२७ चैत, काठमाडौं । काठमाडौंको कलंकी चोकबाट तरकारी तथा फलफूलको बिक्री सुरु भएको छ ।
कालीमाटी र बल्खुस्थित तरकारीबजारको भीड व्यवस्थापन गर्ने नीतिअन्तर्गत काठमाडौं उपत्यकाका ११ मुख्य चोकबाट तरकारी बिक्री गर्ने निर्णयानुसार बिहीबार बिहानदेखि कलंकीबाट तरकारी तथा फलफूल बिक्री सुरु भएको हो ।
कलंकीको अलावा बाफल, स्वयम्भू, वनस्थली गोंगबु, वसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्क/बसपार्क र कोटेश्वर चोकलाई पनि तरकारी बिक्रीस्थल छानिएको छ । यद्यपि, बिहीबार भने यी स्थानबाट तरकारी बिक्री नभएको बताइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल तरकारी बजारको भीड नियन्त्रणका लागि कलंकीलगायतका चोकबाट तरकारीको बिक्री थालिएको बताउँछन् ।
‘महानगरको व्यवस्थापनमा मुख्य चोकहरूमा बिहानैदेखि तरकारी बिक्री थालेका छौं,’ पौडेलले अनलाइनखबरसँग भने ।
चोकहरूबाट तरकारी बिक्री थालेसँगै कालीमाटीमा थोक र खुद्रा बिक्री बन्द भएको पौडेलले जानकारी दिए । ‘व्यवसायीले सामान कालीमाटी ल्याउँछन्, यहाँबाट आफ्नो आवश्यकतानुसार बिक्री गर्न चोकहरूमा लैजान्छन्,’ उनले भने ।
पौडेलले स्थानीय किसानलाई पनि आफ्नो उत्पादन चोकहरूमा ल्याएर बिक्री गर्न आग्रह गरे ।
फलफूल तथा तरकारी व्यवसायी संस्था कालीमाटीका अध्यक्ष गीता आचार्यले भने बिहीबार कतंकीबाट मात्रै कारोबार भएको जानकारी आफूलाई आएको बताए । बालाजुलगायतका स्थानमा भएका ठूला तरकारी बजारको कारोबार यथावत् रहँदा चोकमा जान व्यवसायीहरू अनिच्छुक देखिएको आचार्यको भनाइ छ । व्यापार सहजीकरण र सामान्य पूर्वाधारमा पनि महानगरपालिकाले सहयोग नगर्दा व्यवसायीहरू हतोत्साहित बनेको उनले बताए ।
source https://www.onlinekhabar.com/2020/04/852849






0 comments:
Post a Comment