Wednesday, 8 January 2020

फेसबुक सीईओ जुकरबर्गले ट्रम्पलाई भने– तपाईं नम्बर वान

गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुक सीईओ मार्क जुकरबर्गबीच डिनरसहितको भेटवार्ता भयो ।

जुकरबर्ग र ट्रम्पबीचको डिनर मिटिङबारेमा खबर सार्वजनिक भए पनि भेटवार्तामा दुई जनाबीच के कुराकानी भयो ? र, भेटवार्ताको उद्देश्य के थियो ? भन्ने बारेमा केही पनि सार्वजनिक गरिएको थिएन ।

यसैबीचमा ट्रम्पले जुकरबर्गसँगको भेटवार्तामा भएको कुराकानी बारेमा गज्जबको खुलासा गरेका छन् ।

भेटवार्ताका क्रममा जुकरबर्गले ‘तपाईं नम्बर वान’ भन्दै आफूलाई बधाई दिएको ट्रम्पले खुलासा गरेका छन् ।

अमेरिकी राष्ट्रपति अर्थात् विश्वको सबैभन्दा शक्तिशाली मुलुकको नम्बर वान व्यक्ति ट्रम्पलाई नम्बर वान भनिनु कुनै नौलो कुरा भएन । तर जुकरबर्गले फरक कारणले ट्रम्पलाई नम्बर वान भनेका रहेछन् ।

एउटा रेडियो अन्तर्वार्ताका क्रममा ट्रम्पले भनेका छन्, ‘तपाईं फेसबुकमा नम्बर वान हुनुभएकोमा बधाई दिन चाहन्छु भनेर जुकरबर्गले मलाई बधाई दिए ।’

तर जुकरबर्गले ट्रम्पलाई फेसबुकमा नम्बर वान के आधारमा भनेका हुन् भन्ने कुरा प्रष्ट छैन । ट्रम्पको आधिकारिक फेसबुक पेजमा यो समाचार तयार पार्दासम्म २ करोड ६७ लाख फलोअर्स छन् भने २ करोड ५२ लाखले लाइक गरेका छन् ।

जबकी फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको फेसबुक पेजमा सबैभन्दा बढी अर्थात् १२ करोड ३० लाख फलोअर्स छन् भने १२ करोड २२ लाखले लाइक गरेका छन् । यस आधारमा फेसबुकमा सर्वाधिक लोकप्रियताको सूचीमा नम्बर वान व्यक्ति ट्रम्प नभई रोनाल्डो हुन् ।

नम्बर वान त कहाँ हो कहाँ तथ्यांकलाई आधार मान्दा ट्रम्पको फेसबुक पेज लोकप्रियताको टप ट्वान्टीभित्र पनि पर्दैन ।

ट्रम्पसँगको भेटवार्ताका विषयमा गत वर्ष जुकरबर्गलाई पनि सोधिएको थियो । तर उनले यस विषयमा खुलाउन चाहेनन् । ट्रम्पसँगको भेटवार्ताका क्रममा विविध विषयमा कुराकानी भएको बताए पनि उनले प्रष्ट रुपमा के–के विषयमा कुरा भए भन्ने कुरा बताएका छैनन् । जुकरबर्गले भनेका थिए, ‘उनको मनमा रहेका विभिन्न कुराहरूको विषयमा हामीबीच छलफल भयो । साथै तपाईंहरूले समाचारमा पढिसकेका विषयमा पनि हामीबीच कुराकानी भएको छ ।’

हालैको एक रिपोर्ट अनुसार, ट्रम्प सोसल मिडिया, खासगरी ट्विटरमा निकै सक्रिय रहेको देखिएको छ । सन् २०१९ मा उनले ७ हजार ७ सय पटक ट्विट गरेका छन् । जुन दैनिक औसतमा २१ वटा ट्विट हुन्छ । गत डिसेम्बर २२ तारेखचाहिँ ट्रम्पको ट्विटर खाता सबैभन्दा व्यस्त रह्यो । त्यस दिन उनले २४ घण्टाको बीचमा १ सय २३ वटा ट्विट गरे । जबकि सन् २०१८ को वर्षैभरि ट्रम्पले जम्मा ३ हजार ६ सय वटा ट्विट गरेका थिए ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/01/827182

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More