पाका पत्रकार भैरव रिसाल उमेरले ९० बर्ष नाघिसके । भक्तपुरमा जन्मी-हुर्केका उनीसँग बाल्यकालमा बिताएका दशैंको रोमाञ्चक स्मृति छ । दशकौंअघि दशैं कसरी मनाइन्थ्यो ? गाउँघरको रौनक कस्तो हुन्थ्यो ? यावत् विषयमा अनलाइनखबरका लागि सुदर्शन अर्यालले उनीसँग विगत कोट्याएका छन् ।
उबेलाको दशैं
दशैंको महत्वलाई बुँदागत रुपमा भन्ने हो भने चिउरा खाने, नयाँ लुगा लगाउने, पिङ खेल्ने, खल्पीको अचार खाने, दक्षिणा लिने आदि कारणले यो विशेष हुने गरेको छ ।
म उपत्यका आसपास (काँठ) क्षेत्रको ब्राहृमणको छोरो हुँ । निम्नमध्यम वर्गीय परिवारको सदस्य भएपनि हाम्रो घरमा अहिलेसम्म दशैंमा सापटी नै खोजेर मान्नु पर्ने अवस्था आएको छैन । मैले जन्मिएको ५ वर्षको उमेरदेखिका घटनाहरु याद गर्ने गरेको छु । तरपनि हाम्रो बाल्यकालमा वर्षमा एकपटक पेटभरी मासु खान पाउने र नयाँ कपडा लगाउन पाउने भएकोले दशैंको महत्व बढ्ने गरेको थियो ।
दशैंमा आफ्नै धानको चिउरा
दशैंको चटारो झण्डै एक महिना अघिदेखि सुरु हुन्थ्यो । दशैंमा विशेष खानाको रुपमा मासुसँगै चिउरा पनि थियो । तर, अहिलेको जस्तो चिउरा बजारमा पैसा तिरेपछि भन्नेबित्तिकै पाउने अवस्था थिएन । त्यसका कारण हामीहरु आफ्नै घरको धानलाई मिलमा लगेर कुट्ने गर्दथ्यौं ।
हाम्रो खेतमा थापा चिनियाँ नामको एक प्रकारको धान लगाउने चलन थियो । यो छिट्टै पाक्ने किसिमको धान हो । जसका कारण त्यो धान काटेर उसिनेर चिउरा दशैंको लागि चिउरा बनाउने गरिन्थ्यो । जतिबेला भन्यो उतिबेला खान नपाउने भएकोले चिउरा हाम्रोलागि विशेष थियो ।
दशैं र असार बाहेक अरु समयमा हामी चिउरा खान पाउँदैन थियौं । दशैंमा थापा चिनियाँ धानको चिउरा कुट्नको लागि आमाहरु नै चित्रपुर भन्ने ठाउँमा पुग्नुहुन्थ्यो ।
चार्डपर्वमा चेलीबेटीलाई चटारो
म बुझ्ने हुँदादेखि नै पुरुष मानिसहरु खासै काम नगर्ने र उच्च स्तरीय केही काम मात्रै गर्ने गर्दथे । आमा दिदीबहिनीहरुलाई साह्रै गाह्रो थियो । जस्तो कि खेतमा धान काट्नेदेखि बोक्नेसम्म सबै कामहरु महिलाहरुले नै गर्नुपर्दथ्यो ।
तर, त्यही धान झार्ने बेलामा भने पुरुषहरु जाने गर्दथे । फेरि चुटेपछि महिलाहरुले नै बोक्ने गर्दथे । घरमा कमेरो लगाउने र पोत्ने काममा पनि यस्तै विभाजन थियो । घरभित्र अधिकांश ठाउँहरुमा महिलाहरुले लिपपोत गर्ने गर्दथे भने घरको बाहिर पोत्नु परेमा पुरुषहरु अघि सर्दथे ।
घर लिप्ने माटो लिन जाँदा
माटो लिन भने आमाहरु नै जाने गर्नुहुन्थ्यो । साना साना डालीमा ल्याएर पुग्ने भएमा हामी पनि जाने गर्दथ्यौं । त्यो माटो लिन जाने समय समेत हामीहरुको लागि उत्सव जस्तै हुन्थ्यो । दशैंको तयारीको क्रममा आमाको काम यतिमात्रै हुने थिएन ।
माटो मात्रै लिपेको पिँडी र छिँडीमा बस्नै नहुने भएकोले घिरौलाका पात गोबरमा हालेर लिपो लगाउने गरिन्थ्यो । त्यो पनि आमाकै कार्यक्षेत्र भित्र पर्दथ्यो । दशैंकै समयमा तोरीको साग टिपेर गुन्दू्रक हाल्ने काम हुन्थ्यो । त्यो पनि आमाहरुकै हुन्थ्यो ।
चिउरा हेर्दै, थुक निल्दै
यी त भए दशैंको पूर्व तयारीका कुरा । जब दशैं हुन्थ्यो जमरा राखेको घरमा ननुहाई छिर्न दिँदैन थिए । त्यसैले कतिपटक त नुहाएर पनि छिरियो । कतिपटक नुहाउन मन नलागेर त्यसै बाहिरै पनि बसियो । सप्तमीको दिनसम्म कुरेपछि फूलपाती भित्र्याउने काम हुन्थ्यो ।
फूलपाती भित्र्याएपछि मात्रै पहिले कुटेको चिउरा खान पाईन्थ्यो । पहिले नै खान्छन् भनेर आमाहरुले फूलपाती अघि चिउरा निफन्नु नै हुने थिएन । जसका कारण भुसहरु भएको चिउरा खान पनि सक्ने थिएनौं । हामीहरु चिउरा देखेर मात्रै स्वाद लिने गर्दथ्यौं । फूलपाती भित्र्याएपछि सप्तमीको दिन पेटभरी चिउरा खान पाईन्थ्यो ।
दशैंमा मात्र पेटभरी मासु
अष्टमीको दिनदेखि हामीहरुको मासुको श्रृङ्खला सुरु हुने गर्दथ्यो । अहिलेजस्तो जहिले भन्यो त्यहिले मासु खान पाईने थिएन । त्यसैले दशैं मासुकै लागि समेत विशेष हुने गर्दथ्यो । दशैंको अष्टमीको दिन दुई किसिमको मासु काट्ने गरिन्थ्यो ।
एउटा दशैंघरभित्र बलिको रुपमा बोको काट्ने र बाहिर खसी काट्ने गरिन्थ्यो । कहिले दशैंमा सिङ्गै खसी काटिन्थ्यो भने कहिले तीन खुट्टामात्रै लिईन्थ्यो र एक खुट्टा अरुलाई नै दिने गरिन्थ्यो । मासु खाने भनेको नै ठूलो दशैंमा हो । अ
सोजको ठूलो दशैंमा पेटभरी मासु खाने र चैते दशैंमा अलिक कम मासु खाने गरिन्थ्यो । हामीहरुलाई खसी काटेपछि अर्काे रमाईलो आँद्राभुँडी धुन जाने समयमा हुने गर्दथ्यो । त्यो फोहोर सफा गर्नुपर्ने भएकोले एकातर्फ झण्झट त थिँदै थियो । अर्काेतर्फ त्यसमा बच्चाहरुको रमाईलो पक्ष पनि जोडिएको थियो ।
मामाघर, नयाँ लुगा र पिङ
अर्काे दशैंको विशेषता भनेको मामाघर जाने हो । मामाघर भक्तपुरकै ताथली भन्ने ठाउँको नालाछापमा पर्दथ्यो । मामाघर जानुको मज्जा पनि बेग्लै छ । भाञ्जाभाञ्जी आए भनेपछि मामाघरमा पनि चिज हुन्थ्यो । दशैंमा टीका लगाएर ५ पैसा दिएभने त ठूलो उत्सवै हुन्थ्यो । प्रायः २/३ पैसा पाउने गरिन्थ्यो । वर्षभरीको लागि दशैंमा मात्रै कपडा सिलाउनु पर्ने भएकोले सूचीकारहरुले कहिलेकाहीँ दशैं अघि नै कपडा सिलाउन भ्याउने थिएनन् ।
नयाँ लुगा सिलाउनको लागि बालीघरे सूचीकार हुन्थे । उनले कपडा सिलाउन नभ्याएको कारणले कति दशैंमा त हामी मामाघर जान पनि पाएनौं ।
अर्काे दशैंको महत्व लिङ्गे पिङसँग पनि हुन्थ्यो । चारपटि्ट बाँस गाढेर माथि अर्काे बाँस तेस्र्याएर पिङ बनाईन्थ्यो । बच्चाहरुको दिन यही पिङ तिरै बित्थ्यो । तर, त्यहाँ पनि अर्कै किसिमको संघर्ष हुने गर्दथ्यो । ठूला केटाहरुले सानालाई खेल्नै दिने गर्द’थे । खेल्न दिएनन् भनेर रोयो करायो । त्यसरी नै चल्थ्यो बालापनको दशैं । समग्रमा भन्दा चिउरा, नयाँ लुगा पिङ, खल्पीको अचार दक्षिणा आदिका कारण हाम्रो समयको दशैं अलिक विशेष थियो ।
भूमिसुधारपछि दशैं बदलियो
दशैं यसरी नै चल्दै थियो । दशैंलाई पञ्चायतकाल अझभन्दा २०२१ सालसम्म र त्यसपछि केही तत्वहरुले परिवर्तन गरेको पाईन्छ । विसं २०२१ सालमा भूमिसुधार आएपछि दशैंको महत्व बढ्यो ।
भूमिसुधार सुरु हुनुभन्दा केही समय पहिले नै कृषकहरुले रासायनिक मलको प्रयोग गरेर उब्जाउ बढाउने गरिरहेका थिए । भूमिसुधारका कारण जग्गा धनीलाई वर्षको २१ पाथी धान प्रतिरोपनीको दरमा दिएपछि अरु केही पनि दिनु नपर्ने प्रचलन आयो । यसले गर्दा आर्थिक रुपमा निम्न स्तर भएका किसानहरुको पनि अवस्था बदलिन थाल्यो । आफ्नो आर्थिक स्थिति बदलिएपछि दशैं पनि बदलियो ।
राजनीतिक रुपमा भन्दा राणा शासन, प्रजातन्त्र र पञ्चायतमा दशैं कसरी बदलियो ? भन्ने सवाल पनि म कताकतै सुन्ने गर्दछु । राजनीतिक कारणलेभन्दा पनि म चाहिँ आर्थिक कारणले बरु दशैं बदलिएको मान्ने गर्दछु । ती कारणले नै दशैंलाई बलियो बनाउँदै लगेको छ । ती तत्वहरुमा भूमिसुधार, उन्नत जातको बीऊको प्रयोग र जनताको चेतनास्तरमा भएको बृद्धिले पनि दशैंको महत्व बढाएको छ । पञ्चायतको सुरु हुनुभन्दा पहिले २०१७ सालको र २०१८ सालको दशैंमा खासै अन्तर मैलेचाहिँ देख्ने गरेको छैन । बरु २०२१ देखि यो बदलिएको छ ।
जो कोहीको पनि दशैं अर्थतन्त्रमा भरपर्छ । अर्थतन्त्रले नै हाम्रो सोचाई, हामीले मान्ने परम्परा, यस्ता पर्व एवं देवालीहरुलाई असर पार्ने गरेको छ । त्यसैले राजनीतिक परिवर्तनका कारण अर्थतन्त्रमा परिवर्तन आयो । अर्थतन्त्रमा आएको परिवर्तनका कारण आममानिसको दशैं मनाउने प्रचलनमा परिवर्तन आएको छ । सिधैं राजनीतिक परिवर्तनले भने दशैंलाई प्रभाव पारेको अनुभव भएको छैन ।
प्रस्तुती : सदुर्शन अर्याल
source https://www.onlinekhabar.com/2019/10/800794
0 comments:
Post a Comment