Wednesday, 3 November 2021

डेभिड रुविन, जसले महाकवि देवकोटालाई अमेरिकामा चिनाए 

कुनै दुईमत छैन कि महाकवि लक्ष्मीप्रसाद देवकोटा बहुभाषामा रचना गर्न सक्थे । अंग्रेजीमा पनि सहजै साहित्य लेख्न सक्ने खुबी थियो उनमा ।

उनले अंग्रेजी भाषामा कृतिहरू रचना गरेर विश्वमा ख्याति कमाउँदै नोबेल पुरस्कार जित्ने सोच राखेका थिए । त्यतिबेलाको प्रविधि र परिस्थितिले त्यो सम्भव नभएपनि उनका विशिष्ट कृति आजपर्यन्त नेपाली साहित्य जगत मात्र होइन, विश्वमा समेत उल्लेखनीय छन् ।

देवकोटा अफ्रो-एसियाली साहित्य सम्मेलनमा भाग लिन तत्कालीन सोभियत संघको तासकन्द शहर पुगेका थिए । त्यहाँ उनले दिएको अंग्रेजी भाषणको आजसम्म पनि चर्चा हुने गरेको छ । दोस्रोपटक पनि उनी भारतको नयाँदिल्लीको सम्मेलनमा भाग लिन गएका बेला त्यतैबाट स्वास्थ्य उपचारका लागि सोभियत संघ पुगेका थिए ।

देवकोटाले अमेरिका भने पुग्ने अवसर पाएनन्, तर उनका कविताले भने सम्मानित ढंगले अमेरिका पदार्पण गरे ।

त्यसो त महाकविलाई मृत्युशय्यामा भेट्ने विश्वविख्यात साहित्यकारद्वय वेद मेहता र डम मोर्रेले आ–आफ्ना संस्मरणात्मक कृतिमा देवकोटासँगको भेट तथा अलिकति नेपाली साहित्यको चर्चा गरेर नेपाली साहित्यलाई विश्व समुदायमाझ पुर्‍याएका हुन् । अंग्रेजीभाषी संसारमा नेपाली साहित्यको चर्चा र महाकवि देवकोटा पुगेकै हुन् ।

महाकवि देवकोटाले आफ्नो जीवनकालमा अमेरिका आउने अवसर पाएनन् । तर उनका कविताले भने सम्मानित ढंगले अमेरिका पदार्पण गरे ।

झ्याउरे छन्दमा लेखिएको देवकोटाको सर्वाधिक लोकप्रिय र बिक्रीमा समेत कीर्तिमान राख्ने मुनामदन पनि धेरैवटा अंग्रेजी अनुवादमा आएको हो । अन्य भाषामा पनि आएको हो ।

तर सन् १९८० मा कोलम्बिया विश्वविद्यालय प्रेसले ‘नेपाली भिजन्स’, ‘नेपाली ड्रिम्स’, ‘द पोयट्री अफ लक्ष्मीप्रसाद देवकोटा’ प्रकाशित गरेपछि भने अमेरिकामा महाकवि देवकोटाको प्रतिभाको चर्चा हुन थाल्यो ।

यो पुस्तक अमेरिकाको कोलम्बिया विश्वविद्यालय प्रेसले प्रकाशित गर्नु ठूलो कुरा हो भने संयुक्त राष्ट्रसंघको युनेस्कोको नेपाली अनुवाद शृंखलामा स्वीकार्य हुनु सबैभन्दा ठूलो महत्वको कुरा हो । यो युनेस्कोको प्रतिनिधि कृति संग्रहमा समाविष्ट छ । यो आधुनिक एसियाली साहित्य शृंखला अन्तर्गत रहेको छ, जसको सम्पादकीय बोर्डमा क्याथलिन आर एफ वरिल, पियरे काचिया, सिटी सिया, बार्बरा स्टोलर मिलर, एडवार्ड सिडेस्टिकर मार्शा वैग्नर तथा डोनाल्ड कीन रहेका थिए ।

यो पुस्तक संसारका २१० विश्वविद्यालय र पुस्तकालयमा संग्रहित छ । यो कृतिलाई अनुवाद गरी देवकोटालाई चिनाउने उपन्यासकार डेभिड रूविन अमेरिकाको कनेक्टिकट राज्यका बासिन्दा हुन् । विशेषगरी उनी भारतीय साहित्यकार प्रेमचन्द, निराला आदिका कृति अंग्रेजीमा अनुवाद गरेर ख्याति कमाएका व्यक्तित्व हुन् ।

डेभिडलाई महाकवि देवकोटाप्रति चासो बढाउने काम कोलम्बिया विश्वविद्यालयका प्राध्यापक थियोडोर रिकार्डी जुनियरले गरेका थिए । उक्त पुस्तकका कविता अनुवादका लागि उनले महाकवि पत्नी मनदेवी देवकोटा र छोरा पद्मप्रसाद देवकोटाबाट अनुमति लिएका थिए । नेपालमा उनले यो पुस्तक अनुवाद र उनको जीवनीमूलक भूमिका लेखनका लागि महेशराज पन्त, डोरवबहादुर विष्ट लगायतबाट सहयोग प्राप्त गरेका थिए ।

डेभिडले यो पुस्तकमा देवकोटाका ४५ कविताको अनुवाद गरेका छन् । यस संग्रहमा उनको बहुचर्चित कविता ‘पागल’ समावेश गरेका छन् भने उनको अन्तिम कविता मानिएको ‘आखिर श्रीकृष्ण रहेछ एक’ पनि समावेश गरिएको छ ।

माइकल हटले ‘बुलेटिन अफ द स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडिज’मा यस किताबको समीक्षा गर्दै लेखे । पछिल्लो समय नेपाली संस्कृतिको विषयमा लेखिएका पुस्तकहरुमा नेपाली आधुनिक साहित्यलाई बेवास्ता गरिएको छ । रूविनको देवकोटामाथि लेखिएको नयाँ पुस्तकले सूचना, शैली तथा संरचनालाई ताजा रूपमा प्रस्तुत गरेको छ ।

यस पुस्तकको बारेमा क्याम्ब्रिज विश्वविद्यालयको प्रेसले अनलाइन माध्यमबाट प्रकाशन गर्ने जर्नल अफ द रोयल एसियाटिक सोसाइटीको अप्रिल १९८१ को अंकमा डीजेम्याथ्युजले समीक्षा गरेका छन् । नेपालमा पश्चिमाहरूको ध्यान आकृष्ट भएको, विभिन्न परियोजनाको सञ्चालनका लागि नेपाल जानेहरूले नेपाली भाषा सिकेको, तर यो देशको भाषाको महत्वपूर्ण साहित्यिक पक्ष कसैले चर्चा नगरेको बेलामा डेभिड रूविनले यो कृतिको अनुवाद गरेर आँखा खोलिदिएको उनले उल्लेख गरेका छन् ।

यो पुस्तकको समीक्षा गर्दै डा. तारानाथ शर्माले म्याडिसन विश्वविद्यालयले प्रकाशन गर्ने जर्नल अफ साउथ एसिएन लिटरेचरको सन् १९८४ को हिउँद–वसन्त अंक वर्ष १९, अंक १ मा लेखेका छन्, ‘रूविनको अनुवादको परिचय र देवकोटाको जीवन र रचनालाई प्रभाव पार्ने तत्वहरू एकदमै सही छन् ।’

तर उनले कविताको अनुवादको विषयमा भने आफ्नो असहमति प्रकट गर्दै उनले भनेका छन्, ‘पोयट्री निड नट वि लस्ट इन ट्रान्सलेसन (कविता अनुवाद गर्दा हराउनु हुन्न) ।’

सर्वप्रथम कोलम्बिया विश्वविद्यालय प्रेसले प्रकाशन गरेको यो पुस्तकपछि बेलायतबाट स्वतन्त्र प्रकाशनका रूपमा पनि प्रकाशित भएको देखिन्छ ।

डेभिड रूविनको निधन भइसकेको छ । नेपालका महाकविलाई चिनाउने उनले जुन काम गरे त्यसलाई नेपाली नागरिकले सधैं सम्झिरहनेछन् ।



source https://www.onlinekhabar.com/2021/11/1034169

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More