Sunday 3 December 2023

मर्दी जाने पदयात्रीबाट महिना दिन नबित्दै १२ लाख रुपैयाँ संकलन

१८ मंसिर, पोखरा । कास्कीकोमाछापुच्छ्रे गाउँपालिकाले मर्दी तथा खुमैं–कोर्चाङ पदयात्रीबाट एक महिनामै १२ लाख रुपैयाँभन्दा बढी प्रवेश शुल्क उठाएको छ । गाउँपालिकाले कात्तिक १७ गतेबाट स्वदेशी तथा विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउन सुरु गरेको थियो ।

गाउँकार्यपालिका सदस्य राम गुरुङका अनुसार मंसिर १ गते मर्दी र खुमैं दुवैमा सर्वाधिक पदयात्री पुगेका थिए । उनले मर्दीमा उक्त दिन ५६० जना स्वदेशी र ३९ जना विदेशी पदयात्री पुगेको जानकारी दिए । ‘खुमैंमा पनि त्यो दिन २५० जना नेपाली पदयात्री एकैदिन पुगेको रेकर्ड छ,’ उनले भने ।

माछापुच्छ्रे मोडल ट्रेलका लागि मर्दी हिमाल (लोक्याम्प)मा र खुमैं–कोर्चाङ पदयात्राका लागि लुब्रकुमा शुल्क उठाउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । पदयात्रीबाट प्रवेश शुल्क उठाउन थालेपछि आधिकारिक संख्या र विवरण प्राप्त गर्न पनि सहज भएको गुरुङको दाबी छ ।

पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीलाई ५ सय र नेपाली पदयात्रीलाई १ सय रुपैयाँ तोकिएको छ । माछापुच्छ्रे गाउँपालिकाको माछापुच्छ्रे मोडल ट्रेल (मर्दी हिमाल पदमार्ग)सहित ग्रेट माछापुच्छ्रे ट्रेल (खुमैं–कोर्चाङ पदमार्ग) र तारा–हिलटप पदमार्ग पछिल्लो समय पदयात्रीको सर्वाधिक रोजाइँमा पर्दै आएको छ ।

कार्यपालिका सदस्य गुरुङका अनुसार चेकपोस्टमा उठाइएको प्रवेश शुल्क प्रत्येक १५÷१५ दिनमा पालिकामा जम्मा गर्नुपर्ने नियम बनाइएको छ । ‘कात्तिक १७ देखि मंसिर १ गतेसम्म मात्रै मर्दीमा २ हजार ९५ जना स्वदेशी र ६ सय ६५ विदेशी पुगेको देखियो,’ गुरुङले भने, ‘खुमैंतिरको अझै आउन बाँकी छ । यो महिनाको पनि हिसाब गर्नै बाँकी छ । संख्या अझै बढ्छ ।’

गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । उक्त गाउँसभाबाट पारित आर्थिक ऐन २०८० को अनुसूची ६(७)अनुसार गाउँपालिकाले पदयात्रीबाट शुल्क उठाउन लागेको हो । मर्दी हिमालमा वार्षिक अनुमानित ३५ हजार पदयात्री पुग्ने गरेको गाउँपालिकाको भनाइ छ । त्यसमध्ये मर्दी पुग्ने विदेशी पदयात्रीको संख्या अनुमानित ७ हजार छ ।

गाउँपालिकाले पर्यटकबाट शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायी भने रुष्ट छन् । विभिन्न बहानामा तेहोरो शुल्क उठाउँदा पर्यटक घटेको भन्दै उनीहरुले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संकलित रकमबाट ठाउँ–ठाउँमा फोहोर डस्टविन, पर्यटक सूचना केन्द्र र पर्यटक प्रहरीको व्यवस्थापन गर्ने गाउँपालिकाको योजना छ । तर, पर्यटक सूचना केन्द्र र पर्यटक प्रहरी भवन बनाउन अन्नपूर्ण संरक्षण क्षेत्र योजना (एक्याप)ले अनुमति नदिएका कारण काम अगाडि बढ्न नसकेको गुरुङको भनाइ छ ।

‘पछिल्लो समय नेपालीहरुले ट्रेकिङ सुरु गरेका छन् । तर, उनीहरुको ट्रेकिङ होइन म्याराथन हो । कोभन्दा को अगाडि पुग्ने प्रतिस्पर्धाजस्तै छ,’ उनले भने, ‘त्यसमाथि वनजंगलमा स्पिकर बजाउँदै हिँडेर डिस्टर्ब गरिरहेका छन् । त्यसलाई व्यवस्थापन गर्न पनि सूचना केन्द्र र पर्यटक प्रहरी चाहिन्छ ।’

गुरुङले अगाडि थपे, ‘तर, एक्यापले भवन बनाउन अनुमति नदिँदा त्यो योजना अगाडि बढाउन सकेका छैनौं । हाम्रो लागि मात्रै गरेका थिएनौं, पदयात्रीका लागि पनि राम्रै हुन्थ्यो ।’

एक्यापले भवन बनाउन अनुमति नदिँदा मर्दी तथा खुमैंमा खुलेका होटल तथा रेस्टुरेन्टको कर पनि असुल्न नपाएको गुरुङले सुनाए । ‘व्यवसायीहरु आफैं करको दायरामा आउँछौं भन्नुहुन्छ । तर, एक्यापले अनुमति नदिँदा हामीले पनि केही गर्न सकेका छैनौं । यही कुरामा विवाद हुँदै आइरहेको छ,’ उनले भने ।

पर्यटन व्यवसायी रुष्ट, बुझाए ध्यानाकर्षण पत्र

गाउँपालिकाले पर्यटकबाट शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायी भने रुष्ट छन् । विभिन्न बहानामा तेहोरो शुल्क उठाउँदा पर्यटक घटेको भन्दै उनीहरुले शुक्रबार गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिले गाउँपालिकालाई बुझाएको ध्याणाकर्षण पत्रमा दोहोरो कर प्रणालीले पर्यटकको संख्या घटेको उल्लेख गरिएको छ । पालिकाको उक्त निर्णयले पर्यटन व्यवसायी तथा मर्दी क्षेत्रका पर्यटकसँग सरोकार भएका सबै गतिविधिमा नकारात्मक असर परेको समितिको ठहर छ ।

‘कर प्रणाली लागू हुनुभन्दा अगाडि दैनिक औसत २५० आन्तरिक र १५० विदेशी पर्यटक आवागमन गरेको,’ पत्रमा भनिएको छ, ‘पछि पर्यटक आवागमन दिनानुदिन घट्दै गएको साथै होटल बुकिङ पनि रद्ध भएका छन् ।’

मर्दीलगायतका पदयात्रामा आउने विदेशी पर्यटकसँग पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले संयुक्त रुपमा पदयात्रा सूचना प्रणाली (टिम्स) बापत विदेशी पर्यटकसँग शुल्क लिन्छ । टिम्सबापत सार्क देशका पर्यटकबाट १ हजार र सार्क सदस्य राष्ट्र बाहेकका पर्यटकबाट २ हजार रूपैयाँ लिने गरेको छ ।

यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पनि यहाँका पदमार्गमा प्रवेश शुल्कको नाममा रकम असुल्दै आइरहेको छ । एक्यापले सार्क देशका पर्यटकसँग १ हजार रुपैयाँ र सार्क बाहिरका विदेशी पर्यटकसँग ३ हजार रूपैयाँका दरले प्रवेश शुल्क लिँदै आएको छ ।



source https://www.onlinekhabar.com/2023/12/1400387

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More