Thursday, 9 April 2020

ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राऊ   

२८ चैत, पर्वत । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीमाथि बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको उपभोक्ताको आरोप छ ।

नेपाल आयल निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार ३७५ तथा ढुवानीसहित भरी सिलिण्डरको एक हजार ४०० र आधा सिलिण्डरको रु ७०० तोकेको छ । व्यवसायी रेग्मीले रु एक हजार ७०० लिएर ग्यास बिक्री गरेको पाइएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडित उपभोक्ताले जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद बिल र लिखित उजुरीसहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई निजकै पसलबाट पक्राउ गरेको हो ।



source https://www.onlinekhabar.com/2020/04/853164

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More