२१ चैत, काठमाडौं । बहुमतप्राप्त जननिर्वाचित सरकारले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको चर्चा बाहिरिएसँगै सरकारीे कदमको आलोचना हुन थालेको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री कमल थापाले मात्र होइन, सत्तारुढ नेकपाकै नेताले पनि सरकारी कदमको आलोचना गर्न थालेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सार्वजनिक खरिद बिक्रीको काममा सेनालाई प्रयोग गर्न नहुने बताएका छन् ।
सरकारले कोरोना भाइरसविरुद्ध लड्न सेनामार्फत अत्यावश्यकीय मेडिकल सामग्री खरिद गर्ने तयारी गरिरहेका बेला थापाले यस्तो कार्यमा सेना प्रयोग गर्न नहुने धारणा राखेका हुन् ।
सेनाको कार्यक्षेत्रबाहिरको काममा सेना स्वयंले पनि रुचि देखाउन नहुने थापाको मत छ ।
सार्वजनिक खरीद विक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुंदैन। सेनाले पनि त्यस्तो जिम्मा स्विकार गर्नु हुँदैन। त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ। मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छौं https://t.co/8wobv5SuDA
— Kamal Thapa (@KTnepal) April 3, 2020
‘सार्वजनिक खरिद बिक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुँदैन । सेनाले पनि त्यस्तो जिम्मा स्वीकार्नु हुँदैन,’ थापाले टि्वटरमा लेखेका छन् ।
सरकार असक्षम प्रमाणित हुने तर्क
खरिदको जिम्मा सेनालाई दिने कार्यले सरकार असक्षम प्रमाणित हुने थापाको तर्क छ । थापाले अगाडि लेखेका छन्, ‘सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ । मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छौं ।’
यसअघि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारीप्रति असन्तुष्टि जनाएका छन् । हतियार र गोलीले भाइरस नमर्ने भट्टराईको टिप्पणी छ ।
अन्य आपूर्ति तथा वाणिज्यसँग सम्बन्धित निकायलाई पन्छाएर सरकारले नेपाली सेनालाई अघि सारेपछि यसको चौतर्फी विरोध भएको छ ।
नेकपा नेता विष्णु रिजाल पनि असन्तुष्ट
नेकपाका नेता विष्णु रिजालले समेत मेडिकल सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
हुरीबतास आयो, घर बनाउने जिम्मा सेनालाई । महामारी आयो, औषधी किन्ने जिम्मा सेनालाई । ठूलो बजेट भयो, बाटो बनाउने जिम्मा सेनालाई । यो सेनाको यो कामै होइन। सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिने-दिने दुबैलाई राम्रै लाग्ला तर हाम्रो प्रणााली कमजोर हुन्छ । दीर्घकालीन रुपमा सोचौँ ।
— Bishnu Rijal (@bishnurijal1) April 3, 2020
नेकपाको विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले लेखेका छन्, ‘हुरीबतास आयो, घर बनाउने जिम्मा सेनालाई । महामारी आयो, औषधी किन्ने जिम्मा सेनालाई । ठूलो बजेट भयो, बाटो बनाउने जिम्मा सेनालाई । यो सेनाको कामै होइन ।’
रिजाल थप लेख्छन्, ‘सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिने–दिने दुवैलाई राम्रै लाग्ला तर हाम्रो प्रणाली कमजोर हुन्छ । दीर्घकालीन रुपमा सोचौँ ।’
source https://www.onlinekhabar.com/2020/04/850641






0 comments:
Post a Comment