Wednesday, 1 January 2020

हात्तीमा क्षयरोग र क्यान्सर, गैंडामा पनि जोखिम !

१७ पुस, चितवन । गत पुस ८ गते सौराहाको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा पूजाकली नामको हात्तीको मृत्यु भयो । एक बर्षदेखि बिरामी रहेकी पूजाकलीको उमेर ३८ बर्षको मात्रै थियो । पूजाकलीले अहिलेसम्म झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिई ।

एशियन हात्तीको औसत आयु ६० बर्षसम्मको हुन्छ । तर, गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा धेरै बाँचेको हात्तीको उमेर ८६ वर्ष अंकित छ ।

पूजाकलीको मृत्यु के कारणले भएको हो भन्ने कुराको भेउ अझैसम्म निकुञ्जका पशु चिकित्सकले पाउन सकेका छैनन् । पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएकी थिई । उपचार गराउन पनि मुस्किल थियो, मान्दैनथी ।

हात्तीमा हुने टीबीका बारेमा अनुसन्धान गरिरहेका कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनका पूर्वउपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल निकुञ्जमा रहेका २५ प्रतिशत हात्तीमा टीबी भएको बताउँछन् । केही बर्षअघि गरिएको सर्वेक्षणमा यस्तो पाइएको उनको भनाइ छ ।

निकुञ्जका हात्तीहरु धमाधम मर्न थालेपछि संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ

हात्तीमा टीबी भएमा दुब्लाउँदै जाने, नखाने र अन्त्यमा मर्ने प्रा.डा. ढकाल बताउँछन् ।

पूजाकलीको उपचारमा लाखौं खर्च गरे पनि रोग भने पत्ता नलागेको उनको भनाइ छ । ‘क्षयरोगको आंशकामा उपचार त गरियो, तर प्रभावकारी भएन’ पशु चिकित्सक श्रेष्ठले भने, ‘यही नै हो भन्न सक्ने अवस्था छैन ।’

चिकित्सकहरुका अनुसार हात्तीमा लाग्ने क्षयरोग परीक्षणका लागि किट पाउन निकै मुस्किल छ ।

प्रजनन् केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार पूजाकलीको शरीरका भित्री अंगहरु कलेजो, फोक्सो आदि कुहिएका छन् ।

पुस ८ गते मृत्यु भएको पूजाकलीको शरीरका भित्री अंगहरु निकालेर अहिले चेकजाँचका लागि पठाउने तयारी गरिएको निकुञ्जका बरिष्ठ चिकित्सक बिजय श्रेष्ठले बताए ।

निकुञ्जमा अहिले ६२ हात्ती छन् । सबैभन्दा धेरै हात्ती प्रजनन् केन्द्रमा २०, कसरामा ६, सौराहा पूर्वी सेक्टरमा १०, पियारी ढापमा २, जनकपुर पोष्टमा २, सुकिभारमा २, बगईमा २, अमृते पोष्टमा २, खोरसोरमा १, खोरीया मुहानमा २, बाघमारामा १, नवलपरासीको सिसुवारमा २, गिभिनी पोष्टमा २, दिब्यपूरीमा २, लामिचौरमा १ र कोशीटप्पुको दरबन्दी रहेका ५ हात्ती छन् ।

बढ्दो मृत्युदर

निकुञ्जका हात्तीहरु धमाधम मर्न थालेपछि संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले दिएको जानकारीअनुसार सन् २०१४ सम्म क्षयरोगको संक्रमणका कारण निकुञ्जका र निजी गरी १५ हात्ती मरेका थिए । त्यसपछि हात्तीहरुमा परीक्षण गराएर औषधी खुवाउने गरिएको थियो । त्यसयता केही बर्ष संक्रमणले हात्ती मरेका थिएनन् । तर, पछिल्लो समयमा भने हात्तीमा पुनः क्षयरोग संक्रमणको दर बढेको पाइएको छ ।

पूजाकलीसहित यो बर्ष निकुञ्जका तीन हात्तीको मृत्यु भएको छ । गत साउन ६ गते ५५ बर्षको भोलाप्रसाद र असोज १० गते ६० बर्षको मोतिप्रसादको निकुञ्ज पूर्वी सेक्टर सौराहामा मृत्यु भयो । अघिल्लो वर्ष पुस २५ गते शम्शेरकली नामको हात्तीको मृत्यु भएको थियो । ०७३ र ०७४ सालमा कुनै पनि हात्ती मरेनन् । त्यसअघि ०७२ सालमा उमाकली नाम गरेको हात्ती क्षयरोगका कारणले मरेको थियो ।

हात्ती प्रजनन केन्द्रका प्रमुख बुधन चौधरी अधिकांश हात्तीको मृत्यु क्षयरोग र क्यान्सरबाट भएको बताउँछन् । प्रमुख चौधरीका अनुसार मोतिप्रसादमा टीबी र क्यान्सर दुबै थियो । भोलाप्रसादलाई पनि टीबी र हड्डीको क्यान्सर लागेर मृत्यु भएको उनको भनाइ छ । अहिले पनि हात्ती प्रजनन् केन्द्रका दुईवटा हात्तीमा टीबी पहिचान गरेर उपचार गराइराखेको चौधरीले अनलाइनखबरलाई बताए ।

महंगो उपचार पद्दति

‘हात्तीमा लागेको टीबीको उपचार असाध्यै महंगो छ, उपचार खर्च धान्न सक्ने अवस्था नै छैन’ प्रा.डा. ढकालले भने, ‘एउटा हात्तीको टीबीको उपचार गराउँदा ४ हजार डलर खर्च हुन्छ ।’

क्षयरोग लागेको हात्तीलाई एक बर्षसम्म अन्य हात्तीसँग नमिसाई उपचार गर्नुपर्ने विज्ञहरुको धारणा छ । संक्रमण देखिएका हात्तीलाई अरु हात्तीभन्दा एकान्तमा राख्ने, उपचार गर्ने र सामान्य गस्ती बाहेक अन्य काम लगाइँदैन ।

क्षयरोगको संक्रमण देखिएपछि ६० बर्षको रुपकली, १९ बर्षको विक्रमप्रसाद र २७ बर्षको सौर्यमालालाई औषधी खुवाइएको थियो । तीनवटै हात्तीमा औषधीको कोर्ष पूरा भएको छ । रुपकलीलाई बेल्सार पोष्टमा अलग्गै राखेर उपचार गरिएको थियो । हात्ती प्रजनन् केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार अहिले यी तीनबटै हात्ती क्रमिकरुपमा स्वस्थ हुँदैछन् ।

सौराहामा निजी हात्ती ६० वटा छन् । निजी हात्ती पाल्नेहरुको संस्था युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले निजी हात्तीमा अहिले क्षयरोगको संक्रमण नभएको दाबी गरे । तर, ८ वटा हात्तीमा संक्रमण देखिएपछि विगतमा औषधी खुवाए पनि अहिले सबै हात्ती स्वथ्य रहेको अध्यक्ष तिवारीले बताए ।

निजी हात्ती पाल्ने व्यवसायीहरुले आफ्नै खर्चमा अमेरिकाबाट कीट ल्याएर परीक्षण गराएको तिवारीले बताए । एउटा हात्तीको उपचारका लागि ६ देखि ८ लाखसम्म खर्च भएको उनले जानकारीले दिए ।

निकुञ्जभित्र चराउन लैजान रोकिएकाले हात्तीको स्वास्थ्य कमजोर बन्ने गरेको तिवारीको गुनासो छ ।

गैंडामा पनि जोखिम !

हात्तीलाई हुने क्षयरोग गैंडालाई समेत भएको आंशका गरिएको छ । गैंडाको अस्वाभाविक प्राकृतिक मृत्यु बढ्दै जानुमा क्षयरोग वा अन्य कुनै रोगको संक्रमण भएको हुन सक्ने पशु चिकित्सकहरु बताउँछन् ।

चितवन निकुञ्जको दुर्लभ एकसिङ्गे गैँडामा ०७२ सालमा पहिलोपटक क्षयरोग पुष्टि भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।

चितवन निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने अमलटारीमा ०७१ फागुन ५ गते कालगतिले मरेको पोथी गैँडाको नमूना जापान पठाएर गरिएको परीक्षणमा क्षयरोग भएको पुष्टि भएको वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेले अनलाइनखबरलाई जानकारी दिए ।

जंगलका गैँडामा यसरी क्षयरोग पुष्टि भएको यो नै पहिलो घटना हो । बर्षेनी कारण पत्ता नलागी झण्डै आधा दर्जनभन्दा बढी गैंडा मर्ने गरेका छन् । गैंडामा क्षयरोगको संक्रमण हुँदा त्यसले बढी क्षति गराउन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ४३ वटा गैंडाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा ६५.४ प्रतिशतले बढी हो । आर्थिक बर्ष ०७५/०७६ मा २६ गैंडा प्राकृतिक कारणले मरेका थिए ।

अधिकांश गैंडाको मृत्युको कारण पत्ता लाग्न सकेको छैन । गत बर्ष मरेका ४३ गैंडामध्ये २३ वटा गैंडा के कारणले मरे भनेर थाहा हुन नसकेको निकुञ्जका अधिकारी बताउँछन् ।

गैंडाहरु संक्रमण भएर, जुधेर, बुढो भएर, करेन्ट लागेर, दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर र गोहीले हानेर पनि मर्ने गरेका छन् ।

जनावर र मान्छे दुबैमा संक्रमण

मान्छेबाट पशुमा र पशुबाट मान्छेमा पनि क्षयरोग सर्ने भएकाले क्षयरोग लागेका हात्तीलाई अलग्गै राख्ने गरिएको अधिकारीहरु बताउँछन् ।

हात्तीका माहुतेहरुलाई पनि क्षयरोगको संक्रमण हुने गरेको छ । यसअघि टेकबहादुर श्रेष्ठ नाम गरेका माहुतेलाई क्षयरोग भएपछि औषधी खुवाइएको थियो । अहिले भने कुनै पनि माहुतेमा क्षयरोगको संक्रमण छैन ।

यसअघि, सन् २००२ बाट संक्रमण देखा पर्न थालेको भए पनि अनुसन्धान गरी रोगको पहिचान गर्न सन् २००७ सम्म लागेको थियो । सन् २००७ यता ६१ वटा हात्तीलाई क्षयरोग संक्रमणविरुद्धको औषधि खुवाइएको थियो ।



source https://www.onlinekhabar.com/2020/01/825252

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More