सहारा मरुभूमि विश्वको सबैभन्दा ठूलो मरुभूमि हो । यो सबैभन्दा तातो मरुभूमि पनि हो । सहारा मरुभूमिको नाम अरबी शव्द सहराबाट लिइएको हो । जसको अर्थ मरुभूमि भन्ने हुन्छ ।
अफ्रिकी महादेशको उत्तरी भाग सहारा मरुभूमिले ढाकेको छ । यसको केही हिस्सा एसिया महादेशमा पनि पर्दछ । सहारा मरुभूमिका विषयमा केही रोचक तथ्य यस्ता छन्ः
– सहारा मरुभूमिको लम्बाइ ४८०० किलोमिटर र चौडाइ १८०० किलोमिटर छ । क्षेत्रफलको हिसाबमा सहारा मरुभूमि झण्डै युरोप महादेश जत्रै छ । यसको क्षेत्रफल ९२ लाख वर्ग किलोमिटर रहेको छ ।
– सहारा मरुभूमिले विश्वको कूल स्थलीय भूभागको ८ प्रतिशत भाग ओगट्दछ । यो मरुभूमि १० देशमा फैलिएको छ । त्यसमा माली, मोरक्को, मौरिटानिया, अल्जेरिया, ट्युनिशिया, लिबिया, नाइजर, चाड, सुडान र इजिप्ट रहेका छन् ।
– यद्यपि सहारा मरुभूमिको वातावरण मानव बसोबासका लागि उपयुक्त छैन । यसका बाबजुत यहाँ ५ सयको हाराहारीमा मरुस्थलीय जीवका प्रजातिहरू तथा १ हजार प्रजातिका वनस्पतीहरू पाइन्छन् ।
– अन्य मरुभूमिमा जस्तै सहारा मरुभूमिमा पनि दिनमा प्रचण्ड गर्मी र रातमा अत्यधिक चिसो हुन्छ । सन् २०१६ मा सहारा मरुभूमिमा हिमपातसमेत भएको थियो जसले सबैलाई अचम्ममा पारेको थियो । मरुभूमिनजिकैको एटलस पर्वत श्रृंखलाको तापमानमा अचानक गिरावट हुँदा भएको जलवायुजन्य परिवर्तनले सहारा मरुभूमिमा हिमपात भएको थियो ।
-सहारा मरुभूमि आजभन्दा ६ हजार वर्षअघि हराभरा स्थलको रूपमा थियो । एक अनुसन्धान अनुसार अफ्रिकाको सहारा क्षेत्रमा लगातार वनविनाशका कारण झण्डै २५ सय वर्षअघि दुनियाकै ठूलो मरुभूमिमा परिणत भएको हो । आखिर त्यति ठूलो क्षेत्रमा विनाशकारी ढंगले कसरी वन सखाप भयो भन्ने बारेमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । कतिपय वैज्ञानिकले आगामी १५ हजार वर्षपछि सहारा मरुभूमि पुनः हराभरा बन्ने अनुमान गरेका छन् ।
एजेन्सीको सहयोगमा
source https://www.onlinekhabar.com/2020/04/852026






0 comments:
Post a Comment