Thursday, 2 April 2020

कोरोनाबाट आर्थिक संकट : सरकारी कार्यालयलाई बजेट खर्चमा अंकुश

२१ चैत, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्रोत परिचालन गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयले सबै सरकारी कार्यालयहरूलाई अत्यावश्यकबाहेकका बजेट खर्च गर्न रोक लगाएको छ । अर्थ मन्त्रालयले परिपत्र गर्दै विभिन्न १४ शीर्षकका बजेट खर्च रोक्न निर्देशन दिएको हो ।

मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेको परिपत्रमा चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रमलाई स्थगित गरी विभिन्न निकायहरुमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस, रोकथाम, नियन्त्रण लगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नु पर्ने भएकाले बजेट रोक्का गरिएको उल्लेख छ ।

तर २०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको काममा भने बजेट रोक्का नहुने परिपत्रमा उल्लेख छ ।

अर्थले लेखेको पत्रमा सवारी साधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ती प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ती खर्च र भैपरी आउने पुँजीगत खर्च नगर्न भनेको छ ।

यस्तै सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भैपरी आउने चालु खर्च समेत रोक्का राख्न अर्थले भनेको छ ।

अर्थ मन्त्रालयले दिएको बजेट कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत् सरकारी कार्यालयहरु पाउने गर्दछन् ।



source https://www.onlinekhabar.com/2020/04/850664

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More