Sunday, 5 January 2020

कांग्रेस संस्थापनइतरले जिल्ला सभापतिलाई बोलायो, भावी रणनीतिबारे छलफल गर्ने

२१ पुस, काठमाडौं । कांग्रेस नेतृत्वलाई दबाब दिने रणनीति तय गर्न संस्थापनइतर समूहले सोमबार जिल्ला सभापतिहरुको भेला आयोजना गरेको छ । भेला बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ ।

कांग्रेस केन्द्रीय समितिको ११ पुसको बैठकले बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या दोब्बर बनाउनेलगायतका निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेर छलफल गर्न लागेको हो ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीमा भइरहेको पछिल्लो अवस्थाबारे जानकारी गराउन र अब कसरी अगाडि बढ्ने भनेर सुझाव लिन जिल्ला सभापतिहरुसँग छलफल गर्न लागिएको बताए । ‘पार्टीलाई कसरी सशक्त बनाउने भनेर परामर्श गर्छौं,’ उनले भने ।

११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् । नेतृत्वसँग कुरा नमिलेपछि संस्थापनइतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो ।

सहमतिको प्रयासमा संस्थापन र पौडेल पक्षबीच पटक–पटक वार्ता भए पनि नेताहरु निष्कर्षमा पुग्न सकेका छैनन् । विवाद साम्य नभएपछि युवा नेताहरुले देउवा र पौडेल पक्षलाई छुट्टाछुट्टै भेटेर समस्या सुल्झाउन दबाबसमेत दिएका थिए ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जिल्ला सभापतिहरुसाग ‘परामर्श भेला’ गर्न लागिएको र भेलाको सुझावका आधारमा अगाडि बढ्ने बताए । ‘पार्टी महाधिवेशनको सुनिश्चितता, विश्वसनीयता, सबैको सहभागीता र सहमतिबाट पार्टीलाई कसरी चलाउने भन्ने कुरा मुख्य हो,’ जोशीले भने, ‘हामी जिल्ला सभापतिहरूसँगको परामर्शअनुसार अगाडि बढ्छौं ।’



source https://www.onlinekhabar.com/2020/01/826199

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More