काठमाडौं । हामीले मन्दिरमा देख्ने मूर्तिहरु फरक फरक भावभंगिमामा बनाइएको हुन्छ । कुनै मूर्तिको हात एकाथरीको हुन्छ भने कुनै मूर्तिमा अर्कैथरीको हुन्छ । यो विभिन्न कथाको आधारमा तयार पारिएका मूर्तिहरुमा कथालाई बोल्ने प्रयोजनका लागि यस्ता मुद्राहरु बनाउने गरिन्छ ।
शास्त्रीय विधान अनुसार बनेका भगवानका मूर्तिहरुमा हामीले हातको हाउभाउलाई फरक फरक कोणबाट देख्न सक्छौं । कुनै हात ठाडो पारेर छाती नजिक लगिएको हुन्छ भने कुनै मूर्तिमा आसनको मुनिसम्म पुग्नेगरी हातको हाउभाउ तयार पारिएको हुन्छ ।
विभिन्न देवदेवीहरुको हात एवं हत्केलाहरु बेग्लाबेग्दै अवस्थामा र बेग्लाबेग्लै अवस्था र स्थितिमा मूर्तिकार वा चित्रकारले निर्माण गरेको हुन्छ । यस्ता हातका फरक फरक अवस्थालाई नै मुद्रा भन्ने गरिन्छ ।
मूर्ति बनाउँदा मूर्ति बसेको, उभिएको र सुतेको गरी ३ किसिमको बन्ने गर्छ । उभिएको मूर्तिलाई आलिढ, बसेकोलाई आसन र सुतेको मूर्ति बनाउँदा शयनासन मूर्ति बनाउने गरिन्छ । यी सबै किसिमका मूर्तिमा आफ्नै किसिमको मुद्राहरु पाउन सकिन्छ ।
अभय मुद्रा
आफ्नो हत्केलालाई छातीसम्म पुर्याएर भक्ततिर ठाडो पारी फर्काएर प्रदर्शित गरिएको छ भने त्यो मुद्रालाई अभय मुद्रा भनिन्छ । यो आफ्नो भक्तहरुलाई सुरक्षित छौ भन्ने संकेत गर्ने मुद्रा हो ।
वरद मुद्रा
हत्केला खुल्ला गरी कम्मर मुनिसम्म पुग्नेगरी तल झारी भक्तहरु भएतिर फर्काइएको मुद्रा वरद मुद्रा हो । यो मुद्राले आफ्ना भक्तहरुप्रति अनुग्रह गरेको भन्ने जनाउने गर्छ ।
अञ्जलि मुद्रा
अञ्जलि मुद्रा मुख्यगरी नमस्कार गरेको मुद्रा हो । यसमा दुई हात जोडेर पानीको तर्पण दिन लागिएको जस्तो विधि पनि हुन सक्छ ।
ध्यान मुद्रा
ध्यान मुद्रामा पलेँटी कसेर दाहिने हातलाई देब्रे हत्केलामाथि राखेर बसिन्छ । यो मुद्रामा बस्दा शरीर र टाउको सीधा हुनुपर्छ ।
ज्ञान मुद्रा
यस मुद्रामा बुढी र चोर औंला परस्परमा जोडेर हत्केलालाई छातीनिर राखिएको हुन्छ ।
काट्यावलम्बित मुद्रा
यो मुद्रामा दुवै पाखुरालाई पूर्ण रुपमा निष्कृय स्थितिमा ल्याएर हत्केलालाई कम्मरमा अड्याउने गरिन्छ ।
दण्डहस्त र बागहस्त मुद्रा
यो मुद्रामा हातलाई अगाडि वा शरीरको कुनै भागतिर सिधा डण्डाझैं लगिन्छ । तथा हात्तीको सुँडको आकारमा फैलाइन्छ । यो नृत्य मुद्रा हो ।
विष्मय मुद्रा
यो मुद्राले सांकेतिक रुपमा विस्मय वा आश्चर्यलाई दर्साउँछ । यस मुद्रामा हत्केलाका औंलाहरुलाई सिधा माथिपट्टि तानेर हातलाई मोडेर टाउकाको बराबर पु¥याई हत्केलालाई पछाडिपट्टि पारिन्छ ।
भूस्पर्श मुद्रा
यस मुद्रामा मूर्तिहरुको देब्रे हात उत्तानो पारेर काखीमा राखिएको हुन्छ भने दाहिने हातले हत्केला पछाडिपट्टि पारेर मूर्ति बसेको आसन मुनिको भूमिलाई स्पर्श गरिराखेको हुन्छ । यो मुद्रा विशेष गरी बुद्धमूर्तिहरुमा देखिन्छ ।
तर्जनी मुद्रा
यस मुद्रा अन्तर्गत् दाहिने हातको चोर औंलालाई माथितिर पारिन्छ । यसको अभिप्राय कुनै वस्तुतिर संकेत गर्नु वा सतर्क गराउनु वा चेतावनी दिनु हो ।
source https://www.onlinekhabar.com/2021/07/989887
0 comments:
Post a Comment