Friday, 3 April 2020

मास्क लगाउन अमेरिकी सरकारको आह्वान, ट्रम्प भन्छन्- लाउदिनँ

२२ चैत, काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणविरुद्ध जुध्न आमअमेरिकीलाई मास्क लगाउन आह्वान गरिएका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने  नलगाउने बताएका छन् ।

अनुहार छोपेर विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री तथा शासकलाई अभिवादन गर्नु शोभनीय नहुने तर्क पेस गर्दै ट्रम्पले मास्क नलगाउने प्रष्ट पारेका हुन् ।

ट्रम्पको दाबी छ कि शुक्रबारमात्र सबै जनतालाई गरिएको आह्वान ‘स्वेच्छिक’ हो । “तपाईंलाई मन लाग्दैन भने नमाने पनि हुन्छ,” उनी भन्छन्, “मलाई लाग्छ मैले पनि यो कुरा मान्दिनँ ।”

ट्रम्पको यस्तो भनाइ सार्वजनिक हुनुभन्दा केही घण्टाअगाडि अमेरिकी सरकारको जनस्वास्थ्य परामर्श निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सबै जनतालाई मास्क लगाउन आह्वान गरेको थियो । त्यसअगाडि अमेरिकी सरकारी निकायले बिरामी वा बिरामीको हेरचाहमा खटिनेहरूले मात्र मास्क लगाए पुग्ने बताएको भए पनि रोगको सङ्क्रमणबाट आफूलाई बचाउन मास्क सहयोगी हुने एक नयाँ अध्ययनले निष्कर्ष निकालेको थियो ।

अमेरिकामा मेडिकल मास्कको अभाव रहेको जनाउँदै केन्द्रले सर्वसाधारणलाई सफा कपडाले आफ्नो मुख छोप्न र बजारमा उपलब्ध मास्क स्वास्थ्यकर्मीका लागि उपलब्ध गराइदिन भनेको छ ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण सात हजारभन्दा बढीको ज्यान गइसकेको छ । २ लाख ७० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । संक्रमण र मृत्युदर बढ्दै गएपछि त्यहाँका राज्यहरूले सतर्कता बढाउँदै लगेका छन् ।



source https://www.onlinekhabar.com/2020/04/851049

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More