Thursday, 9 January 2020

क्यानडाका प्रधानमन्त्रीले भने– विमान मिसाइलले खसालेको हो, छानबिन हुनुपर्छ

२५ पुस, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले इरानी मिसाइलका कारण तेहराननजिकै विमान दुर्घटना भएको हुनसक्ने बताएका छन् । विभिन्न गुप्तचरी स्रोतहरूबाट यस्तो संकेत मिलेको उल्लेख गर्दै उनले यसबारे छानबिन गर्न माग गरेका छन् । यसमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायतले पनि सहमति जनाएका छन् ।

युक्रेन इन्टरनेशनलको विमान इरानले इराकस्थित अमेरिकी हवाई अखडामा हमला गरेको केही घण्टापछि नै गत बुधबार दुर्घटना  भएको थियो । तेहरानस्थित इमाम खुमेनी विमानस्थलनजिकै भएको दुर्घटनामा १ सय ७६ जनाको मृत्यु भएको थियो । जसमा क्यानडाका मात्रै ६३ नागरिक थिए ।

अमेरिकाले इरानका कारण विमान दुर्घटना भएको आरोप लगाए पनि इरानले यसको खण्डन गरेको थियो । विमान विशुद्ध प्राविधिक कारणले दुर्घटना भएको उसको भनाइ थियो ।

तर, क्यानडाका प्रधानमन्त्री ट्रुडोले प्राविधिक कारणले नभएर इरानको कमजोरीका कारण विमान दुर्घटना भएको तथ्यहरू भेटिएको बताएका छन् । यद्यपि उनले यसको प्रमाणबारे भने प्रष्ट पारेका छैनन् ।

‘युक्रेनको विमान इरानको जमिनबाट हावामा हानिने मिसाइलका कारण दुर्घटना भएको हुनसक्ने आधारहरू देखिएका छन्’, ट्रुडोले भनेका छन्, ‘यो कसरी भयो भन्नेबारे अनुसन्धान हुनुपर्छ ।’

ट्रुडोको भनाइमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि सहमति जनाएका छन् ।



source https://www.onlinekhabar.com/2020/01/827392

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More