२६ फागुन, काठमाडौं । फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपालमा रहँदा सफलतासँगै विवादको पर्याय बने । २०७७ चैतमा नेपाल राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका उनले नेपाललाई साफ च्याम्पियनसिपको फाइनल तथा एसियन कप छनोटको तेस्रो चरणसम्म पुर्याए । २०७९ भदौसम्म प्रशिक्षक रहेका उनले आफ्नो कार्यकालमा युवा खेलाडीमा धेरै विश्वास गरे । १५ जना खेलाडीलाई त राष्ट्रिय टिमबाट डेब्यू नै गराए ।
विवादमा पनि मुछिइरहे । तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग होस् या राष्ट्रिय टिमका १० भाइ खेलाडीलाई दुव्र्यवहार गरेको आरोपसम्म उनी विवादमुक्त हुन सकेनन् । गत असारमा एन्फा नेतृत्व परिवर्तन भएपछि आफ्नो जिम्मेवारीबाट बाहिरिएका थिए । यद्यपि नेपाल खेलकुद पत्रकार मञ्चको स्पोर्टस् अवार्डमा उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भएका छन् ।
अवार्डमा सहभागी हुन काठमाडौं आएका फुटबल प्रशिक्षक अल्मुताइरीले कुराकानीका क्रममा अब छिट्टै नयाँ गन्तव्य सार्वजनिक गर्ने सुनाए । ‘क्लबहरूबाट प्रस्ताव आएको थियो, मैले नै नगरेको हो । किनकि म राष्ट्रिय टिमका लागि मात्र काम गर्नेछु’ उनले अनलाइनखबरसँग भने, ‘७ महिनाको ब्रेक लिएँ । अब छिट्टै नयाँ गन्तव्य सार्वजनिक गर्नेछु । आशा गरौं, त्यो नेपाल र मेरा लागि राम्रो हुनेछ ।’
कतारका नागरिक रहेका फुटबल प्रशिक्षक अल्मुताइरीसँग अनलाइनखबरका कुशल तिमल्सिना र शाश्वत पन्तले गरेको कुराकानी :
तपाईंको कार्यकालमा नेपाल पहिलोपल्ट साफ कपको फाइनलमा पुग्यो भने एएफसी एसियन कप छनोटको तेस्रो चरणमा पुग्यो । सँगसँगै एन्फा र खेलाडीसँग तपाईंको विवाद पनि भयो । आफ्नो कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?
म सबैजना खुसी भएको हेर्न चाहन्छु । सबै आरोप र विवाद आफैं लिन चाहन्छु । अरू सबै सही थिए, ममात्र खराब थिएँ !
किन यसो भन्नुभएको ?
म यी सबै कुराबाट थप टाउको दुखाउन चाहन्नँ, यो बेकारको चिन्ता मात्र हो । म यति धेरै खराब पात्र थिएँ भने मैले नेपाली जनताबाट यति माया पाउने थिइनँ ।
नेपाली समर्थकसँग अहिले पनि सामाजिक सञ्जालहरूमा जोडिरहनुभएको हुन्छ, कस्तो पाउनुहुन्छ ?
उनीहरूले मेरो कामलाई माया गरेका हुन्, म गर्व महसुस गर्छु । मैले नेपालमा रहेर नेपाली युवा खेलाडीलाई विश्वास गरें । कसैले अब्दुल्लाह उत्कृष्ट प्रशिक्षक वा खराब प्रशिक्षक भन्छ भने तिनीहरू गलत छन् । अब्दुल्लाह सधैं एउटा राम्रो टिमसँग थियो । आफ्नो भविष्य र नामका लागि फरक गर्न प्रयास गर्ने खेलाडीहरूसँग थियो । अब्दुल्लाहले राम्रो प्रशासनिक र टेक्निकल टिम पाएको थियो । फिफा, एएफसी र कतार फुटबलबाट साथ पाएको थियो ।
हाम्रो सबै आवश्यकता पूरा भएको थियो । हामीले चाहेको समयमा प्रशिक्षण गर्न पाएका थियौं । मैत्रीपूर्ण खेल र प्रतियोगिताहरू नियमित पाएका थियौं । सफलताको सूत्र नै यही हो । टिमवर्कबाट हामी सफल हुँदै थियौं । तर गल्तीहरूमा एकअर्कालाई दोषारोपण गर्ने प्रणाली चाहिं समस्याको जड हो ।
यसको अर्थ आफ्नो नेपाल बसाइ सफल रह्यो भन्ने तपाईंको आफ्नो निष्कर्ष हो, होइन त ?
अवश्य, म धेरै सफल रहें । म मेरो टिमबारे आफैंले टिप्पणी गर्न चाहन्नँ, हाम्रो टिमबारे अरूले के भन्छन् त्यो मुख्य कुरा हो ।
एसियन कप छनोटमा ओमानसँग २–० को हार उनीहरूका लागि चिन्ता थियो भने हाम्रा लागि सफलता । त्यो प्रतियोगितामा मैले १६ जना नयाँ खेलाडी लगेको थिएँ । उनीहरूमध्ये केहीले त पहिलोपल्ट देशबाहिर यात्रा गरेका थिए । तर उनीहरूले बहादुरीपूर्ण खेले । किनभने मानसिकता र विश्वास ठूलो हो ।
हामी यो पनि भन्न सक्दैनौं कि अञ्जन विष्ट नेपालको उत्कृष्ट खेलाडी होइन । कसैलाई मन पर्नु वा नपर्नुले तथ्य परिवर्तन हुँदैन । किनभने त्यो स्थानका लागि उनी हकदार छन् । उनी उत्कृष्ट खेलाडी हुन्, मैले उनलाई टिमका लागि प्रयोग गरें । उनले आफ्नो प्रदर्शनलाई पनि सुधारेका छन् र गोल पनि गरेका छन् । तपाईंले आयुश घलानकै सफलता हेर्न सक्नुहुन्छ । यो सफलता मेरो मात्र काम होइन, तर उनीहरूले मेरो रणनीतिमा राम्रो खेलेर भएको हो ।
आफ्नो कार्यकालमा भएका कतिपय घटना सम्झँदा मैले त्यसो नगरेको भए पनि हुन्थ्यो भन्ने जस्तो लाग्छ ?
लाग्दैन । हेर्नुहोस्, म महत्वपूर्ण कुरा भन्दैछु । यदि उनीहरूले नराम्रो कुरा भनेको भए, गरेको भए वा मैले नराम्रो कुरा भनेको भए, गरेको भए पनि यो विश्वासको कुरा हो । किनकि सबैले गल्ती गर्छन्, मैले पनि गल्ती गर्छु ।
त्यसैले कसले आरोप लगायो भन्ने मतलब छैन । मूल कुरा नेपाल टिमको मानसिकता परिवर्तन भएको छ, नेपाली खेलाडीको मानसिकतामा परिवर्तन भएको छ । उनीहरू क्लब र एन्फासँग आफ्नो कुरा निर्धक्कसँग राख्न सक्ने भएका छन् ।
र, मैले कार्यकालको सुरुदेखि भन्दै आएको छु, नेपालले हार्दा खेलाडीलाई आरोप नलगाउनुहोस्, मलाई लगाउनुहोस् । यो घटनामा पनि त्यही भन्छु, सबै आरोप मलाई लगाउनुहोस्, म खराब हुँ । म तानाशाह हुँ । तपाईंलाई जे मन लाग्छ भन्नुस् ।
तर नेपाल खेलकुद पत्रकार मञ्चले सत्य कुरा भनिदिएको छ । मनोनयनमा परेका सबै प्रशिक्षक अवार्ड जित्न लायक थिए । अवार्ड पाउनु मेरा लागि दोहोरो खुसीको क्षण थियो । किनभने म उत्कृष्टहरूमध्ये उत्कृष्ट बन्न सकें ।
मेरो विचारमा यो अब्दुल्लाहको मात्र जित होइन, सपोर्टिभ स्टाफको पनि जित हो । किरण श्रेष्ठ, विकास मल्ल, विकास गुरुङ, विवेक सुवेदी, युजल श्रेष्ठलगायत मेरो टिमका सबैको प्रयासले यो सफलता मिलेको हो । उनीहरू सबैप्रति म खुसी छु । यो नेपालमा मेरो कार्यकालको ह्याप्पी इन्डिङ हो । बलिउड चलचित्रमा हिरोको रोल अन्तिममा आउँछ नि, मेरा लागि त्यस्तै भयो ।
तीन वर्षका लागि सम्झौता नवीकरण गरेको कोचले बीचमै छाड्नु कसरी ह्याप्पी इन्डिङ होला त ?
नेपाल सरकारको पदावधि कति हो ? तपाईंले भन्न सक्नुहुन्छ, पाँच वर्षको हुन्छ । तर धेरैले एक वर्ष पनि कार्यकाल पूरा गर्न पाउँदैनन् । त्यसैले यो सामान्य कुरा हो । सहमतिलाई सम्मान गर्न सक्नुहुन्न भने सम्झौताको कुनै अर्थ रहँदैन ।
तपाईंले त सन् २०२७ सम्मको नेपालको लक्ष्य र योजना सुनाउनुभएको थियो नि ?
मेरो योजना त्यतिसम्म थियो र त्यही अनुसारको तयारी थालेको थिएँ । मैले लेवनान, मलेशिया, थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबलको तयारी गरेको थिएँ । त्यो सबै चकनाचूर भइसक्यो । नेपाल फुटबल म विना मर्दैन । यो योजना सफल भएन भने अब्दुल्लाह अल्मुताइरीलाई पनि केही फरक पर्दैन । तर, तपाईंले पाँच मिनेट आँखा बन्द गरेर सोच्नुभयो भने कसलाई फरक पर्छ भनेर थाहा पाउनुहुनेछ ।
त्यसो भए किन राजिनामा दिनुभएको त ? धेरै समर्थकले पनि यो जान्न खोजेका छन्
मेरो कर्मभन्दा स्वास्थ्य ठूलो कुरा हो । सत्य कुरा यही हो । किनभने टाउको दुखाउने तनाव एक मिनेटका लागि मात्र रहेन, एकपल्टका लागि मात्र थिएन । अत्यन्तै तनावका बीच काम गर्न कठिन हुने रहेछ । हरेकपल्ट त्यसलाई नियन्त्रण गर्न पनि नसकिने रहेछ ।
अहिले म ठीक छु । मैले दुईवटा शल्यक्रिया गरें । अहिले आफूलाई स्वस्थ मान्न थालेको छु ।
नेपालको कार्यकालमा मेरो स्वास्थ्य तहसनहस भयो । हरेक दिन नौटंकी, सबै तिरबाट नाटकै नाटक भयो । तपाईंले विश्वास गर्न सक्नुहुन्न, लगातारको तनावले मलाई साँच्चिकै अप्ठेरो पारेको थियो । एसिया कप छनोटका लागि कुवेत जानुअघि नै मैले सोचिसकेको थिएँ, म अब फर्किन्नँ ।
यद्यपि नेपाल टिममा अनुभवी र युवा खेलाडीको मिश्रण छ । उनीहरूसँग सन्तुलित टिम छ । म आशा गर्छु कि नेपालले साफ कप जितोस्, एसियन कप खेलोस् ।
त्यसो भए साफपछि सम्झौता नवीकरण गरेर गल्ती गरें भन्ने चाहिं लाग्छ ?
त्यो मेरो गल्ती थियो । मैले त्यतिबेला नेपालको जिम्मेवारी छाडेर अरू कुनै प्रस्ताव स्वीकारेको भए सम्भवतः त्यो मेरा लागि धेरै राम्रो हुनेथियो । साफ फाइनलपछि मैले नयाँ सम्झौताका लागि हस्ताक्षर गरेसँगै परिस्थिति बदलियो ।
पछिल्लो समय फुटबलरहरूको पलायन बढ्दो छ । आफूले छाडेपछि नेपाली फुटबलमा सृजना भएको परिस्थितिलाई कसरी हेर्नुभएको छ ?
यो नेपालको ठूलो समस्या हो । तर म खुसी छु किनकि म यतिबेला नेपाल टिमको जिम्मेवारीमा छैन । यहीं म हुन्थें भने दोष मलाई नै लगाउँथे, यो अर्को समस्या हो ।
यहाँ सबैले आफूलाई ढाँटिरहेका छन् । तर सत्य कुरा प्रष्ट छ । त्यो भनेको खेलाडीहरूले राम्रो रकम कमाउन सकेका छैनन् । यो देशको समस्या हो । समाधानका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटी, सबै खेल संघ र क्लबहरू एकठाउँमा बसेर, चुनाव र आरोप प्रत्यारोप भुलेर दीर्घकालीन योजना बनाउन थाल्नुपर्छ । एउटा खेलाडीले पाँच वर्षपछि १/२ हजार डलरसम्म आम्दानी गर्नसक्ने वातावरण बनाउन अहिले नै सुरुवात गर्नुपर्छ । यसो भयो भने १० वर्षपछि नेपाली खेलाडीले वर्षमा २ लाख डलरसम्म आम्दानी गर्ने स्थिति बन्नेछ । अहिलेको अवस्थामा उनीहरू कसरी बस्ने ? क्लबहरूसँग पैसा छैन, फुटबलमा लगानी नै छैन । अनि कसरी विकास हुन्छ ?
फुटबल मात्र होइन, महिला भलिबललाई पनि हेर्नुहोस् । उनीहरूले अघिल्लो वर्ष जितेपछि के पाए ? यो नेपाली खेलकुदकै समस्या हो । खेलाडीको क्षमताका आधारमा लगानी गर्नुहोस्, उनीहरूले जति हक राख्छन्, त्यति त दिनुहोस् ।
तपाईंले सम्भावना देखेर डेब्यू गराएको दर्शन गुरुङ, आयुश घलानसहित राष्ट्रिय टिमका धेरै खेलाडी विदेशिंदा नेपाल टिमको सन्तुलनमा कस्तो असर पर्ला ?
सुरुमा त म नेपाली समर्थक र एन्फालाई शुभकामना दिन चाहन्छु । नयाँ प्रशिक्षकलाई नेपालको कार्यकालमा रमाउन शुभकामना दिन्छु । सबैले विश्वास गरे भने उनीहरू सफल हुनेछन् । मैदान बाहिरका परिस्थितिले असर पार्न सक्छ, तर मैदानभित्र खेलाडीको मानसिकता फेरिइसकेको छ । पहिला जस्तो छैन ।
जहाँसम्म तपाईंले खेलाडी पलायनको कुरा गर्नुभयो । तेज तामाङ, दर्शन, सन्तोष तामाङ, सुनिल बल, दिनेश राजवंशी धेरै महत्वपूर्ण खेलाडी हुन् । उनीहरू विदेश जानु समस्या हो । यसको अर्थ यो होइन कि अब नेपालले कहिल्यै जित्दैन ।
आशा गरौं, हामीले भविष्यमा राम्रो समाचार सुन्न पाउनेछौं ।
समर्थकलाई के सन्देश दिन चाहनुहुन्छ ?
म उहाँहरूलाई माया गर्छु । आगामी जुलाईमा परिवारसहित नेपाल भ्रमणमा आउनेछु । माया र सहयोगका लागि धन्यवाद दिन चाहन्छु । किनकि समर्थक विना म केही पनि होइन । नेपाली फुटबलको विकास पनि सम्भव छैन । मेरो कार्यकालमा नेपालले एसिया कप खेल्न सकेन । २०२७ सम्ममा एसिया कपमा छनोट भएर समर्थकमा खुसी ल्याउन सकोस् भन्ने कामना गर्छु ।
source https://www.onlinekhabar.com/2023/03/1274870
0 comments:
Post a Comment