Tuesday, 7 April 2020

गोकर्णेश्वरका मेयर भन्छन्– वास्तविक विपन्न चिन्नै गाह्रो भो

२६ चैत, काठमाडौं । ‘मेयर सा’ब यो वडामा त आफ्नै घर भएका मान्छेहरु पनि राहत चाहियो भनेर झगडा गर्न आइरहेका छन्, के गर्ने होला ?’ काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका कर्मचारीका यस्ता गुनासा सुनेर मेयर सन्तोष चालिसे दिक्क भइसके । उनी कर्मचारीलाई भन्ने गर्छन्, ‘सकेसम्म त्यही वडाको मान्छेसँग उसको अवस्था राम्रोसँग बुझेर मात्रै राहतको विवरण भर्नू ।’

गरिब, मजदुर तथा विपन्न परिवार लकडाउनको समयमा भोकै नपरुन् भनेर सरकारले राहत प्याकेज वितरण गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । सरकारको निर्देशन पालना गर्दै धेरै स्थानीय तहले राहत वितरण सुरु गरिसकेका छन् ।

गोकर्णेश्वर नगरपालिकाले पनि आफ्नो क्षेत्रका सबै वडामा गत बिहीबारदेखि गरिब, विपन्न तथा मजदुरहरुको विवरण संकलन गर्न थालेको थियो । तर शहरका मकान मालिकहरु पनि मजदुरसँग मिसिएर हरेक दिन वडा कार्यालयमा राहत माग्दै आउने गरेको विवरण संकलन गर्ने कर्मचारीहरु बताउँछन् । यही उल्झनले गर्दा गोकर्णेश्वर नगरपालिकामा राहत वितरण सुस्त बनेको मेयर चालिसेले बताए ।

‘जसले घरका कोठा भाडामा लगाएका छन्, उनीहरु पनि ५ किलो चामलको लागि नगरपालिकाका कर्मचारीसँग झगडा गर्न आउँछन् । आजित भइसकेका छौं हामी,’ उनले भने, ‘को वास्तविक गरिव हो भनेर छुटयाउनै गाह्रो भइसक्यो ।’

मेयर चालिसेका अनुसार राहत प्याकेज गरिब तथा विपन्नलाई मात्रै हो भनेर कर्मचारीले दिने जवाफसँग उनीहरु सन्तुष्ट हुँदैनन् । आफूहरु पनि कामविहीन बनेको भन्दै राहतमा दावी गर्ने गरेका छन् ।

नगरपालिकाका ९ वटै वडामा राहत वितरण गर्न अझै दुई दिन लाग्नेछ । गोर्कणेश्वर नगरपालिकामा मात्रै राहतको लागि २२ हजार परिवारले फारम भरेका छन्, जसमध्ये १५ हजार परिवारले राहत बुझिसकेका छन् । पीडित परिवारलाई १५ दिनसम्म पुग्ने गरी खाद्यान्न वितरण गरिएको छ । हाल नगरपालिकाले फिल्डमै गएर राहत वितरण गर्न थालेको छ ।

कोरोनाविरुद्धका अन्य तयारी

गोकर्णेश्वर नगरपालिकामा पछिल्लो एक महिनामा ४३ जना विदेशबाट आएकाहरु छन् । उनीहरुमध्ये २० दिन कटिसकेका १७ जना छन् । बाँकी १४ दिन नकटेकाहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेको नगरपालिकाले बताएको छ । उनीहरु प्रहरीको सम्पर्कमा छन् ।

तर उनीहरु होम क्वारेन्टाइनमा बस्ने भने पनि घरबाहिर निस्फिक्री हिँड्ने गरेको स्थानीयबासीको गुनासो छ । हालसम्म उनीहरुमा कोरोना परीक्षण भने गरिएको छैन । होम क्वारेन्टाइनमा बसेकाहरुमध्ये कसैलाई संक्रमणको लक्षण देखिए नगरपालिकाले नै आइसोलेसनमा लैजाने व्यवस्था गर्नेछ ।

नगरपालिका भित्रका अस्पतालहरुमा २० वटा आइसोलन बेड तयार पारिएको छ । ३ वटा अस्पतालमा स्वास्थ्यकर्मीलाई पीपीईसहित आइसोलेसन बेड तयार पारिएको हो । शंखरापुर अस्पतालमा ५ वटा, नेपाल मेडिकल कलेजमा ६ वटा र खाङ्ग्री इन्टरनेसनल अस्पतालमा आईसीयू र भेन्टिलेटरसहित ११ वटा आइसोलेसन बेड रहेको मेयर चालिसेले बताए ।

३ वटै अस्पतालमा ५÷५ वटा पीपीई वितरण गरिएको छ भने ११ जनाको टोली तयारी अवस्थामा राखिएको छ ।

नगरपालिकासँग अब ३५ वटा पीपीई छन् । त्यस्तै विरामी ओसार्नका लागि नगरपालिकाले आफ्नै एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।



source https://www.onlinekhabar.com/2020/04/852416

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More