Friday, 10 April 2020

गाउँपालिकाले काटिदियो किसानको गहुँबाली

२९ चैत, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी–७ का रामकिसुन यादव आफ्नो खेतमा फलेको गहुँ देखेर दङ्ग छन् । गहुँको बाला सबै निहुरिएकोमा त उनको खुशीको सीमा नै छैन । ठूलो बाला र धेरै दाना भएकाले गहुँको बाला निहुरिएका छन् तर यादवको शिर भने ठाडो भएको छ । यसरी गहुँ हौसिएर आए पनि समयमा काट्न नपाउँदा भने यादव एक दिन अगाडिसम्म निकै चिन्तित देखिन्थे । गहुँ उत्पादन राम्रो भए पनि कोरोना माहामारीको त्रास र लकडाउनले मजदुर नपाएपछि खेतमै बाली झरेर नोक्सान हुने चिन्ताले ग्रसित थिए यादव । तर शुक्रबारबाट गाउँपालिकाले काट्न बाँकी रहेका सबै किसानको गहुँ निःशुल्करूपमा मेसिनले काटिदिन सुरु गरेपछि उनको चिन्ता हटेको छ ।

लकडाउनले यतिबेला अन्य क्षेत्रमा झै किसानलाई पनि प्रभावित बनाएको छ । गत वर्ष ग्रामीण क्षेत्रका किसान बाली भित्र्याउने काममा खेतमै व्यस्त हुन्थे । तर, अहिले कोरोनाको महामारीले मजदुर नपाउँदा पाकेर तयार भइसकेको गहुँलगायत हिउँदे बाली भित्र्याउन किसानलाई समस्या परेको छ ।

“मेसिनले तत्काल नकाटेको भए गहुँ खेतमै झर्ने अवस्थामा पुग्थ्यो”, अर्का किसान तिलाठी कोइलाडी गाउँपालिका–२ का गजेन्द्र मण्डलले भने, “प्रत्येक वर्ष चैत मसान्तभित्रै गहुँ काटेर भित्र्याइसकिन्थ्यो, हातले काटेर सम्भव नै थिएन ।” लकडाउनको समयावधि थपिएपछि र त्यो लकडाउनको अवधि पनि अझै अनिश्चित रहेकाले गहुँ भित्र्याउन मुस्किल भइरहेका बेला गाउँपालिकाले नै गहुँ बाली काटिदिने भएपछि किसान खुशी भएका छन् । मेसिनले गहुँ काट्दा मानिस जमघट पनि नहुने र गहुँ पनि भित्र्याउन सकिने भएकाले किसानको समस्या समाधान गर्न गहुँ बाली काट्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गहुँबाली भित्र्याउन नसकेका किसानका लागि निःशुल्करूपमा गहुँ काट्न सुरु गरिएको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए । “कोरोना माहामारीको त्रास र लकडाउनका कारण मजदुर नपाएपछि चैते हावाले गहुँ झार्ने क्रम सुरु भएको थियो”, उनले भने, “मौसमको ठेगान नभएकाले वर्षा भइदिए वर्षभरिको मेहेनत पानीमा डुब्ने भएकाले नोक्सानीबाट जोगाउन किसानको गहुँ निःशुल्क काटिदिएका हौँ ।”

वडा नं ७ मन्सापुरबाट दुई मेसिनले गहुँ काट्न थालिएको छ । मेसिन थपेर भए पनि सबै वडाको खेतमा रहेको गहुँ चाँडोभन्दा चाँडो काटिने अध्यक्ष सिंहले बताए । गाउँपालिकाको आठ वडामा गरी करिब ७०० बिघामा लगाइएको गहुँ अझै पनि खेतमै रहेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । अधिकृत झाका अनुसार गाउँपालिकाले आफ्नो खर्चमा गहुँ काटिदिएपछि किसानले खुशीसाथ गहुँ भित्र्याउन पाउने भएका छन् ।

“समयमै पाकेको गहुँ नकाटिएपछि के खाने भन्ने चिन्ताले परिवार नै पिरोलिएका थियौैं, अब ढुक्क भयौं”, तिलाठी कोइलाडी गाउँपालिका–८ का राजाराम मण्डलले भने, “पाकेको गहुँ बाली भित्र्याउन पाइने भएपछि आनन्दसँग सुत्न पाइने भयो ।”



source https://www.onlinekhabar.com/2020/04/853454

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More