चौंरीहरुको चालमा अलि ढिलो हिँड् है, केटा,” पहराका भित्तामा ढाड टाँसेर साँघुरा पहाडी भन्ज्याङहरु छिचोल्दै जाँदा सोनामले केटौले छोरालाई भने, “सीधा अगाडि हेरेर हिँड् । बाटाको ढुङ्गो वा चट्टान हेरेर मात्र खुट्टा टेक् । तल्तिर नहेर्, यताउता नहेर्, मन कतै नबराल् ।” जीवनको यात्राका लागि त्यो बडो राम्रो सुझाव थियो ।
धेरै अघिदेखि एकदमै ज्योतिर्मय सौन्दर्यले सुसज्जित ठाउँका रुपमा हिमालयको बयान गर्ने गरिएको छ । नेपालको बाटो गरी तिब्बत प्रवेश गर्ने प्रथम पश्चिमा अन्वेषक र लेखक पिटर माथ्थिउसेन पहिलो पटक सगरमाथा देख्दा एकदमै मन्त्रमुग्ध भएका थिए । सन् १९७८ मा लेखिएको स्नो लियोपर्ड पुस्तकमा “स्वर्गतुल्य चमकदार शिखर” भनी सगरमाथाको बयान गरिएको छ ।
सानो केटो छँदा सन्दुकलाई हिमाल, विशेषगरी त्यसमध्ये पनि कञ्चनजङ्घालाई पवित्र शक्ति भएको आफ्नो गृह पहाड मान्न सिकाइएको थियो । थुपै्र पश्चिमाहरुका दृष्टिमा हिमालहरु विजय प्राप्त गरिने वस्तुभन्दा पनि सम्मान गरिनुपर्ने ठाउँ हुन्, जहाँ बाँच्नका लागि सहनशीलता, आस्था र भौतिक शक्तिको खानी नै चाहिन्छ ।
संसारको छानो छिचोल्नु कति खतरनाक हुन सक्छ भन्ने कुराको पहिलो चोटि अनुभव गर्दै थिए सन्दुक । उनको उमेरका धेरैजसो केटाका लागि यो झन्डैजसो कल्पनाबाहिरको यात्रा थियो । यस्तो यात्रामा सन्दुकले कपडाका मामुली चिनियाँ जुत्ता लगाएर आफ्ना बासँग दुई हप्तासम्म नाक ठोक्किने भीर, बरफका चक्का र जोडले हुत्तिँदै बग्ने नदीमाथि हालिएका मुढाका धराप साँघुहरु तरे ।
उनीहरुको गन्तव्य भारतको पश्चिम बङ्गालको उत्तरमा पर्ने दार्जीलिङको इसाई स्कुल सेन्ट रोबर्ट्स स्कुल थियो, जहाँ रूइतका बाले उनलाई भर्ना गरेका थिए । कागको उडाइका हिसाबले त्यो यात्रा त्यस्तै एक सय ५० किलोमिटरको हुँदो हो । तर बाटो कति साह्रो ढुङ्ग्याने र घुमाउरो थियो भने त्यसको वास्तविक दूरी नाप्न असम्भव छ । त्यस बखत त्यहाँ पुग्ने अर्को बाटो छँदै थिएन ।
रूइतका बा साँघुका ससाना तख्तामाथि र ढुङ्ग्याने बाटोमा यसरी फटाफट हिँडे, मानौं त्यो उनको स्वाभाविक गुण हो । त्यसैले त उनका खुट्टा चौंरीहरुका झैं ठीक ठाउँमा टेक्थे । उनी चौंरीहरुझैं चुस्त र विश्वस्त थिए । उनको चालमा मोहकता पनि थियो । तर सात वर्षको उमेरमा सन्दुकचाहिँ आफ्ना खुट्टालाई भर्खर सदाउँदै थिए । जीवनका ती कठोर प्रथम दिनहरुमा त्यस्ता थुप्रै क्षणहरु थिए जतिखेर उनी यति लडखडाए, लडे वा डराए कि उनका खुट्टा डेग चल्नै मानेनन् । त्यस्तो बेलामा सोनामको व्यापारिक कामकाज र यात्राहरुको प्रबन्ध मिलाइदिने बफादार सहयोगी धार्के सन्दुकलाई फकाइफुल्याई अगाडि बढाउँथे ।
सन्दुक धार्केलाई विश्वास गर्थे । उनी भन्थे, “उनको अनुहार साह्रै दयालु थियो । बाटो काट्दा वा साँघु तर्दा म डराएँ भने उनी मलाई हात समातेर डोर्याउँथे । अनि राति मलाई धाप मार्दै सुताउँथे । उनी मलाई कोट लाउन सघाउँथे । अनि बाटो लाग्नुअघि मैले नास्ता मनग्गे खाए, नखाएको ख्याल गर्थे ।”
पहिलो रात सोनाम र धार्के थाकेर साह्रै लखतरान भएका थिए । त्यसैले तिनले सुकुटी हालेको ढिँडो मात्रै पकाए । सन्दुकचाहिँ रूनरून खोज्दै थिए । उनी घर फर्केर आफ्नी आमाको भान्सामा जान र परिवारका सबै जनासँग अँगेनाका छेउको न्यानो ओछ्यानमा सुत्न हुरूक्क भएका थिए ।
“पहाडको गुफामा सुत्दा म पक्का पनि चिन्तित भएँ हुँला । किनभने बिहान ब्यूँझिँदा थाहा भयो— मैले त ओछ्याएको भेडाका छालाको राडीमा पिसाब फेरेको पो रहेछु,” सन्दुक भन्छन् ।
सधैंजसो कठोर रूइतका बाले सात वर्षका केटालाई यो सब कति
बिरानो लागेको होला भनी बुझेका हुनुपर्छ । उनीहरुले कञ्चनजङ्घाको दक्षिण मोहडामा लागेको घाम हेर्दै गर्दा सोनामले चाहिँ चिया पकाए, ढिँडो ओडाले अनि पिसाबले निथ्रुक्कै भिजेको राडी चौंरीका ढाडमा सुकाए । त्यसबारे उनले केही भनेनन् ।
उनीहरुको यात्रामा आइरहने प्रत्येक साना, हल्लिने झोलुङ्गे पुलहरुदेखि सन्दुक डराउँथे । पाइलो छिसिक्क रड्कियो कि हिउँको दरारमा झ्वाम्मै खसियो । सानो भूलचुकले गर्दा ज्यानै जान सक्थ्यो । एक ठाउँमा त उनीहरुले काठको एउटै फलेकमा हिँडेर हुङ्कारमय तमोर नदी तरे ।
सन्दुक भन्छन्, “मलाई सम्झना छ— धार्केले मेरो एउटा हात समाते अनि अर्का व्यापारीले मेरो अर्को हात समाते । मैले तल हेरिनँ । मलाई थाहा थियो— नदीमा खसें भने मलाई हुत्त बगाइहाल्छ ।”
सन्दुकको तागत छिट्टै बढ्यो । एकाध दिनमै उनलाई लाग्यो— बा जुन धातुले बनेका हुन्, म त्यही धातुले बनेको हुँ । यात्राको आखिरीतिर दलबलका हरेक जनालाई भेट्ने गरी हिँड्न सक्दा उनी फुरूङ्ग भए ।
सन्दुक प्रायः घण्टौंसम्म आफ्ना बा वा धार्केका पाइला पछ्याउँदै हिँडे । त्यसरी हिँड्दा आफ्नै मुटुको ढुकढुकी सुनेको र लाठेहरुलाई भेट्न शरीरको एकएक थोपो तागत लगाएको उनलाई राम्रै सम्झना छ ।
भुवादार पुच्छर भएका, हिमरेखामाथिको धेरै उचाइमा खुबै फूर्तिला देखिने तर कम उचाइमा भने चाल घटाउन जिद्दी गर्ने चौंरीहरुसँग उनी मोहित भए । उनलाई तिनका रौं झ्याम्म भएका यालहरुमा बाँधिएका चमकदार रङ्गीन रिबनहरु र घण्टीहरु औधी मन परे ।
सेरोफेरोको बन्जर र त्यसैत्यसै डर लाग्ने खालको भूदृश्य उनीहरुका लागि बिरानो थियो । आखिर त्यही त तिनको संसार थियो । तिनले आफ्नो सारा यात्राभरि अरु कसैलाई भेटेनन् । चीलहरुले शिरमाथि वेग मार्दा आउने आवाज, नदीको गर्जन र बेलाबेला ढुङ्गा गुड्दा आउने आवाज सिवाय त्यहाँ कुनै आवाज सुनिँदैनथ्यो । कुनै बेला त यति सुनसान हुन्थ्यो कि मौनता नै गोलीको विस्फोट जस्तो लाग्थ्यो । सोनाम र धार्के चिनेजानेका भेडा गोठालाहरुका छाप्रामा वा गुफाहरुमा वास बस्थे । उनीहरुले सानो आगो बालेर आलु र मकै वा दालभात पकाउँथे ।
राति ताराहरु यति चम्किला र नजिकै देखिन्थे कि सन्दुकलाई यसो हात लम्काएर तारा छुन सकिएला कि जस्तो लाग्थ्यो । धार्केले ओछ्याइदिएको राडीमा पल्टियो कि उनी घुप्लुक्क निदाइहाल्थे ।
पूर्वी नेपाल र भारतको सिमानै सिमाना भएर जाने बाटो सबैभन्दा थकाइलाग्दो थियो । तिनले अनेक दिन तापक्रम शून्यभन्दा कम भएको र हिउँले चारैतिरबाट हरदम झापट दिइरहने नाङ्गो टाकुरो भएर अघि बढ्नुपर्याे । सन्दुकसँग टोपी त थियो तर पन्जा थिएनन् । उनका हात यति कठ्याङ्ग्रिए कि उनलाई आफ्ना औंला झर्लान् कि जस्तो लाग्यो । उनलाई चिसो बतासले लुगाभित्र घुसेर हाने जस्तो लाग्यो । बतासले कसो उनको ज्यान नलिएको !
पहराको थाप्लो र हिउँको संसारबाट तल दार्जीलिङ नजिक पश्चिम बङ्गालका अलि मुलायम र सौम्य डाँडाहरुमा झरेपछि बल्ल सोनामको टोलीले न्यायो महसुस गर्न थाल्यो । एक घण्टाभित्र अचानक उनीहरुलाई एकदमै फरक भूदृश्य भएको ठाउँमा भित्रिएको अनुभूति भयो । उनीहरु धूपी र लाली गुराँसका बोटहरुको बीचबाट अघि बढे ।
सन्दुकलाई बाले दुर्लभ रेडपान्डाहरु बसोवास गर्ने बाँस झ्याङहरु देखाए । उनी मकैका पहेंलपुर बारी र आँखाले भ्याएसम्मको सेरोफेरोमा फैलिएका मखमलीमय हरिया चिया बगान देखेर मुग्ध भए । पदयात्राको अन्तिम दिन जब सन्दुक र सोनाम दार्जीलिङको छेउछाउ पुगे, त्यहाँको होहल्ला र हाहाकारले उनको दिमाग लाटियो ।
साइकलका लहरहरु एक स्वरमा घण्टी बजाउँदै बत्तिए । पसलहरुका रेडियोहरुमा हिन्दी गीत घन्किए । पसलका दराजहरु सजिलै हात लागेको पैसा राखिएका सिसाका भाँडाहरु र बिस्कुटहरुले भरिभराउ थिए । रङ्गीन सारी र राता टीका लगाएका महिला अप्सरा जस्ता थिए । नीला आँखा र खैरो कपाल भएका अग्ला गोराहरु त झनै आश्चर्यजनक थिए ।
सन्दुकले मोटरगाडी देखेको त्यो पहिलो चोटि हो । उनी भन्छन्, “मलाई ती मिसिनहरु बडो विचित्रका लागे ।” त्यस दिन विश्वकर्माको पूजा गर्न बसहरु सयपत्रीका मालाले चिरिच्याट्ट सिँगारिएकाले पनि उनलाई ती अझ विचित्र लागेका थिए ।
त्यो भद्रगोल तमासा हेर्दे उभिँदा सन्दुकलाई तीव्र हीनभावनाले छोप्यो ।
“यसो निहुरिएर आफ्ना चौंरीको ऊनका घरबुना कमिज सुरूवाल हेर्दा म कसरी लाजले भुतुक्क भएको थिएँ, त्यो मलाई अझै सम्झना छ । मलाई त आफू कस्तो पाखे रहेछु भन्ने लाग्यो । मानौं, म प्राग्ऐतिहासिक युगबाट आधुनिक सहरमा एकाएक प्रकट हुन पुगें । मलाई त कता लुकूँ, कता बिलाऊँ भन्ने लाग्यो ।”
तर, सन्दुकले लुक्ने र बिलाउने मौकै पाएनन् । सन्दुकलाई थाहा भएको अर्को कुरा के भने उनका बा धार्के र टोलीका अरु मानिससँग बिदा हुँदै आफ्ना छोरालाई झङ्ल्याङझुङ्लुङ पार्दै एउटा बसको छतमा चढाउँदै थिए । “जिल्ल पर्दै बसका ठूला रबरका पाङ्ग्रा हेरेको मलाई सम्झना छ । हैन, के यो जिनिस उठ्न लाग्या हो ? के यसलाई घोडाले घिसार्ने हो ? कि यो पानीमा पौडिने हो ?” उनले स्मृति उघारे, “बाले अरु यात्रुहरुलाई हामीलाई छतमा सिट खोजिदिन बिन्ती बिसाए । ड्राइभरले अगाडि ह्यान्डिल चलाउँदा र इञ्जिन स्टार्ट गर्दा निस्केको आवाजले मेरो सातो लियो । सडक र मोडहरुमा बसले घच्याक र घुचुक हल्लाउँदा बाले मलाई समातेको अझै सम्झना छ ।”
आखिरमा बस दार्जीलिङ पुगेर धूवाँको मुस्लो ओकल्दै घ्याच्च रोकिएपछि उनीहरु छतबाट हातपाउ टेकेर बडो गाह्रोसँग ओर्लिए । अनि हिमालको दृश्य देखिने अग्लो पर्वतीय नगरीको बीचैबीच सेन्ट रोबर्ट्स स्कुलतिर लागे ।
सन् १९३० मा ब्रिटिस मिसिनरीले इँटाको गारो लगाएर बनाएको आवासीय स्कुल थियो त्यो । उनीहरुले चौर पार गर्दा पानी फोकाका कारण सन्दुक आफ्ना खुट्टा खोच्याउँदै थिए । बाबुछोराले एकदमै मौन भावले आँखा उठाएर काठका बडाबडा ढोकाहरु हेरे । अनि ढोका ढक्ढक्याउँदै लामो सास फेरे ।
(अली ग्रिपरद्वारा अंग्रेजी भाषामा लेखिएको सन्दुक रुइत पुस्तकको अंश । यसैसाता बजारमा आएको यो पुस्तकको नेपाली संस्करण खगेन्द्र संग्रौलाले अनुवाद गरेका हुन् )
source https://www.onlinekhabar.com/2019/10/801402
0 comments:
Post a Comment