पोर्से गाउँ खुम्बु उपत्यकाको अग्लो पठारमा छ। चारैतिर हिउँका पहाड र कहीं–कहीं हरियालीले भरिएको यो बस्ती निकै सुन्दर छ। सुन्दर बस्तीमा बस्ने साहसी शेर्पाहरूलाई अब त सगरमाथा पनि अग्लो लाग्न छाडेको छ।
३८०० मिटरको उचाइमा २० वर्षका दुई युवा धागो कातेर बसिरहेका थिए। उनीहरुलाई सगरमाथा चढ्नुभएको छ/छैन भन्ने प्रश्न राख्दा एकले चढेको जवाफ दिए। गेस्टहाउसमा पुग्दा पनेरू शेर्पा चिया टक्र्याइरहेका थिए। उनलाई सगरमाथा चढ्नुभएको छ भन्ने प्रश्न सोध्दा उनले आरोहण सरल नै रहेको भान हुने गरी भने, ‘अब किन चढ्नु १३ पटक पुगिसकें।’
गेस्टहाउस नजिकै बुवासँगै छोरा र छोरी पनि भेटिए। सन् २०२१ को बसन्त याममा छोरा-छोरीले बुवासँगै सगरमाथा आरोहण गरेर गिनिज बुकमा नाम लेखाए।
विना योजना सगरमाथाको सफल आरोहण गरेपछि आफूले पर्वतारोहणमा सुनौलो भविष्य देख्न थालेको उनी बताउँछिन्। ‘परिवार नै सगरमाथा आरोहणमा जाँदा हाम्रो कुनै योजना थिएन। तर जब चुचुरोमा पुगियो पर्वतारोहणको मेरो सपनालाई पछ्याउन म उत्साहित हुन थालें’, पासाङ कान्छी शेर्पाले भनिन्।
हिमालमा व्यावसायिक आरोहण २०औं शताब्दीको मध्यतिरबाट सुरू भएको हो। व्यावसायिक आरोहणलाई सफल बनाउन नेपालका शेर्पाहरूको भूमिका निकै महत्वपूर्ण छ। विश्वकै अग्लो चुचुरोमा टेक्ने विदेशीको चाहनालाई नेपालका शेर्पाहरूले पूरा गरिरहेछन्।
साहसी शेर्पाहरू सगरमाथा क्षेत्रमा गाइडको रूपमा काम गर्छन्। कोही भरिया पनि छन्। हिमाल आरोहणको समयमा शेर्पाहरू एकाग्रतासहित व्यस्त हुन्छन्। सगरमाथा आरोहण गर्ने सबैभन्दा बढी जीवित आरोही भएको गाउँ हो, पोर्से। यस गाउँबाट सगरमाथा आरोहण गर्नेको संख्या ७० छ।
सन् २००१ मा शेर्पाहरूले एन्करलाई भेटेपछि त्यहाँ आरोहणबारे तालिम दिने केन्द्र नै स्थापना भयो। आरोहणका तरिका, सुरक्षा मापदण्डबारे तालिम प्राप्त गरेपछि उनीहरूमा झन् मनोबल बढ्यो। ‘हामीसँग आरोहीहरू धेरै थिए तर उनीहरू दक्ष थिएनन्। त्यसैले हामीले एन्करलाई तालिम केन्द्र स्थापनाको लागि अनुरोध गर्यौं। तालिम केन्द्र स्थापनापछि शेर्पाहरूको मनोबल नै बढेको छ’, खुम्बु आरोहण केन्द्रका अध्यक्ष फुनरू शेर्पा भन्छन्। उनी स्वयंले सगरमाथाको ६ पटक आरोहण गरेका छन्।
एलेक्स लोवइको तिब्बतको सिसापाङ्माको हिमपहिरोमा परेर निधन भएको थियो । सन् १९९९ मा उनी हिमपहिरोमा परेका थिए। हिमपहिरोमा परेको १६ वर्षपछि उनको शव फेला परेको थियो। तिनै आरोहीको स्मरणमा उनकी श्रीमतीले एलेक्स लोवइ परोपकार फाउन्डेसन खोलेकी थिइन्। त्यही संस्थाले खुम्बुमा तालिम केन्द्र स्थापना गरिदिएको हो।
सन् २००१ मा भेट भए पनि सन् २००२ सम्म त्यस फाउन्डेसनबाट कुनै जवाफ आएको थिएन। सन् २००२ मा उनीहरू ट्रेकिङ आएर अमेरिका फर्किए, त्यसपछि तालिम केन्द्र स्थापनाका लागि सहयोग गरेको फुनरू बताउँछन्। ‘एक वर्षसम्म त हामीले केही जवाफ पाएनौं। सन् २००२ मा उनीहरू ट्रेकिङमा आएका थिए। त्यसबेला पोर्से पनि पसे। अनि अमेरिका पुगेर तालिम केन्द्रको बन्दोबस्त गरिदिए’, फुनरू भन्छन्।
उचाइ चढ्नका लागि शेर्पाहरू मनोवैज्ञानिक रूपमै तयार भइसकेका छन्। त्यसैले विना तालिम पनि उनीहरूको आरोहण सफल हुनेगर्छ। तर प्राविधिक ज्ञानको कमीका कारण भने उनीहरूले दुर्घटनाको सामना पनि गर्नुपरेको थियो। कतिपय अवस्थामा उनीहरू दुर्घटनामा पनि परेका छन्। कोही अपाङ्ग भए भने कसैको मृत्यु पनि भयो। खुम्बु क्षेत्रमा फस्टाउने दुई कुरा मात्रै हुन्। पहिलो याक, दोस्रो आलु। दक्ष गाइड विनै हिमालय यात्रामा निस्कनु कुनै समय विदेशीका लागि विवशता थियो। तर तालिम केन्द्रको स्थापनापछि अहिले त्यस्तो समस्या नरहेको फुनरु बताउँछन्।
हिमालयन तथ्यांक अनुसार सन् १९२१ देखि यता सगरमाथा क्षेत्रमा ३१० जनाको मृत्यु भइसकेको छ। तीमध्ये ८० प्रतिशत शेर्पा छन्। उनीहरू हिमपहिरोका कारण बिते भने विदेशीहरू लेक लागेर वा हिउँको असरले बितेका छन्।
खुम्बु आरोहण केन्द्रमा सन् २००४ देखि तालिम सुरु भएको थियो। त्यहाँ तालिम लिनका निम्ति शेर्पाहरूलाई मनाउन खुबै सकस परेको थियो। फनेरूलाई पहिलो प्रश्न भनेकै तालिमको शुल्कबारे आउने गर्थ्यो। ‘हामी पहिल्यै कतिपटक सगरमाथा चढिसक्यौं। यस्ता तालिम हामीले किन लिइरहनुपर्यो?’ उनीहरू सोध्थे।
त्यसको अलावा उनीहरूले पहिलो पटक १८ जनालाई भर्ना गरे। त्यसपछि यता हालसम्म १५०० जनाले त्यहाँबाट तालिम लिएका छन्। पोर्सेमा खाने–बस्ने प्रबन्ध आफैंले गरेपछि र आफ्नो बीमा गरेपछि तालिमका लागि अन्य कनै शुल्क लिइँदैन। गत वर्ष खुम्बु आरोहण केन्द्रले लुक्ला, नाम्चे र काठमाडौंमा फारम खुलाएको थियो। ९० जनाको स्थान एक घण्टामै बुक भएको फुनरु बताउँछन्। ‘मेरा साथीहरूले काठमाडौंमा फारम खुलाएका थिए। तीन घण्टाभित्र ३५ जनाले फारम भरे। कोटा नै सकिएपछि बन्द गर्नुपर्यो’, उनले भने।
जाडोयाममा दुई हप्ताका लागि तालिम खुलाइन्छ। आरोहणमा इच्छा राख्नेहरूलाई आधारभूत तालिमदेखि बरफमा आरोहण, डोरी सम्बन्धी कौशल र प्राथमिक उपचारबारे उनीहरूलाई तालिम दिइन्छ। तालिममा सहभागीहरूलाई आरोहणका लागि चाहिने सामग्री र मौसम पूर्वानुमानबारे पनि ज्ञान दिइन्छ। जनवरीको अन्तिम सातादेखि फेब्रुअरीको सुरुवाती सातासम्म पोर्सेको तालिम मैदान भरिभराउ हुन्छ।
त्यहाँबाट तालिम लिएकाहरूलाई नेपालीसहित विदेशी कम्पनीले पनि जागिर दिने गरेका छन्। ‘यहाँबाट तालिमप्राप्तहरूले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय मान्यता पाउने गरेका छन्’ खुम्बु आरोहण केन्द्रका निर्देशक अमृत आले भन्छन्, ‘खुम्बुमा आरोहण तालिम लिएकाहरूलाई जागिर पाउन पनि सजिलो छ र उनीहरूले निकै दक्षता हासिल पनि गरेका हुन्छन्।’
खुम्बु आरोहण केन्द्र खोल्नुअघि पोर्सेका १२ जनाले मात्रै सगरमाथाको चुचुरो टेकेका थिए। सन् २०२१ मा केन्द्रबाट तालिम लिएका ५०० जना खुम्बु क्षेत्रका थिए भने २० जनाले सगरमाथाको सफल आरोहण गरे। यी युवा आरोहीहरू निकै दक्ष छन्। कुनै पनि कुरा एकैपटक संभव हुँदैन। खुम्बु आरोहण केन्द्रले आरोहणका लागि उपलब्ध गराएको तालिमले उनीहरूमा उर्जा र हिम्मत थपिदिएको छ। चुचुरोमा पुग्न धरातल बलियो हुनैपर्छ। आरोहण केन्द्रले आरोहीको धरातल बलियो बनाउन मद्दत गर्छ। पोर्सेका १४ आरोहीले सगरमाथा १० पटक भन्दा बढी चढिसकेका छन्। खुम्बु आरोहण केन्द्रलाई जग्गा दान गर्ने फुनरु शेर्पाले सगरमाथा १३ पटक चढिसके।
आफ्नो अविश्वसनीय उपलब्धि र प्रतिभालाई सादा तरिकामै राख्नु वा लुकाउनु पोर्सेवासीको खासियत हो। पर्वतारोहण दुनियाँका ख्यातिप्राप्तहरूसँग भेटघाट गर्ने कुरा पोर्सेवासीका लागि सोच नै थिएन। अमेरिकी पर्वतारोही एन्कर तथा इमिली हेरिंगटनका कारण पोर्सेका बासिन्दाहरू नेशनल जियोग्राफी र नर्थफेसका हिस्सा पनि बनेका छन्।
दावा याङ्जुङ शेर्पा नर्थफेसले प्रायोजन गरेको नेपालकी पहिलो महिला खेलाडी हुन्। उनी अन्तर्राष्ट्रिय पर्वतारोही महासंघबाट मान्यताप्राप्त आरोही पनि हुन्। याङ्जुङले आफ्नो प्रारम्भिक तालिम खुम्बु आरोहण केन्द्रमै लिएकी थिइन्। ‘महिलाहरूलाई आरोहणका लागि गाइडका रूपमा लिइँदैन। मैले त्यसलाई चुनौती दिनका लागि नेपाल पर्वतारोही संघबाट तालिम लिएँ र सन् २०१० मा खुम्बु आरोहण केन्द्रबाट तालिम लिंदा उत्कृष्ट विद्यार्थी पनि भएँ। खुम्बुले मलाई उत्कृष्ट भनेपछि अमेरिकी पर्वतारोही कोनार्ड एन्करले मलाई उनको टोलीसँगै सगरमाथा आरोहणको प्रस्ताव गरे’, उनले भनिन्।
पोर्से पूर्वाधारका हिसाबले पिछडिएको छ। त्यहाँ राम्रो सडकको प्रबन्ध छैन र बाटो बनाउन पनि चुनौतीपूर्ण नै छ। यस्तो अवस्थामा सोलार प्यानल, फलामे डण्डी लगायत सामग्री या त भरियाले पुर्याउँछन् या हेलिकप्टरले।
२०७२ सालको भूकम्पपछि त यो क्षेत्रको गति झन् सुस्त छ। भूकम्पको समयमा हिमपहिरो जाँदा खुम्बु क्षेत्रका २२ जनाले ज्यान गुमाए। भूकम्पले खुम्बु आरोहण केन्द्रको भवनमा समेत क्षति पुर्याएको थियो। त्यसलाई दुई वर्ष लगाएर मर्मत गरियो। अहिले त्यो भवन सगरमाथा आरोहणको प्रवेशद्वार झैं छ। जहाँबाट मानिसहरूले आरोहणबारे ज्ञान प्राप्त गर्न सक्छन्।
त्यस प्रवेशद्वारमा भेटिए ६१ वर्षीय दानुरू शेर्पा। अनुहार चाउरिए पनि उनमा जोश कत्ति पनि हराएको छैन। छेउमै रहेको हिमाल झैं दन्ते लहर खोलेर उनी मुस्कुराइरहेछन्। बुढेसकालमा पनि जोशिला दानुरू जवानीमा कस्ता थिए होलान्?
१३ पटक सगरमाथाको सफल आरोहण गरेको कुराले उनको जोशको बयान गर्छ। उनले पनि सन् २००४ मा आरोहण केन्द्रबाट तालिम लिएका थिए। त्यसपछि उनले छैटौं ठूलो हिमाल चोयो ६ पटक चढे भने पाँचौं ठूलो हिमाल मकालु एकपटक आरोहण गरे। ‘हामी आरोहणमा लगाव राख्नुको मुख्य कारण नै आर्जनका लागि हो। हामी शिक्षित नभएकाले जागिर गर्न सक्षम थिएनौं। हाम्रा युवाहरूका लागि हिमाल आरोहण पेशा नै बन्यो’, दानुरू भन्छन्।
सन् २०२१ मा तीनपटक सगरमाथा चढेका पोर्सेका उर्गेन लेन्दु शेर्पाले दुर्घटनामा ज्यान गुमाए। उनका ३१ वर्षीय दाइ तेन्जिङ ग्याल्जेन भने अझै पनि विदेशीलाई सगरमाथा पुर्याउने काम गर्छन्। उनी खुम्बु आरोहण केन्द्रका उपाध्यक्ष पनि हुन्।
खुम्बु आरोहण केन्द्रले महिलाहरूलाई पनि हिमाल आरोहण पेशामा आवद्ध हुनका लागि प्रोत्साहन गरिरहेको छ। सन् २०१९ देखि आरोहण केन्द्रले महिलाहरूका लागि पनि तालिम दिन सुरु गरेको हो। ‘जुनसुकै उमेरका नेपाली महिलाले हिमाल चढ्न सक्छन् भन्ने उदाहरण विश्वलाई दिनुछ’, बुवासँग सगरमाथा टेकेकी पासाङ कान्छी शेर्पा भन्छिन्।
सगरमाथा चढ्नुअघि पासाङले ६ हजार मिटर उचाइका हिमाल चढेकी थिइन्। एक महिनासम्म खुम्बु आरोहण केन्द्रमा तालिम लिएपछि उनले सगरमाथाको चुचुरोमा पाइला राखिन्। ‘सगरमाथा आरोहण निकै नै जोखिमपूर्ण छ तर पोर्सेवासीका लागि अब त यो चुचुरो पनि अग्लो लाग्न छोडिसक्यो।’
source https://www.onlinekhabar.com/2023/03/1270400
0 comments:
Post a Comment