२३ वैशाख, बर्दिया । दक्षिणमा भारत, पश्चिममा कैलाली र पूर्वतर्फ बाँकेमा कोरोना संक्रमण देखिएपछि बर्दिया उच्च जोखिममा परेको छ । संक्रमण रोकथाम गर्ने उद्देश्यले बर्दियामा औषधि र इन्धन आपूर्तिबाहेकका सबै आवागमन बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, ‘केही दिनयता बाँकेमा लगातार संक्रमण बढ्दै गएपछि हामी संकटमा परेको महसुस गरेका छौं । त्यसैले उच्च सतर्कता अपनाउँदै बाँकेतर्फबाट अत्यावश्यक बाहेकका आवागमनलाई बन्द गराउने निष्कर्षमा पुगेका छौं ।’
यसअघि बर्दियामा खाद्यान्न ढुवानी, खाली फिर्ता सवारी साधन, निर्माण सामग्री, अन्य उपभोग्य सामग्री, कुखुरा, अण्डा, दाना तथा कृषि मल लगायतका चार पांग्रे सवारी साधनबाट हुने ढुवानी बेलुकी ७ बजेपछि मात्र हुने व्यवस्था मिलाइएको थियो । यस्तै उपभोग्य वस्तु खरिदबिक्रीको समय आज मंगलबारदेखि हप्ताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) बिहान ७ बजेदेखि ११ बजेसम्म तोकिएको छ । यसमा पनि थप कडाइ गरिने प्रजिअ लामिछानेले बताए ।
‘एक हप्ता अगाडिदेखि नै हामीले तरकारी, फलफूल, जंकफुड, कोइलालगायतका सामान भित्राउन रोकिसकेका थियौं,’ प्रजिअ लामिछानेले भने, ‘औषधि आपूर्ति हुने मुख्य विन्दु भनेकै नेपालगन्ज हो । त्यसैले औषधि र इन्धन रोक्न भएन । अधिकतम रुपमा अरु के-के बन्द गर्नुपर्छ, गर्छौं ।
यसअघि बर्दियाको राजापुर नगरपालिकाको कोठियाघाटस्थित एक क्रसर उद्योगमा कार्यरत दुई भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएको थियो । उनीहरु भारत गइसकेपछि कोरोना पुष्टि भएकाले क्रसर उद्योग र सो उद्योग वरिपरिको वस्तीमा कोरोना परीक्षण गरिएको थियो । तर, हालसम्म बर्दियामा कसैलाई पनि कोरोना संक्रमण देखिएको छैन ।
बर्दियाको ठाकुरबाबा नगरपालिका घर भएका एक व्यक्तिलाई भारतबाट आफ्नो घर फर्किँदै गर्दा सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उतै राखिएको छ ।
source https://www.onlinekhabar.com/2020/05/861034






0 comments:
Post a Comment