आत्मविश्वास राख्नु पर्छ।’

उनले संकटको घडीमा राज्यले ऋण सुविधा उपलब्ध गराएको हुँदा त्यसैमा निर्भर पर्नुपर्ने बताए । उनले भने, ‘५० भन्दा बढी कामदारहरु रहेको व्यवसायको हकमा भने राज्यले सहुलियत ऋण रकम उपलब्ध गराएको छ। त्यसलाई ५-७ वर्ष लगाएर तिर्न सकिन्छ। यही माध्यमबाट नै आफ्नो व्यवसायलाई बचाउनु पर्नेछ।’

वर्षौदेखि होटल व्यवसाय गरेर मुनाफा लिइसकेका व्यवसायहरुलाई अलि सहज देखिएपनि आफूहरुलाई पनि ठूलो चुनौती रहेको बेल्जियम निवासी व्यवसाय लोकप्रसाद दाहालले बताए। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका सहकोषाध्यक्ष समेत रहेका दाहालले आफैंले रकम हालेर व्यवसाय धान्ने वा छोड्ने विकल्प रहेको बताए। उनले भने, ‘बेल्जियमको हकमा सबै होटलहरुका लागि बैंकले ऋण दिने अवस्था छैन। चार-पाँच तारे होटलहरुलाई ऋण मिल्ला तर हामी दुई-तीन स्टार होटल सञ्चालकहरुलाई गाह्रो छ।’

बेल्जियममा ठूला फेस्टिवलहरु रद्द भइसकेको पनि दाहालले बताए। “एउटै ग्रुपले पचासौँ हजार युरो तिरेर होटल बुक गरेका थिए। नन रिफण्डवेल बुकिङ्को पनि सरकारको निर्देशनमा रकम फिर्ता गरिसक्यौं।” उनले भने।

रेष्टुरेन्ट व्यवसायी पनि संकटमा

बेल्जियममा तीन सयभन्दा बढी रेष्टुरेन्ट व्यवसायहरु रहेको एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुबेदीले बताए। उनले भने,’ तीन सयभन्दा बढी व्यवसायी साथीहरु छौं । सबैको परिवार यही व्यवसायमा आश्रित छन् । यो बेला कामदारहरु कटौती गर्न सक्छन् । कसैको काम छुट्न सक्ने अवस्था पनि छ।’

सरकारले रेष्टुरेन्ट व्यवसायीलाई तत्काल राहत स्वरुप ४ हजार युरो दिएको सुबेदीले बताए। तर स्पेनमा भने अन्य मुलुकमा जस्तो व्यवसायीहरुलाई ठूलो नगद सहयोग नगरेको गुनासो व्यवसायी दिनेश गिरीको छ। एनआरएनए स्पेनका उपाध्यक्षसमेत रहेका गिरीले भने, ‘स्पेनमा व्यवसाय धान्न निकै जटिल देखिएको छ। बार्सिलोनाका धेरै व्यवसायहरु पर्यटकमै केन्द्रित छन्। यो बर्ष आशा नगरेपनि हुने भो। यही गतिले आर्थिक मन्दीको सम्भावना देखिन्छ।’

पोर्चुगलमा एक दर्जन बढी रेष्टुरेन्ट संचालन गर्दै आएका व्यवसायी धुर्बराज सुबेदीले अहिले अवस्था अकल्पनिय रहेको बताए। ‘यहाँको सरकारले पनि व्यवसायीलाई तत्काल फाइदा हुने योजना ल्याएको देखिदैन। यो बेला व्यवसाय धान्न पनि आत्मविश्वासको खाँचो छ। संकटसँग जुध्नु नै पर्छ तर हामीले धैर्यता गुमाउनु हुँदैन,’ सुबेदीले भने।



source https://www.onlinekhabar.com/2020/04/858650

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More