१३ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न बैंकबाट करिब ३० लाख रुपैयाँ लुटिएको प्रकरणमा संलग्न ६ भाइमध्येका हुन्, काभ्रेका २१ वर्षीय अञ्जन बराल । पक्राउ परेका सबै जनाविरुद्ध बैंकिङ कसूर सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।
बरालविरुद्ध भने दुईवटा कसूरमा मुद्दा चल्न सक्छ । आखिर किन ? यसबारे जान्न दशैंको तीन दिनअघि भएको घटनातिर फर्किनुपर्छ ।
सामाजिक सञ्जाल फेसबुकको एउटा ग्रुपमा मिलन सुब्बाले ३५० सीसीको हन्टर मोटरसाइकल बिक्रीमा रहेको भन्दै तस्वीर पोष्ट गरे । तस्वीर देखेर मोटरसाइकलका सौखिन बराल लोभिए ।
करिब ६ लाख पर्ने मोटरसाइकलको दाम ४ लाख ५० हजार रुपैयाँ भनिएको थियो । सकेण्ड ह्याण्ड भएकाले सस्तोमै बिक्री गरेको सुब्बाको भनाइ थियो ।
पोष्टमा उल्लेख गरिएको मोबाइल नम्बरमा फोन गरेर बरालले खरिद गर्ने इच्छा भएको बताए । बरु मूल्यमा हेरिदिनुपर्ने जनाए । भोलिपल्ट बिहान साढे ९ बजे चप्पल कारखाना छेउ भेट्ने कुरा भयो ।
मोटरसाइकलको एक छेउमा स्क्र्याच भएको देखियो । त्यसपछि बरालले पुनः मोलमोलाइ गर्न थाले । सुब्बा ३ लाख ७५ हजारसम्म घटे । तर, बराल मानेनन् । बरु कर आफैं तिर्ने भन्दै अझै घटाउन लगाए । बल्लतल्ल सुब्बा ५ हजार रुपैयाँ घटाएर मोटरसाइकल बेच्न तयार भए ।
‘पैसाचाहिँ चेकमा दिन्छु है…’, बरालले प्रस्ताव तेर्स्याइहाले । एभरेष्ट बैंकमा खाता भएको भन्दै ३ लाख ७० हजार रुपैयाँ बराबरको चेक दिए । दशैंका बेला भएकाले बैंक बन्द भइसकेको थियो । सुब्बाले पैसा निकाल्न पाएनन् ।
बराल भने मोटरसाइकल लिएर काभ्रेको पाँचखालतिर रहेको घरमा आए । दशैंपछि काठमाडौं फर्किए ।
सुब्बाको चेक साटिएको थिएन । बराललाई फोन गरेर त्यसबारे जानकारी गराए ।
‘जम्मा गर्दिहाल्छु है दाइ’, बरालले मायालु पारामा भनेका थिए । पटक-पटक बैंकमा जाँदा पनि सुब्बाले पैसा पाएनन् ।
तिहार लाग्यो । छठ मनाउन भन्दै बराल सर्लाहीमा रहेका आफन्तकहाँ पुगे । त्यहाँ पुगेर भने उनले सीमकार्ड परिवर्तन गरे ।
‘पहिलेको सीम कार्ड हराएपछि अर्को हालेको हुँ’, प्रहरी हिरासतमा रहेका बरालको दाबी छ । तर, नम्बर परिवर्तन भएसँगै उनी लापत्ता भए ।
काठमाडौं प्रहरीले ९ मंसिरमा उनलाई पक्राउ गरेपछि सुब्बाले थाहा पाए । त्यसपछि मोटरसाइकलको पैसा खोज्दै उनी टेकुस्थित प्रहरी कार्यालयसम्म पुगे ।
बरालले पैसा नदिने स्थिति देखेपछि सुब्बा अहिले मोटरसाइकल नै लाने मनस्थितिमा छन् । उनले जाहेरी दर्खास्त दिएमा बरालविरुद्ध चोरी मुद्दा दर्ता हुन सक्छ । तर, मुद्दातिर लाग्दा अन्तिम फैसला नहुञ्जेल मोटरसाइकल नपाइने भएकाले के गर्ने भन्नेमा रनभुल्लमा छन्, सुब्बा ।
बरालका अनुसार उनले कक्षा ११ को परीक्षा त दिएका थिए, तर अनुत्तीर्ण भएपछि पढ्न छाडिदिए ।
छुट्टै समूहको नेतृत्व गर्थे बराल
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका ६ जना दुई भिन्दाभिन्दै समूहका हुन् । आइतबार भएको १९ लाख ९९ हजार रुपैयाँ चोरीमा भने बरालको नेतृत्वमा सुभास श्रेष्ठ, कुमार तामाङ र मनिष घिमिरेको सहकार्य थियो ।
सिन्धुपाल्चोकका गोविन्द घिमिरे र बाग्लुङका सुमन पौडेल भने छुट्टै समूहका हुन् । त्यसो त बराल र घिमिरे आफन्त हुन् । यसअघि घिमिरेकै निर्देशनमा बरालले बैंकबाट रकम लुट्ने काम गरिरहेका थिए । तर, मनमुटाब भएपछि छुटि्टएर अलग्गै समूह बनाएर धन्दा चलाउन थाले ।
बरालका अनुसार उनी ३५ दिनअघि मात्र काठमाडौं आएका थिए । कालिमाटीमा फ्ल्याट लिएर बसिरहेका थिए ।
यो पनि पढ्नुहोस नक्कली हस्ताक्षर गरी बैंकबाट साढे १९ लाख चोरीकाठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनले फ्ल्याटको भाडा तिर्दा पनि ‘ब्याक डेट’को चेक दिएर बढी रकम बुझाउने गरेका थिए ।
करिब २० लाख र मुक्तिनाथ विकास बैंकबाट भएको १० लाख रुपैयाँको लुटमा पौडेल र घिमिरे संलग्न देखिँदैनन् । तर, बरालकै बयानका आधारमा प्रहरी उनीहरुसम्म पुगेको थियो ।
सुविधानगरस्थित उनीहरुको कोठाबाट करिब दुई हजार जना व्यक्तिको नागरिकताको प्रतिलिपि र फोटो पनि बरामद भएको थियो । त्यसैले उनीहरुलाई पनि एउटै मुद्दा चलाइएको हो ।
ती कागजपत्र कहाँबाट यो समूहसँग पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।
यो पनि पढ्नुहोस नक्कली हस्ताक्षर प्रकरण : लाखौं चोरीमा बैंक कर्मचारीकै संलग्नता !विभिन्न खातावालको बैंक स्टेटमेन्ट पनि आपराधिक गिरोहसम्म पुगेकाले यसमा बैंकका कर्मचारीको पनि संलग्नता हुनसक्ने आशंका गरिएको छ । घिमिरे शेयर कारोबारी भएकाले पनि वित्तीय संस्थाका व्यक्तिसँग सम्बन्ध हुन सक्ने आंशका गरिएको छ ।
तर, प्रकरणमा हालसम्म कुनै पनि बैंक वा वित्तीय संस्थाका कर्मचारी पक्राउ परेका छैनन् ।
काठमाडौं प्रहरीका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीका अनुसार यो समूहले १९ वटा बैंकलाई निशाना बनाएको देखिएको छ । उनीहरुले सर्वसाधारणको नक्कली हस्ताक्षर गरेर रकम चोरी गर्ने गरेका थिए ।
source https://www.onlinekhabar.com/2019/11/815302
0 comments:
Post a Comment