Sunday 26 April 2020

विलासी जीवनशैली : रोगको भय

विगतमा सरुवा रोगबाट अत्याधिक मानिस सताइने गर्थे । मृत्यु दर पनि उच्च थियो । नसर्ने रोगबाट उति धेरै भय थिएन ।

अहिले स्थिती ठ्याक्कै उल्टो भएको छ । सर्ने रोगबाट भन्दा नसर्ने रोगबाट धेरैजना ग्रसित छन् । विगतमा ६० प्रतिसत व्यक्तिको मृत्यु सरुवा रोगबाट हुन्थ्यो भने ४० प्रतिशत नसर्ने रोगबाट । अहिले भने सरुवा रोग धेरै हदसम्म नियन्त्रणमा छ भने नसर्ने रोगको संख्या बढ्दो छ । र, नसर्ने रोगको यो भयावह वृद्धिदरमा जिम्मेवार छ, जीवनशैली ।

खासगरी ऐशआरमपूर्ण जीवनशैली र मीठो मसिनो खानेकुरा खोज्ने हाम्रो बानी नै रोगको कारण बनेको छ । विलासी जीवनशैलीकै कारण शारीरिक श्रम र सक्रियता घटेको छ । यसैले रोगको जोखिम अरु बढेको छ ।

हड्डी खिइने एवं ढाँडको समस्या

अहिले धेरैजसो मोटरसाइकल वा गाडीमा यात्रा गर्छन् । पैदल हिँड्दैनन् । कतिसम्म भने, घर नजिकको तरकारी पसलसम्म पुग्न पनि मोटरसाइकल चढ्ने गरिन्छ । यसले धेरैलाई ढाँडको समस्याले ग्रस्त बनाएको छ । हड्डी खिइने, नसा च्यापिने समस्या समेत छ ।

हड्डी सम्बन्धि उपचार गर्ने चिकित्सकहरुका अनुसार गलत खानपान, विलासी जीवनशैली तथा अव्यवस्थित जीवनचर्याका कारण पनि हड्डी तथा जोर्नी सम्बन्धि समस्याबाट पिडित हुने गरेका छन् ।

लामो समयको यात्रा वा लामो समयसम्म एउटै आसनमा बसेर काम गर्नाले रक्तसञ्चारमा अवरोध सिर्जना हुन्छ, जसले शरीरमा पिडा हुनुका साथै हड्डीलाई कडा बनाउँछ । कार्यको क्रममा केही मिनेटको विश्रामले शरीरमा रक्तसञ्चार प्रभावकारी रुपमा हुनुका साथै हड्डी स्वस्थ रहन्छ ।

अत्याधिक मदिरापान, पेय पदार्थ, जंकफुड लगायतको सेवनले हड्डीलाई खाक्रो बनाइरहेको हुन्छ ।  जसले गर्दा हड्डी भाचिने वा टुट्ने समस्या धेरै हुने गर्छ । हड्डीलाई बलियो बनाउन यस्ता पेय पदार्थको परित्याग गरी क्यालिसयम तथा भिटामिन डी युक्त यस्ता खानेकुरा खानुपर्छ ।

मधुमेहको समस्या

मधुमेहलाई त खानदानी रोग नै भनिन्छ । के पनि भनिन्छ भने यो रोग धनीहरुलाई लाग्ने गर्छ । रोगले धनी–गरिबबीच भेद त गर्दैन । यद्यपि यस भनाईको आशय के हो भने ऐश आरमको जिन्दगी बिताउनेहरु मधुमेहको जोखिममा पर्छन् ।

खासगरी सुख सुविधाका लागि आरम खोज्नेहरु, मीठो मसिनो खानेकुरा खानेहरु मधुमेहले ग्रस्त हुने गर्छन् । त्यसैले त मधुमेह शहरी क्षेत्रमा बढी देखिएको छ । एक तथ्यांक अनुसार नेपालका ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा अत्याधिक मात्रामा मधुमेह रोगी छन् ।

नेपालमा कुल ३० हजार जनसंख्यामध्य करिब ४१ दशमलव ५ प्रतिशत पुरुष तथा ५८ दशमलव ५ प्रतिशत महिला मधुमेह रोगबाट पिडित छन् ।

मधुमेहको जाखिम शहरी क्षेत्रमा ८ प्रतिशत तथा ग्रामिण भेगमा एक प्रतिशत रहेकोमा मधुमेहमध्य पनि टाइप २ मधुमेहको जोखिम १ दशमलव ४ प्रतिशतदेखि १९ प्रतिशतसम्म रहेको पाइएको छ ।

अहिले मधुमेह रोगी दिनहुँ बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खराब खानेकुरा र व्यायमको कमीले मधुमेह जस्ता रोग निम्याउने गर्छ ।

उच्च रक्तचाप

उच्च रक्तचाप अहिले धेरैको निम्ति टाउको दुखाईको विषय बनेको छ । युवा अवस्थामै धेरैजसो उच्च रक्तचापको रोगी भएका छन् र औषधि सेवन गर्नुपर्ने अवस्थामा पुगेका छन् । उच्च रक्तचापको रोगी बढ्नुको मूख्य कारण हो, उनीहरुले अपनाएको खराब जीवनशैली ।

धपेडीपूर्ण दैनिकी, खराब खानपान, अनिद्रा, तनाव जस्ता कुराले धेरैलाई उच्च रक्तचापको जोखिममा पारेको छ । एकातिर अस्तव्यस्त दिनचर्या, अर्कोतिर समुचित व्यायाम, सुपाच्य खानपान र पर्याप्त निद्राको कमी । यही कारण धेरैलाई उच्च रक्तचापको जोखिम छ ।



source https://www.onlinekhabar.com/2020/04/858671

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More