कोरोना भाइरसको महामारीका कारण देश लकडाउनको चरम समस्या खेपिरहेका बेला राजनीतिक वृत्तमा दुई घटनाले निकै चर्चा पाए । एक, प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न सहज पार्ने गरी ल्याएको राजनीतिक दलसम्बन्धी ऐन संशोधनको अध्यादेश थियो । अर्काे विषय भने राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकता थियो ।
नेपालमा राजनीतिक पार्टी फुट्नु र जुट्नु कुनै नौलो कुरा त होइन । तथापि विगतको राजनीतिक पार्टीहरूको अनुवभलाई हेर्दा पार्टी जुट्नेभन्दा फुट्ने नै बढी देखिन्छ । ती फुटेर गएका पार्टीहरू आज टुक्राटुक्रा भएर कमजोर मात्र होइन, कतिले त आफ्नो राजनीतिक अस्तित्व नै गुमाइसके ।
केही पार्टी बलियो हुन नसके पनि कम्तीमा आफ्नो अस्तित्वलाई जोगाउन भए पनि सके आफ्नै पुरानो पार्टीसँग, नसके समान उद्देश्य भएको पार्टीसँग एकता भई जसोतसो पार्टी चलाइरहेको उदाहरण नेपालको राजनीतिमा धेरै उदारहण छन् ।
तर, पार्टी विभाजन गर्न सहज बनाउने अध्यादेश नै आइरहँदा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीबीच भएको पार्टी एकता भने अरू राजनीतिक पार्टीका लागि पनि एउटा राम्रो उदाहरण हुन सक्छ ।
जब–जब पार्टी एकताको कुरा आउँछ, त्यतिबेला कुनै दुई राजनीतिक पार्टीबीच भएको एकतालेभन्दा त्यो एकीकृत पार्टी कति समयसम्म टिक्ला भन्ने कुराले धेरै महत्व राख्दछ । त्यसैले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीबीच भएको एकताभन्दा पनि एकतापछि बनेको एकीकृत भएका जनता समाजवादी पार्टी कति समय टिक्ला भन्ने विषय महत्वपूर्ण छ ।
एकतापछि घोषित एकीकृत जनता समाजवादी पार्टीका नेताहरू राजनीतिक मैदानमा नौलो अनुहारहरू भने पक्कै होइनन्। हरेक नेता लामो राजनीतिक पृष्ठभूमिबाट आएका प्रत्यक्षरुपमा निर्वाचन लडेर जनताको मत पाएर विजयी भएका सांसददेखि मन्त्री तथा प्रधानमन्त्रीसम्म भइसकेका नेताहरू छन् ।
पार्टी एकता आफैँमा असल काम त हो । तर, कस्तो उद्देश्यबाट प्रेरित भयो भन्ने महत्वपूर्ण हो। पार्टी ठूलो वा नेता प्रभावशालीभन्दा पनि असल पार्टी र असल नेतृत्व आजको आवश्यकता हो । हाम्रो देशमा २००७ सालभन्दा अगाडिदेखि लामो राजनीतिक इतिहास र अनुभव बोकेका, देश र जनताको लागि जेल, नेल सहेका नेताहरू प्रशस्तै छन् । सक्रिय पनि छन् । तर, के ती सबै नेता जनताको अपेक्षा पूरा गर्ने सवालमा असल बनिरहे त ? यो प्रश्न पेचिलो बन्दछ ।
हालको नयाँ एकीकृत पार्टीका नेताहरूले पनि यही प्रश्नको जवाफ दिन सक्नुपर्छ । त्यसो त, असल राजनीतिक नेतृत्वको खडेरीलाई पूरा गर्ने अवसर यो पार्टीलाई पनि छ । भलै बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो जस्ता नेताहरू पहिले नै ‘टेस्टेड’ नेता हुन् । तैपनि अहिलेको पार्टी एकताले उनीहरूका सामु राजनीतिको नयाँ अध्याय खोलिदिएको छ । जुन, देश र जनता केन्द्रित राजनीति गर्न उनीहरूलाई एक अवसर पनि हो । जनता समाजवादी पार्टीले यो जटिल अवस्थालाई उम्कन दिनुहुँदैन ।
नेता ठूला समस्या पनि ठूलै
प्रधानमन्त्री केपी ओली अहिलेको राजनीतिमा निकै प्रभावशाली नेता हुन् । उनको पार्टी नेकपा पनि ठूलो जनमत पाएको वा भरोसा गरिएको पार्टी हो । धेरैले नेकपाबाट धेरै अपेक्षा पनि गरेका थिए ।
अपसोच, इतिहासमै सबैभन्दा ठूला समस्या र कठिन अवस्था अहिले नै देखिँदैछ ।
गरिबी, बेरोजगारी, खानेपानी, विद्युत र यातायत सुविधा लगायत भौतिक पूर्वाधार निर्माणका समस्या त पुरानै समस्या थिए । त्यसबाहेक, अन्य राजनीतिक रुपमा सम्बोधन हुनुपर्ने समस्या झन् पेचिलो बन्दैआएका छन् ।
संघीयता, धर्म निरपेक्षता संस्थागन, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिका, समानुपातिक प्रतिनिधित्व, दलित, आदिवासी जनजातिका मुद्दा जस्ता समस्या समाधन गर्नु ऐतिहासिक चुनौती हो । यी चुनौतीलाई सामना गर्नुको सट्टा वर्तमान नेतृत्वले अनदेखा गरिरहेको छ । मानौं, यस्ता राजनीतिक र सामाजिक मुद्दालाई प्रधानमन्त्रीले हल्काफुल्का ठट्टाको रुपमा लिइरहेका छन् । यस्ता ऐतिहासिक एजेन्डा समाधना गर्न नसक्दा त्यसको असर र परिणाम दूरगामी नै हुनेछ भन्ने प्रधानमन्त्रीलाई जानकारी नै होला । तर, यी एजेन्डा वर्तमान नेतृत्व सुन्न र बहस गर्न नै तयार छैन ।
हालै एकीकृत नयाँ जनता समाजवाद पार्टीका लागि यस्तै मुद्दालाई सन्तुलितरुपमा अघि बढाउने एक ऐतिहासिक अवसरको रुपमा सिर्जना भएको छ । समस्यासँग भागेर वा अनदेखा गरेर हैन, सामना गरेर अघि बढ्नु नै नेतृत्वको विवेकी उपाय हुनेछ ।
त्यसो त, नयाँ एकीकरणले सबैभन्दा ठूलो भनिएको नेकपाको लागि पनि चुनौती उत्पन्न गराएको छ । अर्कोतर्फ, नेकपा वर्तमान महामारीको संकटलाई सामना गरी समाधान निकाल्नभन्दा पनि आफ्नै राजनीतिक प्रभाव कायम राख्न मेहनत गरिरहेको देखिन्छ । लकडाउनका कारण श्रमिकहरू बालबच्चा बोकेर सयौं किलोमिटर भोकै पैदल यात्रा गरिरहेका छन् । आपुर्ति अभाव, बेरोजगारी जस्ता समस्याले थप संकट उत्पन्न गरिसकेको छ । तर, सरकार यस्ता समस्यालाई नजरअन्दाज गरिरहेको छ । बरु राजनीतिक दललाई फुटाउने र आफू शक्तिशाली बनिरहने खेलमा नेकपा केन्द्रित छ ।
जनता समाजवादी पार्टीका अवसर
अन्य राजनीतिक दलहरू देश र जनताको नजरमा आलोचित बन्दैगएको अवस्था छ । जनताको सेवामा उनीहरू असफल हुँदै गएका छन् । त्यसमा पनि आन्तरिक भागवण्डा र कलहमा ग्रस्त छन् । यस्तो अवस्थामा यो पार्टी एकताले जनताले खोजिरहेको वास्तविक नयाँ वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने अवसर छ ।
त्यसो त, लामो समय राजनीति गरेको अनुभव र राज्यसत्ता सञ्चालनमासमेत अनुभव हासिल गरेका नेताहरू हुनु यो पार्टीका लागि सुविधा छ ।
संयोगवश यस पार्टीमा हिमाल, पहाड र मधेसको प्रतिनिधित्व छ । समावेशिता र पहिचानको मुद्दा समाधान भइनसक्दा समावेशिताको सिद्धान्त अंगिकार गरेको पार्टी आउनु एक सकारात्मक संकेत हो ।
चुनौतीहरू
त्यसो त, यस पार्टी एकीकरणअघि सैद्धान्तिक बहस र परिपक्व छलफल नै भएन । जसले गर्दा हतारमा एकीकरण भएको पार्टी हतारमै फुट्ने पो हो कि भन्ने संशय यथावत छ । राज्यमन्त्री पदका लागि नै पार्टी छाड्न तयार हुने केही नेताहरूको प्रवृत्तिले पार्टीलाई नै असर गर्ने देखिन्छ ।
खासगरी पूर्वराजपा र फोरमका नेतामा पदीय लालचको समस्या विगतमा देखिँदैआएको छ ।
सैद्धान्तिक मूल्यमान्यता कुल्चेर पदीय लालच देखाउने नेताहरूलाई आगामी दिनमा पनि धेरै जिम्मेवारी दिनु जायज छैन । आज पदीय लालचका लागि अन्य पार्टीमा मिल्न जान खोज्ने नेताहरूलेपछि पनि धोका दिनसक्ने सम्भावना जीवितै छ । यस्तो प्रवृत्तिबाट पार्टी नेतृत्व सधैँ चनाखो रहनु जरुरी छ ।
यसबाहेक, संविधान संशोधन, धर्म निरपेक्षताको संस्थागत, दलित, मधेसी तथा जनजातिका मुद्दा समाधानमा रणनीतिक योजना तर्जुमा गर्नुपर्ने यस पार्टीका अन्य चुनौती हुन् । जसका लागि पार्टीले आन्तरिक र वाह्य रुपमा धेरै संघर्ष गर्नुपर्ने देखिन्छ ।
यस्तै, सेना, प्रहरी जस्ता संगठनभित्र पनि संघीयता, धर्म निरपेक्षता जस्ता लोकतान्त्रिक उपलब्धिलाई सकारात्मक रुपमा लिने गरिएको छैन । अझ भनौं सेना त यस्ता उपलब्धि व्यवहारमा स्वीकार गर्न नै तयार देखिँदैन । यो पार्टीले यस्ता समस्या चिर्न सक्नु पर्छ ।
कसरी अघि बढ्ने ?
जनता समाजवादी पार्टीले अन्य पार्टीसँग नभएको तर आफ्नो पार्टीसँग भएका सबल पक्षलाई खुट्याउन सक्नुपर्छ । ताकि अबको युवा जमातले जनता समाजवादी पार्टीलाई समर्थन गरोस् ।
मुलुकको विकाससम्बन्धी एउटा निर्दिष्ट खाका बनाउनु जरुरी छ । गणतन्त्र, धर्मनिरपेक्षता संघीयताजस्ता उपलब्धिलाई संस्थागत गरी अग्रगामी एजेन्डा दिन सक्नुपर्छ । अहिले जनताले अर्को नयाँ पार्टी मात्रै खोजेका छैनन्। तर, आजसम्मका पार्टीबाट जनताका लागि थप उपलब्धिमूलक कामको आशा लगभग बहुसंख्यक जनतामा मरिसकेको छ ।
यसैले पनि जनताले खोजेको चाहिँ राजनीतिक एवं लोकतान्त्रिक चरित्र भाएको नयाँ चरित्रवान नेता र पार्टी खोजेका हुन् । अझै पारदर्शिता (आर्थिक, राजनैतिक र नैतिक रुपमा पनि स्वच्छ चरित्र) भएको नेतृत्व आजको आवश्यकता हो ।
(लेखक कानुन व्यवसायी तथा मानवअधिकारकर्मी हुन् ।)
source https://www.onlinekhabar.com/2020/04/858352
0 comments:
Post a Comment