नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने गरिन्छ । सम्पूर्ण जगतका हरकणमा ऊर्जा र प्राणशक्तिको अनुभवले नै मानिसलाई सफलताको विन्दूमा पुर्याउने गर्दछ । यही सर्वव्यापी, जागृत, प्रत्यक्ष बुद्धिमत्ता सृष्टिमा अनुभव गर्नु नै कुष्माण्डा हो । कुष्माण्डाको शाब्दिक अर्थलाई हेर्दा यसको अर्थ लौका एवं कुपिण्डो भन्ने हुन्छ । यसको प्रतिकात्मक अर्थले हामीहरुको प्राणशक्ति पनि कुपिण्डो वा लौका जस्तै आकार र स्वरुपको छ भन्ने बुझिन्छ ।
पूर्वीय मान्यता अनुसार लौका र कुपिण्डो केवल महाज्ञानी वा विद्वान ब्राह्मणको भोजन हो । अरु कुनैपनि वर्गका मानिसलाई यसको सेवनको अनुमति छैन । वैज्ञानिक दृष्टिले हेर्ने हो भने लौका र कुपिण्डोलाई प्राणशक्ति, बुद्धि र शारीरिक शक्ति बढाउने स्रोतको रुपमा मान्ने गरिन्छ । विभिन्न धर्मशास्त्रहरुले कुपिण्डोको बारेमा व्याख्या गरेका छन् ।
जसमा कतै यसले प्राणलाई आफूभित्र सोस्ने गरेको उल्लेख पाईन्छ भने कतै यसले प्राणलाई प्रसार गर्ने कुरा समेत उल्लेख गरिएको छ । धर्तीको सबैभन्दा अधिक प्राणवान तथा उर्जा प्रदान गर्नेवाला फल कुपिण्डो हो । जसरी पिपलको वृक्षले २४ घण्टा नै अक्सिजन दिने गर्दछ । त्यसै प्रकार लौका तथा कुपिण्डोले प्रचुर मात्रामा ऊर्जालाई ग्रहण या अवशोषित गरेर उसको प्रसार गर्ने गर्दछ ।
धार्मिक मान्यता
धार्मिक मान्यतालाई आधार मान्ने हो भने कुष्माण्डा देवी मृत्यु, रोग र कमजोरीका साथै शरीर तथा आत्माको दोषलाई हटाउन विलक्षण कार्य गर्ने देवीको रुपमा लिइन्छ । यो धार्मिक मान्यतालाई विज्ञानसँग जोड्दा मृत्यु, रोग र कमजोरीको समस्या समाधान गर्ने एउटै जडिबुटी कुपिण्डोको सेवन तर्फपनि यसले संकेत गरेको हो कि भन्ने विश्वास गर्न सकिन्छ ।
आफ्नो मदमाधुर्यको बलले अण्ड अर्थात् ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको भन्ने अर्को तर्कपनि पाईन्छ । संस्कृत शब्द कुष्माण्डाको नेपाली नाम कुपिण्डो हुन्छ । ब्रह्माण्ड नै उत्पत्ति गरेको भन्ने अर्थमा यिनलाई आदिदेवी वा आदिरुपापनि भन्ने गरिन्छ । सूर्यमण्डल भित्र बस्ने यी देवीको आठ ओटा हात रहेको मानिन्छ । जसमा कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ । एउटा हातमा भने सबै सिद्धि तथा निधि प्रदान गर्नेवाला माला रहेको देखिन्छ ।
कुष्माण्डाको पूजा विधि
सबैभन्दा पहिले कलश र उसमा स्थापना गरिएको नवदूर्गा एवं अरु भगवानहरुको पूजा गर्नुपर्दछ । त्यसपछि कुष्माण्डा देवीको पूजा गर्नुपर्दछ । पूजाको विधि सुरु हुनुभन्दा पहिले हातमा फूल लिएर देवीलाई प्रणाम गर्नुपर्दछ । त्यसपछि व्रत, पूजनको संकल्प गर्नुपर्दछ । त्यसपछि वैदिक एवं दूर्गा सप्तशती मन्त्रद्वारा कुष्माण्डा सहित समस्त स्थापित देवताहरुको षोडशोपचार विधिद्वारा पूजा गर्नुपर्दछ।
यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, बेसार, सिन्दूर, दुवो, बेलपत्र, आभूषण, पुष्पाहार, सुगन्धित द्रव्य, धूप९दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गर्नुपर्दछ। तत्पश्चात प्रसाद वितरण गरी पूजा सम्पन्न गर्नुपर्दछ ।
कुषमाण्डाको ध्यान मन्त्र
वन्दे वांछित कामर्थे चन्द्रार्घकृत शेखराम्।
सिंहरूढ़ा अष्टभुजा कूष्माण्डा यशस्वनीम्॥
भास्वर भानु निभां अनाहत स्थितां चतुर्थ दुर्गा त्रिनेत्राम्।
कमण्डलु, चाप, बाण, पदमसुधाकलश, चक्र, गदा, जपवटीधराम्॥
पटाम्बर परिधानां कमनीयां मृदुहास्या नानालंकार भूषिताम्।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल, मण्डिताम्॥
प्रफुल्ल वदनांचारू चिबुकां कांत कपोलां तुंग कुचाम्।
कोमलांगी स्मेरमुखी श्रीकंटि निम्ननाभि नितम्बनीम्॥
कुष्माण्डा देवीको स्तोत्र पाठ
दुर्गतिनाशिनी त्वंहि दरिद्रादि विनाशनीम्।
जयंदा धनदा कूष्माण्डे प्रणमाम्यहम्॥
जगतमाता जगतकत्री जगदाधार रूपणीम्।
चराचरेश्वरी कूष्माण्डे प्रणमाम्यहम्॥
त्रैलोक्यसुन्दरी त्वंहिदुःख शोक निवारिणीम्।
परमानन्दमयी, कूष्माण्डे प्रणमाभ्यहम्॥
source https://www.onlinekhabar.com/2019/10/800691
0 comments:
Post a Comment