Thursday 30 April 2020

धेरै खेलाडी मैदान फर्कन डराइरहेका छन् : अगुएरो

१८ वैशाख काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले कोरोना भाइरस महामारीपछि धेरै खेलाडी मैदान फर्कन डराइरहेको बताएका छन् ।

कोरोना भाइरसकै कारण मार्च दोस्रो साता देखि प्रिमियर लिग स्थगित भएको छ । आगामी जुन ८ मा लिग फेरि सुरु गर्ने तयारी भइरहेको छ । जसका लागि खेलाडीहरु मे १८ सम्म पूर्ण रुपमा ट्रेनिङमा फर्कुनुपर्ने हुन्छ ।

शीर्ष डिभिजनका क्लबहरु लिग फेरि सुरु गर्नेबारे शुक्रबार छलफल गर्दैछन् ।

तर सिटीका अर्जेन्टाइन स्ट्राइकर अगुएरो भने खेलाडीहरुमा डर रहेको बताउँछन् । ‘धेरै जसो खेलाडीहरु डराइरहेका छन् किनकी उनीहरुको बच्चा र परिवार छ ।’ ३१ वर्षीय अगुएरोले भने ।

अर्जेन्टाइज टिभी स्टेसन एल चिरिङगुइटोसँग कुरा गर्दै अगुएरोले आफू पनि डराएको बताएका छन् । ‘म डराएको छु । तर म मेरो प्रेमिकासँग यहाँ छु । र अरु मानिसँग सम्पर्कमा छैन । म घरमै लक्ड भएर बसेको छु । मलाई संक्रमित गर्न सक्ने एक मात्र व्यक्त मेरो प्रेमिका नै हो,’ अगुएरोले भने, ‘उनीहरूले भनिरहेका छन् कि त्यहाँ त्यस्तो व्यक्तिहरू छन् जोसँग यसको कुनै लक्षण छैन तर पनि तपाईंलाई संक्रमित गर्दछ । यही कारणले गर्दा म यहाँ घरमा छु । हुन सक्छ मलाई रोग लागेको छ र मलाई पनि थाहा छैन ।’

कोरोना भाइरसका कारण प्रिमियर लिग मार्च १३ देखि स्थगित गरिएको छ तर सबै क्लबहरू यस सिजनको बाँकी ९२ खेल खेल्न प्रतिबद्ध छन् । सबै खेलहरू ‘क्लोज डोर’ मा आयोजना हुने आशा छ र लिगका खेलहरु टिभीमा फ्रि मा उपलब्ध हुने कुरा भइरहेको छ ।

यस्तै अगुरोले अब फेरि खेलमा फर्कँदा उनका टोलीका साथीहरू एकदम नर्भस हुने र थप सतर्क हुने बताए । ‘जब एक व्यक्ति बिरामी छ हामी सोच्दछौं, ओहो यहाँ के भइरहेको छ ? ’ उनले थपे,  ‘मलाई आशा छ कि भ्याक्सिन छिट्टै भेट्टाइनेछ ताकि यो सबै समाप्त हुन्छ ।’

यदि सामाजिक दुरीका नियमहरू जारी हुनुभन्दा अघि प्रशिक्षण पुनः सुरु गरिएमा खेलाडीहरूलाई हप्तामा दुई पटक कोरोना भाइरसको लागि जाँच गरिने हरेक दिन लक्षणहरूको लागि जाँच गरिने बीबीसीले जनाएको छ ।

सबै परीक्षणहरू स्वास्थ्यकर्मीहरूले नेशनल हेल्थ सर्भिस (एनएचएस) को परीक्षण सुविधामा सञ्चालन गरिन्छ, जहाँ प्रत्येक क्लबको पहुँच हुनेछ । प्रशिक्षण मैदान सामाजिक दुरी र उच्चस्तरीय सरसफाइ अनुकुल बनाइनेछ ।

 



source https://www.onlinekhabar.com/2020/05/859891

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More