Saturday, 4 January 2020

इरानका ५२ स्थानमा आक्रमण गर्ने अमेरिकाको धम्की

२० पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका छन् ।

यसअघि टम्पले युद्ध सुरु गर्न नभएर त्यसको अन्त्यका लागि बग्दादस्थित विमानस्थलमा गरिएको आक्रमणमा इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएको प्रतिक्रिया दिएका थिए । तर, त्यसको भोलिपल्टै उनले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका हुन् ।

इरानले सुलेमानी हत्याको उचित बदला लिने धम्की दिएसँगै ट्रम्पले अमेरिकी जनता र सम्पत्तिमाथि आक्रमण भए इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका हुन् ।

यसअघि आफ्ना सैन्य कमान्डर अमेरिकी हवाई आक्रमणमा मारिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीले अमेरिकासँग उचित बदला लिने चेतावनी दिएका थिए ।

‘आफ्ना सैन्य कमान्डरको मृत्युपछि इरानले अमेरिकी सम्पत्तिमाथि निशाना बनाउनेबारे साहसपूर्वक कुरा गरिरहेको छ’, ट्रम्पले टि्वटरमा लेखेका छन्, ‘यदि त्यसो भएमा इरानका ५२ क्षेत्र अमेरिकाको तारो बन्ने छन् ।’

त्यस्ता ५२ क्षेत्र इरानले केही वर्ष पहिले नियन्त्रणमा लिएका आफ्ना नागरिकहरूको प्रतिनिधित्व हुनेगरी सूचीकृत गरिएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले त्यस्ता ५२ क्षेत्र कुन-कुन् हुन् भनेर विस्तारमा नखुलाए पनि इरान र यसको संस्कृतिका लागि ती महत्त्वपूर्ण रहेको बताएका छन् । यद्यपि, ट्रम्पले अमेरिकाले अन्यबाट कुनै पनि चेतावनी नचाहेको बताएका छन् ।

शुक्रबार इराकको बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी इरानी सैन्य कमान्डर सुलेमानी मारिएका थिए । केही घाइते भएका छन् । यो प्रकरणसँगै दुई देशबीच चेतावनी र धम्कीको शृंखला चलिरहेको छ । मध्यपूर्वमा यो घटनाले अशान्ति निम्तिने खतरा बढेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।



source https://www.onlinekhabar.com/2020/01/825927

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More