२० चैत, काठमाडौं । फागुन २२ गते अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत ३ गतेदेखि सञ्चालन गर्ने गरी उपमेयर कप महिला राष्ट्रिय लिगको खेल तालिका सार्वजनिक गरेको थियो ।
त्यतिबेलासम्म विश्वभर फैलिएको कोरोना भाइरस महामारीको त्रासले नेपाललाई पनि छोपिसकेको थियो । कोरोना महामारीकै कारण क्रिस गेललगायत स्टार खेलाडी आउने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट पनि फागुन २२ गते नै स्थगितको घोषणा भयो ।
फागुन २२ गते नै साँझ अबेर युवा तथा खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषद्बाट सम्पूर्ण खेलकुद गतिविधि रोक्न खेल संघहरुलाई निर्देशन गयो ।
एन्फाले त्यसको भोलिपल्ट फागुन २३ गते महिला लिग स्थगितको घोषणा गर्यो ।
चैत ३ देखि १३ गतेसम्म धरानमा राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल हुने तालिका थियो । जसमा तीन विभागीय र उपमेयर कप महिला लिगमा उत्कृष्ट चार स्थान हात पारेका नगरपालिकाका टोली गरी ७ टोलीले प्रतिस्पर्धा गर्दै थिए ।
यस पटक महिला लिग डबल राउण्ड रोविन लिगमा आयोजना हुँदै थियो । विजेताले नगद १५ लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले घोषणा गरेको थियो ।
तर कोरोना भाइरसको कारण तत्कालका लागि यो सबै उत्साह टरेको छ । अहिल मुलुकमा लकडाउन छ, खेलाडीहरु खेलविहीन बनेका छन् ।
राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी एपीएफकी खेलाडी रेनुका नगरकोटी कोरोना महामारीका कारण अन्योल भएको बताइन् । ‘राष्ट्रिय महिला लिग हुने तयारी भइरहेको थियो । यो पटक राम्रो प्राइज मनि थियो, त्यसैले सबै जना उत्साहित थिए । तर अब फेरि कहिले हुन्छ थाहा छैन’ उनले निराशा व्यक्ति गरिन् ।
राष्ट्रिय लिग खेल्ने नगरपालिकाका टिमहरु पनि यो वर्ष दुई चरणको छनोट पार गरेर आएका थिए । विदेशी खेलाडी राख्न पाउने व्यवस्था पनि थियो । त्यसैले विभागीय टीमहरु यस पटक विपक्षी टीम बलियो हुने अनुमानसहित तयारीमा थियो । उनको टीम एपीएफले पनि तयारी गरिरहेको थियो । तर कोरोनाले गर्दा त्यो तयारी पनि काम लागेन ।
यो त भयो अलि अगाडिको कुरा । अहिले झन् कठिन स्थिति आएको छ । सरकारले चैत ११ गतेदेखि अस्पताल र अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । यो क्रम चैत २५ गतेसम्मका लागि तोकिएको छ । लकडाउनको अवधि अझै बढ्ने अनुमान पनि छ ।
लकडाउनका कारण घरमै थुनिएका खेलाडी आफ्नो फिटनेस कायम राख्न केही अभ्यास त गर्दैछन्, तर यो पर्याप्त हुँदैन । एपीएफको जागिरे रेनुका अहिले काठमाडौंमै लकडाउन दैनिकी बिताइरहेकी छिन् । घर पनि जान पाइनन् । लकडाउनकै बेला पनि कतै ड्युटी पर्ने हो कि भनेर स्ट्याण्ड बाई पोजिसनमै छिन् ।
रेनुकाको रुममेट फुटबलकै मनमाया लिम्बु थिइन् । तर मनमाया करारमा भएकोले उनी घर गइन् । त्यसपछि रेनुका एक्लै छिन् । तर साथीहरु नजिक नजिकै बस्ने भएकोले उनलाई धेरै समस्या भने छैन । ‘टाइम पास भइराछ । बिहान र बेलुका हल्का एक्सरसाइज गर्छौं । अनि फोन चलायो बस्यो’ उनले भनिन् ‘अहिले भोक धेरै लाग्छ त्यसैले के के मन लाग्छ बनाउने खाने खाने ।’

काठमाडौंमा धेरै फुर्सदसँग बस्दा उनलाई घरको यादले सताएको छ । घर जान पाए कति रमाइलो हुन्थ्यो भन्ने उनलाई पनि लागेको छ । ‘घरमा भएको भए सबै जना संगै हुन्थ्यौं, मज्जाले टाइम पास हुन्थ्यो होला’ रेनुका भन्छिन् ‘यहाँ त धेरै गाह्रो हुन्छ घरको याद आउँछ जान मन पनि लाग्छ । तर अहिले जाने स्थिति छैन ।’
रेनुकाको गाउँ घरमा आमा, बुबा, दिदी र बहिनी छन् ।
खेल्न नपाउँदा छटपटी
खेलाडीको काम मैदानमा खेल्ने, ट्रेनिङ गर्ने, शरीर फिट राख्ने हो । अझ रेनुका त विभागीय टीमको खेलाडी भएकाले प्रशिक्षण धेरै गरिरहन पाउँछिन् ।
क्लबस्तरको खेल एपीएफबाट र अन्तर्राष्ट्रिय खेलहरु राष्ट्रिय टीमबाट खेल्नुपर्छ । गत मंसिरमा १३ औं साग खेलेयता नेपालको महिला टिमले अन्तर्राष्ट्रिय खेल त खेलेको छैन । तैपनि देशमै भएको प्रधासेनापति कप र धनकुटामा एउटा प्रतियोगिता खेलेको थियो । त्यसबाहेक अरु खेल भएको छैन ।
अहिले लकडाउनले प्रशिक्षण रोकिँदा खेलाडीलाई पनि फिट रहन कठिन बनाएको छ । ‘धेरै शारीरिक अभ्यास गरिरहने भएर होला अहिले एक्कासी यसरी बस्नुपर्दा गाह्रो हुन्छ । शुरुको २–४ त ज्वरो नै आउला जस्तो भएको थियो । यसरी बस्दा जीउ पनि दुख्छ’ रेनुकाले लकडाउन अनुभव सुनाइन् ।
उनी खेल नखेली लामो समय बसेको यो पहिलो पटक हो, त्यसैले छटपटी भएको बताउँछिन । ‘पहिला त छुट्टी हुँदा नि घर गइन्थ्यो । घर जाँदा फुटबल खेल्थेँ ।’
गाउँमा फुटबल खेल्न चाहने धेरै हुने भएकोले पनि छुट्टीको समय सदुपयोग गर्थिन् उनी । ‘गाउँमा बहिनीहरु धेरै छन्, उनीहरुसँग ट्रेनिङ गर्दा, खेल्दा रमाइलो हुन्थ्यो । छुट्टीमा पनि फुटबल चाहिँ छोड्थिन’ रेनुका विगत सम्झिन्छिन् ।
रेनुकाको गाउँ रौतहटमा महिला फुटबलको माहोल बेग्दै छ । त्यहाँका धेरै किशोरी फुटबल खेल्छन् ।
अब कोरोना भाइरसको त्रास कहिले सकिने र फुटबलजस्ता खेल गतिविधि नियमित हुने हो कसैलाई थाहा छैन । तर फेरि मैदान फर्कँदा के होला भन्ने अनुमान उनलाई अहिले नै छ । ‘जे होस् अब एक्कासी ग्राउण्डमा प्राक्टिस गर्न जाँदा चाहिँ हामीलाई धेरै गाह्रो हुन्छ’ उनी भन्छिन् ।
अहिले फुटबलमा फर्किनुभन्दा पनि पहिले कोरोना त्रास हट्नुपर्ने रेनुका बताउँछिन् । ‘तर यो सब ठीक हुनुपर्यो । फुटबल त छँदै छ नि फेरि खेलौंला नि !’ रेनुकाले अहिले फुटबल भन्दा मानिसको स्वास्थ्य मुख्य विषय रहेको बताइन् ।
साथीहरु हाल पनि आफ्नै जस्तो रहेको उनले सुनाइन् । फुर्सदको बेला धेरै खेलाडीले युट्यबमा फिल्म हेर्ने, अन्तर्राष्ट्रिय खेलकुदको भिडियो हेर्ने गरेर दिन बिताइरहेका छन् । रेनुका पनि त्यसै गर्छिन् । यति मात्र होइन ।
‘एकछिन टिकटक पनि हेर्ने गरेको छु रमाइलो लाग्छ तर धेरैचाहिँ हेर्दिन’ रेनुकाले भनिन् ‘धेरै चाहिँ हेर्न मज्जा लाग्छ, तर लकडाउनमा मैले पनि ३–४ वटा बनाएको छु ।’
२४ वर्षकी रेनुकाले ४ वर्ष अघि नेपालको राष्ट्रिय टिमको कप्तानी गरिसकेकी छिन् । तात्कालिन कप्तान अनु लामा घुँडाको चोटका कारण टिममा नपरेपछि भारतमा भएको चौथो साफ महिला च्याम्पियनसिपमा रेनुकाले नेपालको कप्तानी गरेकी थिइन् । त्यसपछि निरु थापा नेपालको कप्तान बनिन् । १३ औं सागपछि निरुले फुटबलबाट सन्यास घोषणा गरिसकेकी छिन् ।
०६५ सालमै रौतहटमा भएको एक प्रतियोगितामा प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएकी थिइन् रेनुका । रौतहटबाट खेल्दा खेल्दै उनी विभागीय टिम एपीएफको नजरमा परिन् र काठमाडौं आइन् । शुरुमा एपीएफको पहिलो रोजाईमा पर्न नसकेपछि एक वर्ष आर्मीमा गइन् । पछि फेरि एपीएफमै फर्किइन् ।
रेनुका सन् २०१० मा पहिलो पटक राष्ट्रिय टिममा परेकी थिइन् र त्यसको ६ वर्षपछि २०१६ सालमा रेनुकाले कप्तानी आर्मब्याण्ड लगाउँदै नेपाली टिमको नेतृत्व समेत गरिन् ।
source https://www.onlinekhabar.com/2020/04/850283






0 comments:
Post a Comment