Friday, 3 April 2020

नसोचेको एउटा संसार

शान्त, शितल, चकमन्न अँध्यारो रातमा मेरा आँखाहरुले भने पर क्षितिजसम्म टन्टलापुर घाम देखिरहेछन् । त्यही क्षितिजको उज्यालो घाम पछ्याउँदै मेरा पाईलाहरु निरन्तर अगाडी बढिरहेछन् ।

घामको चहकिलो उज्यालोमा मेरा आँखा हिमालको दृष्यमा पुगेर टक्क अडिए । आँखाले हिजोसम्म सेतो रंगमा स्पर्श गरेको मेरो हिमाल एक्कासी कालो देखियो । एकैछिन सोच शुन्य भयो । फेरि मनमनै सोचेँ, घामले हिमाल डढायो सायद । फेरि मन उही रफ्तारमा दौडियो ।

हिमालबाट मन आफैंमा आएर अडियो । सोचेँ, हिमाल जलाउने घामले मलाई किन जलाउन सकेन् ? मनभरी यस्तै कौतुहलता उमारेर हिमालको आकार हातले मुसारेँ । हिमाल त केवल नाम मात्रैको रहेछ । मेरो हिमालको विशेषता काला पत्थरमा पुगेर समाप्त हुनै लागेको रहेछ । अस्तित्वविहिन बन्दै गएको हिमालको मायाले पग्लेको मनले एकै छिनमा पहाड हुँदै तराईको बाटो समात्यो ।

मेरो मनको बेग संसार खत्तम गर्न सक्ने क्षेप्यास्त्र भन्दा निक्कै तीव्र थियो । त्यहि बेगको बाटो समातेर म कति छिट्टै तराईको फाँटमा पुगिसकेछु पत्तै भएन । तराईका फाँटले मन अचेटेर राख्न सकेन । आँखा वरिपरी मुर्कुटा जसरी नाच्न थाले ‘मकैको घोगामा दुध पस्न नपाउँदै लुछिएका, कतै धानका बाला पाक्न नपाउदै चुँडिएका, मैले देख्ने त्यो पहाड अनि तराईको अन्न भण्डारमा जङ्गली उन्मत्त हात्तीहरुको समुहले सोत्तर बनाएका बाली र लथालिङ्ग घरहरु जस्तो, घरपालुवा जनावर पनि हावाको वेगमै उड्लान् जस्तो त हावामा उड्ने चराहरु जमिनमा निदाएका जस्तो लाग्ने दृष्यहरु ।’ म अचम्भित भएँ, यहाँ के भईरहेको छ ?

लामो यात्रा र बेचैनी मनको भयले मेरो आँत हरहर भएको थियो । घाँटी बेस्मारी सुकेको थियो । पानीप्यासले म अझैं धेरै बेचैन थिएँ । म अब यहाँका प्रत्येक घरका ढोका हेर्न लागेँ । घर बाहिर त पानीका मुहान त्यत्ति देखिदैनन् । प्यास र थकानले एक बेगमा समातेर दगुरिरहेका आँखा एक पुरानो घरको बन्द दैलोमा पुगेर अडियो । मैले भित्रैबाट आवाज निकाल्न खोजे ।

सुख्खा भैसकेको घाँटीबाट ठूलो आवाज निस्कन सकेन । सानो आवाजमा मैले दैलो खोल्न गरेको आग्रह ति भित्ताहरु छेडेर भित्र पस्न सक्यो कि सकेन थाहा छैन । भित्र मान्छे थिए या थिएनन् त्यो पनि थाहा छैन । तर, बन्द घरको दैलो निकै बेरसम्म पनि खुल्दै खुलेन । म अर्को घर तर्फ लागे ।

अर्को घर, जहाँ म रोकिएँ । दैलो खुल्लै थियो । तर, पानी दिने मान्छे थिएनन् । बाहिरैबाट पानीको घैटो त देखिन्थ्यो । घैटोको पानी बाहिर आएन । म भित्र जान सकिनँ । त्यहाँबाट पनि अर्को घरतर्फ लम्किएँ । बन्द घरको दैलोमा उभिएर एकैछिन घरकालाई खोजेँ । ढोका ढक्ढकाएँ । खुल्दै खुलेन । म लखतरान बनेर त्यही घरको पिँढीमा थचक्क बसेँ ।

पिढीँबाटै नियाल्न थालेँ, वरिपरीको वातावरण । बाटो उही, बस्ती उही, घर उही, हावा उसैगरी बहिरहेको । तर, न बस्ती बस्ती जस्तो न घर घर जस्तो । न पशुपन्छी र मानिस नै मानिस जस्ता देखिन्थे । यत्तिकेमा घरको ढोका घरक्क उघ्रिन्छ । मेरा आँखा ढोकातर्फ तानिए । एक मानिसले सासले बोल्दै हातको ईसारामा के चाहियो भनेर प्रश्न गरे । मेरो मुखबाट बोली निस्किन सकेन । म टोलाई रहेँ । उनको शरीर मानव आकृतिमा सुक्दै गएको थियो । त्रसित र कारुणिक अनुहार आँखाहरु बाहिर निस्कन तम्तयार भय जस्ता देखिन्थे । एक मन माया हुँडलिएर आयो । अर्को मन डरको भूमरीमा फँस्यो । मन शुन्य भयो । बोलि घाँटीमै अड्कियो । म बिस्तारै पछाडी हट्दै गएँ । त्यो घरको आँगन कतिखेर नाघिसके पत्तो भएन ।

म हतासमा पाईला अगाडी सार्दै थिएँ । आँखाले फेरि समाते उस्तै अनौठो दृष्य । ‘मकैका कलिला घोगा लुछ्दै गरेका, राम्रोसँग फल लाग्न नपाउदै बिरुवाहरु चुँडीरहेका, अनुहारहरु पनि त्यस्तै थिए । जुन घरमा मैले देखेँ, अर्को अनौठो दृश्य । यहाँ मानिसहरु एक–अर्कासँग झगडा गरिरहेका, तानातान लुछालुछ गरिरहेका, कोही कराईरहेका कोही रोईरहेका । दन्त्य कथामा सुनेको कुनै राक्षसको राज्यजस्तो । मलाई डर लाग्यो यी मान्छेहरुले मलाई नै पो केही गर्नेहुन कि ? म झन् अत्यासिदै अगाडि बढेँ ।

मेरो अर्को स्टेसन झन् सुख्खा भेटियो । यहाँ त न लुछ्नका लागि कुनै बिरुवा थिए । न पिउनका लागि कतै पानी । हावाको बेगसँगै देखिने धुलोको मुस्लो मडारिइरहेको अलि परको दृष्यमा मेरा आँखा पुगेछन् । त्यहाँको दृष्यले भने मनमा थोरै आशाको त्यान्दो पलायो । म त्यतै दौडिए । त्यहाँ त घरहरु आकाश छुने गतिमा अग्लिरहेका थिए । अनन्तको यात्रा गराउने भान दिने छाती झै फैलिएका र नदि झै तन्किएका यहाँका सडकहरु मैले टेलिभिजनका पर्दा र सामाजिक सन्जालका भित्ताहरुमा देखेकै जस्ता थिए ।

तर, अफसोच । सफा, सुन्दर र यन्त्र जडित यो ब्यबस्थित सहरले आफैलाई धिक्कार्दै रोहिरहेछ । न गाडीहरु गुडेका छन्, न कुनै यन्त्रले काम गरेका छन् । न पसल खुलेका छन्,  न सहर सफा छ । गाडी जस्तै लम्पसार छन् सडकमा मान्छेहरु । केही मान्छेहरु कुप्रिँदै र थर्थराउँदै हिँड्दैछन् । मान्छेदेखि मान्छे डराएका छन् । आखिर के भईरहेछ ? कस्ले यस्तो गरायो ? मैले आज कहिल्यै नसोचेको संसार देखिरहेछु ।

यति बेलासम्म मलाई पानीको प्यास यस्तो लागिसकेको थियो कि, ममा आफूलाई उभ्याउने सामथ्र्य नै बाँकी थिएन । बलैले सहरको एक छेउतर्फ लागेँ, जहाँबाट समुद्र भेटिने बाटो देखाईरहेथे आफैं मेटिन लागेका भित्ताका बोर्डमा झुण्डिएका अक्षरहरु । मनको बेगमा म समुद्रतर्फ लागेँ । परैबाट देखियो समुद्रका छालहरु । कानमा आएर ठोक्कियो छालले बुर्कुसी मारेका तरंगहरु । आँखा शितल भए । घाँटीको आधा प्यास त यसै मेटियो । म समुद्र किनारमा जाँदै थिएँ ।

जति समुद्रको नजिक पुग्छु, आँखामा उही पुराना दृश्यको झल्को दोहोरिन थाले । ठाउँ फरक, मान्छे फरक तर, हाहाकार, तानातान र माछा मार्नेहरुको भागाभाग । म त्यसैत्यसै शिथिल हुन थालेँ । यस्तो बिकसित र सक्षम देशका मानिसको पनि यो अवस्था ? बेला बेलामा पढेका र सुनेका बिभिन्न ग्रन्थहरुको भनाईहरु मेरो मानसपटलमा एकाएक भूमरी जसरी मडारिदै आए । भुईचालो आउनेछ । कहिले आगोबाट कहिले पानीबाट प्रलय हुनेछ । आकासबाट गन्धक बर्सिने छ । भोकमरी अनिकाल लाग्नेछ । अझ मान्छेले मान्छे खाने दिन आउनेछ । सानै कुराले पनि संसार नष्ट हुने छ ।

के अहिले त्यस्तै हुँदैछ ? के संसारको अन्त्यको दिन आएको हो ? मेरो मनले मलाई धेरै प्रश्नहरु गर्न थाल्यो । ज्ञान ठुलो कि धर्म ? विबेक ठुलो कि नाम ? प्राण ठुलो कि धन ? सृष्टी ठुलो कि देश ? मनले नै उत्तर दियो–  ज्ञान ठुलो, बिवेक ठुलो, प्राण ठुलो, सृष्टी ठुलो । संसार सामान्य हुँदा मात्रै रहेछ मान्छेभन्दा मान्छे ठुलो, देशभन्दा देश ठुलो धन र शक्ति ठुलो हुने त ।

मेरो यो यात्रामा संसारकै नाम कमाएका कलाकार, नाम र दामले भरिपुर्ण खेलाडी र संसार नै किन्न सक्ने क्षमता भएका ब्यापारीहरु पनि प्राण धान्नका लागि कतिलाई माछा मार्ने भिडमा त कतिलाई खेतबारीमा देखेको छु । आज मलाई लाग्दैछ संसारमा जाति केबल मानब मात्र छन् । देश पृथ्वी मात्र छ । जति नै धन भए पनि धनले खाना किन्न नपाईने दिन पनि आउँदो रहेछ । मान्छे निरिह हुदोरहेछ ।

यहि दृश्यलाई नियाल्दै भिडमा ठेलामठेल गर्दै म समुद्र किनारमा पुगेँ र एक अन्जुली पानी अनुहारतर्फ लेराउदै थिएँ । दुबै हात बिचमै रोकिए– ‘मेरो मानसपटलमा नाक मुख र आँखामा पहिले हात सफा नगरी छुनु हुदैन भन्ने कोरोनाको त्रास भनौ या सचेतना भनौ घुमिरहेको रहेछ ।

सुरुको बेगले गर्दा पानीको भाग मेरो अनुहारमा ठोकियो म झसङ्ग भए, ‘ओ गड, यो त मेरो सपना रहेछ’ ।

मैले त्यो कहालीलाग्दो संसारबाट बाहिर आएर कामना गरेँ, कहिल्यै मेरो सपना साकार नहोस ।

अन्त्यमा… सृष्टीकर्ताले साँच्चै यो संसार कति सुन्दर बनाएका छन् । हावाको तालमा बोट बिरुवा नाच्छन्, चराहरु गाउँछन्, सायद यो देखेर सृष्टीकर्ता खुशी हुन्छन् होला । कस्तो राम्रो नियम छ । हिमालदेखि सागरसम्मका हरेक जीवजन्तु, प्राणी, बनस्पति सबैलाई आफ्नै जीवनको चक्र दिएको छ । यो सबैको गोठालो र संरक्षक सायद मान्छेलाई बनाइएको हुनुपर्छ । नत्र किन मान्छे सबैभन्दा उच्च हुन्थ्यो र ? तर, मान्छेले न गोठालोको काम गरे न संरक्षकको । केवल आफ्नो शक्ति र आफ्नै लागि प्रकृतिको नियम विपरितका कयौं घातक काम गरे । अरुलाई नराम्रो गर्नको लागि पृथ्वीको गति रोक्न सक्थे भने अरु देशलाई वर्षौं अन्धकारमा राखेर आफु घाम लाग्दा नै झ्याल–ढोका थुनेर सुत्थे होला ।

देशको सिमाना हामीले बनायौं, तर, पृथ्वी अरु कसैले बनाएको हो । यसलाई थिलथिलो वनाउन हुँदैन भन्ने मान्छेले कहिलै सोचेन । हामीले नियम मिच्नेलाई दण्ड दिए झैं प्रकृतिको नियमबिपरित हामीले काम गरेको सजाय हामीले भोगिरहेका त छैनौ ? म आफु आजैबाट मान्छे भएर जिउने छु भन्ने चेत आएको छ । अब हामी सबै मान्छे हुन जरुरी छ ।

देश, जाति, धर्मभन्दा माथि उठेर सबैको  राम्रो पक्षलाई अंगाल्दै नराम्रो पक्षलाई निरुत्साही गर्दै जीवन जिउन जरुरी छ । अब पनि हामीले आफुलाई सच्याउन सक्दैनौ भने अहिलेको यो महामारीबाट बचे पनि हाम्रो अस्तित्व अव आउने धेरै महामारीले समाप्त गर्ने छ ।



source https://www.onlinekhabar.com/2020/04/851070

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More