Saturday, 11 April 2020

लकडाउनले नछोएको एउटा इँटा उद्योग

३० चैत, जनकपुरधाम । लकडाउनको समयमा पनि धनुषाको एक इँटा उद्योग भने पहिला जस्तै संचालनमा छ ।

शहीद नगरपालिका ९ स्थित गोपाल इँटा उद्योगमा हिजोआज पनि झण्डै चार सय कामदार काम गरिरहेका छन् ।

यहाँ काम गर्ने मजदूरले मास्कसमेत लगाएका छैनन् भने कोरोना भाइरसबाट जोगिन महत्वपूर्ण मानिने सामाजिक दूरी कायम पनि गरेका छैनन् । धेरैजना सँगै माटो मुछिरहेका छन् भने कोही इँटा सुकाउन ब्यस्त छन् ।

अधिकांश भारतीय नागरिकले काम गर्ने यो इँटा उद्योगमा एक सय ५० भन्दा बढी गोरखपुरका छन् । झण्डै ६ महिनादेखि यी मजदूर यहाँ काम गर्दै आएका छन् ।

काम नगरे खाना नै नदिने चेतावनी

इँटा उद्योगमा काम गर्ने भारत गोरखपुरका सरिता भुनियाँलाई लकडाउनबारे जानकारी छ । यो समयमा बाहिर ननिस्केर घरभित्रै बस्नुपर्नेबारे सुने पनि उनी काम गर्न बाध्य छिन् । उनले भनिन्, ‘काम नगरे मालिकले खान पनि नदिने भनेका छन् ।’

उक्त इँटा उद्योगमा काम गर्ने मधुकर पासवानले पनि यस्तै बाध्यता सुनाए ।

‘छोराछोरी हामीसँगै छन्, उनीहरुलाई खाना दिनैपर्‍यो’ भारतीय मजदुर तिरिसा साहले भनिन्, ‘आफू त भोको पनि बस्न सक्छौं, तर छोराछोरीको पेट भर्नका लागि भए पनि काम गर्नुपरिरहेको छ ।’

उद्योग सञ्चालक बृजमोहन यादव लकडाउनका कारण मजदुरहरु घर पनि जान नसक्ने भएकाले काममा लगाएको बताए । ‘लक डाउनको समयमा आफ्नो घर पनि जान सक्दैनन्, यहाँ बसे भींड बढाउँछन्’ उनले भने, ‘त्यहीं भएर काममै लगाएको छु ।’

लक डाउनको समयमा निर्वाध रुपमा इँटा उद्योग सञ्चालन भएको सन्दर्भमा स्थानीय सरकारले कुनै चासो लिएको छैन ।



source https://www.onlinekhabar.com/2020/04/853699

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More