Sunday, 5 January 2020

ताङतिङ शीरमा वैशाखमा पर्यटन महोत्सव

२१ पुस, पोखरा । मादी गाउँपालिकाले पर्यटन वर्षलाई सघाउन हिउँमा पर्यटन महोत्सव गर्ने भएको छ । मादी २ ताङतिङको शीरमा रहेको क्रपु डाँडामा वैशाख १ देखि १० गतेसम्म महोत्सव गर्ने घोषणा गरेको हो ।

समुद्री सतहदेखि ३ हजार ८५ मिटर उचाइमा पर्ने क्रपु डाँडामा गरिने महोत्सवले मादीको मात्रै नभइ समग्र देशको पर्यटन प्रचार हुने मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ बताउँछन् ।

स्थानीय गुरुङ भाषामा क्रपुको अर्थ शीर हुन्छ । क्रपु डाँडासम्म पुग्न कच्ची रोडको हुँदै जानुपर्छ । पैदलयात्रीमा रुचि राख्नेलाई ताङतिङदेखि करिब ३ घन्टा हिँड्नुपर्ने स्थानीय जनाउँछन् ।

गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्षको अवसर पारेर पर्यटन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले जनाए । उनले भने, ‘गाउँपालिकाको ४० औं बैठकले २ सय ५१ सदस्यीय आयोजक समिति र १ सय १ सदस्यीय सल्लाहकार समिति गठन गरिसकेका छौं र त्यही अनुसार प्रक्रिया पनि सुरु गरिसकेका छौं,’ उनले भने ।

क्रपु डाँडाबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला, धौलागिरिलगायतका हिमशृंखला देख्न सकिन्छ । वैशाखमा हिउँमात्रै नभई क्रपु डाँडामा धेरै प्रजातिका गुराँस पनि फुल्ने भएकाले दर्शकलाई त्यसले अझै आकर्षित गर्ने दाबी गाउँपालिका उपाध्यक्ष विष्णुमाया पौडेल आचार्यको छ ।

‘महोत्सवमा हिउँ स्केटिङ गर्ने, बाइक रेस, साइकल, स्थानीय संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, प्याराग्लाइडिङ, छेलोलगायत कार्यक्रम गर्ने योजना बनाएका छौं,’ उपाध्यक्ष आचार्यले भनिन्, ‘महोत्सवकै अवसर पारेर ३५ किलोमिटर राष्ट्रियव्यापी म्याराथन पनि गर्ने योजना छ ।’

ट्रेकिङ एजेन्सी एसोसियसन (टान) गण्डकी प्रदेश अध्यक्ष हरि भुजेलले खर्पुमा हुने महोत्सवले पदयात्रीलाई पनि धेरै सहयोग पुर्‍याउने विश्वास राखे । उनले नेपाल भ्रमण वर्षको अवसर पारेर मादीकै खर्चु, दूधपोखरी हुँदै मनाङसम्म ट्रेकिङ पुर्‍याउने योजनामा रहेको सुनाए ।

‘ट्रेकिङ भन्नाले सबैको दिमागमा माउन्ट एभरेस्ट र अन्नपूर्ण आउँछ । तर हामी त्यो भ्रम चिर्न तयार छौं,’ उनले भने, ‘अब हामी नयाँ नयाँ ट्रेकिङ रुट पत्ता लगाउने र भ्रमण वर्षलाई सघाउने गरी धेरै योजना अघि सारेका छौं ।’ उनले पोखरा महानगर र मादी गाउँपालिका जोड्ने ट्रेकिङ रुटका लागि पनि पहल गरिरहेको जानकारी दिए ।

महोत्सव मुल आयोजक समिति संयोजकमा गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ छन् भने सल्लाहकार समिति संयोजकमा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सांसद खगराज अधिकारी छन् ।



source https://www.onlinekhabar.com/2020/01/826223

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More