२७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण भन्सार जाँच विन्दुहरुमा आयात तथा निर्यातकर्ताहरुले बिभिन्न समस्या भोग्दै आएका छन् । अत्यावश्यकीय वस्तुको आयात निर्यात नै प्रभावित हुने जोखिम बढेपछि सार्क सदस्य राष्ट्रहरुले सहजीकरणका लागि सामूहिक प्रयत्न थालेका छन् । त्यसैक्रममा बुधबार सार्क मुलुकका वाणिज्य अधिकारीहरुबीच भिडियो वार्ता भएको छ ।
वार्ताबाट सार्क सदस्यहरुले साफ्टा सुविधा प्राप्त गर्नका लागि भन्सार जाँचपासको समयमा नै उत्पत्तिको प्रमाणपत्र आवश्यक नपर्ने गरी निर्णय गरेका छन् । कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर यस्तो अवधिभरि साफ्टा सुविधा दाबी गरिएबमोजिमको बैंक जमानत पेश गरेमा साफ्टा सुविधा प्राप्त गर्ने निर्णय भएको छ ।
भिडियो वार्तामा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ढकालको नेतृत्वमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक र भन्सार विभागका अधिकारीहरु सहभागी थिए ।
आयात–निर्यातमा बैंकहरुद्वारा स्वीफ्ट प्रविधिद्वारा भुक्तानी दिने व्यवस्था गर्ने र औषधि तथा खाद्य पदार्थलगायतका अत्यावश्यक वस्तु ओसारपसारलाई प्राथमिकता दिने सहमति पनि सार्क मुलुकका वाणिज्य अधिकारीहरुबीच भएको छ ।
वार्तामा एकीकृत जाँचपास चौकीहरुमा ओसारपसार हुने मालवस्तु तथा सवारीसाधनको एकीकृत पद्दतीबाट डिस्इन्फेक्टेड गर्ने प्रस्ताव नेपालले राखेको थियो । सो प्रस्तावमा भारत, बंगलादेश लगायतका देशहरुले सकारात्मक प्रतिक्रिया दिएको सहसचिव ढकालले जानकारी दिए ।
नेपाल–भारत सीमा क्षेत्रको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा स्यानिटाइजेसनको प्रक्रिया नअपनाइँदा नेपालमा कोरोना संक्रमणको जोखिम रहेको समाचार यसअघि अनलाइनखबरले प्रकाशित गरेको थियो ।
यो पनि पढ्नुहोस स्यानिटाइज नगरी आयात हुन्छ अत्यावश्यक सामान
भिडियो वार्तामा पाकिस्तानबाहेक नेपाल, भारत, अफगानिस्तान, बंगलादेश, भुटान, मालदिभ्स र श्रीलंकाका वाणिज्य अधिकारीहरु सहभागी थिए । भिडियो वार्तामा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ढकालको नेतृत्वमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक र भन्सार विभागका अधिकारीहरु सहभागी थिए ।
सम्मेलनमा सहभागीहरुले सार्क मुलुकबीच सहकार्य गरेर अघि बढ्ने र सकेसम्म व्यापारलाई सामान्य अवस्थामा फर्काउनुपर्नेमा जोड दिएका थिए ।
१५ मार्चमा सार्क सदस्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुबीच भएको भिडियो कन्फ्रेन्सको ‘फलो–अप’को रुपमा यो भिडियो कन्फ्रेन्स आयोजना भएको अधिकारीहरुले बताएका छन् ।
source https://www.onlinekhabar.com/2020/04/852832






0 comments:
Post a Comment