Thursday, 9 January 2020

बालबालिकाको रिस, अभिभावकको द्विविधा

हिजोआजका बालबालिकाहरुलाई कुनै कुरा सम्झाउँदा अथवा उनीहरुले कुनै कुरा बिगारे भनेर हल्का कराउँदा उनीहरु धेरै दिनसम्म आफ्नो अभिभावकहरुसँग नबोल्ने, खाना नखाने, आफ्नो कोठामा ढोका लगाएर बस्ने र यहाँसम्म कि कसैले गाली सहन नसकेर आत्महत्या नै गर्ने गरेको समेत पाइएको छ ।

केही समय अगाडि एक १० वर्षीय बालकले आफ्नो स्कूलमा शिक्षिकाले आफूलाई आफ्ना साथीहरुलाई जस्तै माया नगर्ने र घरमा पनि आमाबुबाले आफूलाई त्यति माया नगर्ने भनेर चिठ्ठी लेखेर नै आत्महत्या गरेका थिए । त्यस्ता धेरै घटनाहरु हिजोआज समाचारहरुको हेडलाइन बन्ने गरेका छन् । बालबालिकालाई आफूले भनेको कुरा नपुग्दा, साथीभाइहरुका अगाडि आफ्नो बेइज्जत भएको अनुभव गर्दा, घरपरिवारमा सानो मनमुटाव हुँदा गरिएको गालीका कारण आत्महत्या जस्तो जघन्य अपराधलाई रोज्ने गर्छन् ।

यस प्रकारको घटनाहरुले आजका युवा र किशोर बालबालिकाहरुको मनमा चलेको आँधीबेरी र अभिभावकप्रतिको बिद्रोहको भावनाहरुको खुलासा गर्छ । यस्ता घटनाहरु केवल एक दिनको रिस, गाली अथवा तनावका कारण हुँदैन । यस्ता घटना त धेरै दिनदेखि मनमा उत्पन्न भएका हुन्छन् । आफ्नो अभिभावकप्रतिको लामो समयदेखिको रिसको भावनाहरु र विभिन्न किसिमका तनावहरुलाई एक दिनको गालीले त्यसमा आगो लगाउने काम गर्छ ।

केही महिनाअघि एक दश वर्षीय बालकले आत्महत्या गर्नुको पछाडि उनलाई उनका बुबाले गाली गर्नु मात्र प्रमुख कारण नहुनसक्छ । बरु, उनको मनमा धेरै दिनदेखि चलिरहेको अन्र्तद्वन्द्वले मुख्य भूमिका निर्वाह गरेको हुनुपर्छ । बुबाको व्यवहारप्रति लामो समयदेखिको चित्त दुखाईको भावना पनि हुनुपर्छ । परिणाम के भयो भने बुबाको एउटा सानो गालीले नै उनलाई आत्महत्या जस्ता जघन्य अपराध गर्न बाध्य बनायो ।

बालबालिकाहरु आफ्ना अभिभावकसँग रुष्ट हुनुमा अभिभावकहरुको मात्र दोष हुन्न न त बालबालिकाहरुकै दोष हुन्छ । एउटा पिताले जबसम्म आफ्नो बच्चाको जिन्दगी उसैको हो भन्ने कुरा स्वीकार गर्दैनन् । भविष्यको जिम्मेदारी पनि उसैको भन्ने कुरामा बुझ्दैनन् । तबसम्म यो समस्या समाधान नै हुँदैन । अभिभावक हुनुका नाताले बुबा अथवा आमाले बच्चाहरुलाई सही दिशा देखाउन सक्छन्, उनीहरुलाई सम्झाउन सक्छन् । तर, उनीहरुको जिन्दगीमा आफ्नो नियन्त्रणमा राख्न सक्दैनन् ।

त्यसैले बालबालिकाहरुलाई आफ्नो जिन्दगी उनीहरुकै हिसाबले बाँच्न दिनुपर्छ । उनीहरुलाई एउटा अभिभावकको रुपमा आफ्नो हिसाबले चलाउने प्रयास नगर्दा नै राम्रो हुन्छ । उनीहरुलाई आफ्नो निर्णय आफैंले लिने मौका प्रदान गर्नुपर्छ । उनीहरुमाथि कठोर अनुशासन थोपर्नुको साटो कहिलेकाहीँ धक्का-मुक्का खान दिनुपर्छ । ताकि उनीहरु आफ्नो गल्तीबाट आफैंले केही कुरा सिकून् ।

कहिलेकाहीँ उनीहरुको भावनालाई बुझ्ने प्रयास गर्नुपर्छ । उनीहरु आजको समयका हुन् । उनीहरुको सोचलाई प्रारम्भमै नकार्नु हुँदैन । बरु समयसँगै अगाडि बढ्न दिनुपर्छ । सही-गलतको सामान्य अन्तरलाई भने बुझाउनुपर्छ । तर, उनीहरुलाई उनीहरुकै तरिकाले बाँच्नबाट रोक्नु हुँदैन । अन्यथा, एउटा असन्तुष्टिको भावनामा गहिरिँदै जान्छ ।

अमेरिकामा गरिएको एउटा अध्ययन अनुसार ११ देखि १२ वर्ष उमेरका बच्चाहरुका अभिभावकहरु सबैभन्दा एक्ला तथा चिन्तित पाइएका छन् । त्यो उमेरमा अर्थात् टिनएजको प्रारम्भमा आमाले आफ्ना सन्तानका कारण सबैभन्दा बढी तनावले गुज्रनु परेको छ । एउटी आमालाई त्यो बेला धेरै दुःख लाग्दैन, जब बच्चाहरुले आफ्नो अलग्गै घर बनाउँछन् । दुःख त त्यो बेला हुन्छ जब उनीहरुले मानसिक तथा भावनात्मक दुरी नै महसुस गराउँछन् ।

किशोरावस्थाको क्रममा बच्चा तथा आमा-बुवाको बीचको सम्बन्ध निकै नै नाजुक तरिकाले अघि बढिरहेको हुन्छ । त्यो समयमा जहाँ बच्चाहरुले नयाँ-नयाँ कुराहरुको अनुभव हाँसिल गरिरहेका हुन्छन् । त्यहीँ भावनात्मक उथलपुथल समेत हाबी भइरहेको हुन्छ । उक्त उमेरमा बच्चाहरुमा हजारौं प्रकारका हार्मोनहरु परिवर्तन भइरहेका मात्र हुँदैनन् । उनीहरु उग्र तथा आफ्नो निर्णय आफैं गर्न समेत थालिसकेका हुन्छन् ।

उनीहरुमा स्वयंलाई प्रमाणित गर्ने तथा आफ्नो व्यक्तित्वलाई निखार्ने जिद्दीपना हाबी भएको हुन्छ । विपरित लिंगीप्रतिको आकर्षण पनि समानान्तर रुपले बढिरहेको हुन्छ । त्यस्तो बेलामा आफ्ना बच्चाहरुको दिमागमा के चलिरहेको छ भन्ने कुरा बुझ्नु भयो भने मात्र स्थितिलाई समाधान गर्न सहज हुनेछ ।



source https://www.onlinekhabar.com/2020/01/827434

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More