२० चैत, पोखरा । उदयपुरको गाइघाटका ५६ वर्षीय भीमबहादुर चौधरी पोखरामा बस्छन् । पोखरा महानगरपालिका-५ नदिपुरमा परिवारसहित अस्थायी रुपमा बसोबास गर्दै आएका चौधरी ज्याला मजदुरी गरेर साँझविहान हातमुख जोड्थे ।
चौधरीसँगै उदयपुरकै उत्तम भुजेल पनि मजदुरी गर्दै जीवीकोपार्जन गरिरहेका थिए । तर, विश्वव्यापी रुपमा कोरोनाका कारण लकडाउन हुँदा उनीहरुको मजदुरी नै बन्द भयो ।
काम गर्न नपाउँदा हातमुख जोड्ने बाटो बन्द भएपछि भुजेल र चौधरी परिवार लकडाउन छल्दै पोखराको सडकमा प्लाष्टिकको बोतल, कागज र कवाड सामान उठाउन थालेका छन् ।
त्यही सामान जम्मा गरी बिक्री गरेर साँझ विहानको छाक टार्न थालेको भीमबहादुरले बताए । लकडाउनपछि दिनचर्या र काम नै परिवर्तन भएको उनको भनाइ छ ।
आफूले जम्मा गरेको कबाडको थुप्रो देखाएर साहुबाट खाद्यान्न खरिद गर्ने गरेको उत्तम भुजेलले बताए ।
भुजेलले सरकार पक्षबाट ज्यालादारी मजदुर र अतिबिपन्न वर्गलाई राहत दिने घोषणा गरे पनि आफूले अहिलेसम्म नपाएको गुनासो गरे । ‘तीन दिनअघि वडा कार्यलयमा गएर नाम दर्ता गराएँ तर अझैसम्म केही पाएको छैन,’ भुजेलले भने ।
सरकारले अत्यावश्यक उपभोग्य सामग्री समयमा वितरण गरेको भए लकडाउन उल्लंघन गरेर बोरा बोक्दै सडक डुल्नु पर्ने बाध्यता नआउने उनले बताए ।



source https://www.onlinekhabar.com/2020/04/850592






0 comments:
Post a Comment