Wednesday 27 November 2019

जेफ बेजोस : विश्वकै धनी व्यक्तिको सरल जीवनशैली

सन् २०१८ मा ब्लुमबर्गले विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा सूचिकृत जेफ बेजोस परिवारलाई एकदमै धेरै समय दिने धनाड्य रहेको उल्लेख गरेको थियो । त्यसको एक वर्ष पछि अपि्रल २०१९ मा बेजोसले आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर अर्की प्रेमिकासँग सम्बन्ध जोड्ने निधो गरे ।

उनीहरुबीचको सम्बन्ध पहिले पनि राम्रो थियो र सम्बन्ध बिच्छेद पछि पनि साथीको रुपमा नै रहने बेजोसले घोषणा गरेका थिए । सम्बन्ध बिच्छेदको लागि बेजोसले श्रीमतीलाई ३८ खर्ब रुपैयाँ तिरेका थिए । सो पैसा लिएर सम्बन्ध बिच्छेद गर्न उनकी श्रीमती पनि राजी भइन् । उनीहरुको ४ बच्चा छन् ।

उनकी श्रीमती मक्केन्जी बेजोस ४९ वर्षकी छिन् । उनी लेखिका पनि हुन् । उनले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन् ।

जोसेफको दैनिकी

विश्वको सबैभन्दा धनी मान्छेको जीवनशैली कस्तो होला ? थोरै सम्पत्ति जोडेका मान्छेले त अरुलाई आफूभन्दा कमजोर सम्झने मानव समाजमा विश्वकै धनी बनेपछि कति उन्मत्त होलान् मान्छे ? यस्तो जिज्ञासा धेरैलाई लाग्न सक्छ । तर, सबैको व्यवहार त्यस्तो नहुन सक्छ ।

धेरैलाई जिज्ञासा हुनसक्छ यस्ता धनाड्यहरुहरुले के खान्छन् होला ? घरमा पक्कै पनि हाइफाइ पूर्ण जीवनशैली हुन्छ होला । तर, अरुले सोचेभन्दा भिन्न छन् विश्वका सर्वाधिक धनी व्यक्तिको जीवनशैली भने ।

अमेरिकी पत्रिका फोब्र्सको २०१९ को रिपोर्ट अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति हुन् जेफ बेजोस । उनको जीवनशैली सामान्य मान्छेहरुको भन्दा भिन्न छैन । खानामा उनको रुचि भिन्न छ । तर, त्यसमा पनि कुनै रवाफिलो स्वभाव छैन ।

अमेरिकी ई-वाणिज्य र क्लाउड कम्प्युटिङ कम्पनी अमेजनका संस्थापक एवं सीईओ बेजोससँग हाल १६६ बिलियन अमेरिकी डलर अर्थात् १६ खर्ब अमेरिकी डलर सम्पत्ति छ । तर, उनी आफ्नो त्यो सम्पत्तिमाथि घमण्ड गर्दैनन् ।

बेजोसका केही अचम्म लाग्ने व्यक्तिगत व्यवहारहरु छन् । उनी रातिको खाना खाएपछि भाँडाकुँडा माझ्ने काम आफैं गर्छन् । समय मिल्यो भने आफ्नो कपडा आफैं धुन्छन् । हरेक दिन परिवारलाई पर्याप्त समय दिन्छन् र अरुसँग शालीन रुपमा प्रस्तुत हुन्छन् । यद्यपि परिवारसँगको सम्बन्धको बारेमा श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेपछिको उनको जीवनमा सामान्य बदलाव आएको छ ।

उनको यी सबै व्यवहारहरुको बारेमा २०१८ मा ब्लुमवर्गमा एउटा रिपोर्ट छापिएको थियो । तर, त्यसपछि यही वर्ष मात्रै उनको सम्बन्ध बिच्छेद भएको हो । सो रिपोर्ट अनुसार उनी सुत्नको लागि निकै सौखिन छन् । उनलाई आफैं निद्रा नखुलेसम्म अरुले बोलाएर ब्युँझाएको मनपर्दैन । बेजोस पर्याप्त निद्राबाट नै सफलताको सुरुवात हुने सम्झन्छन् । अलार्म क्लक प्रयोग नगरी प्राकृतिक रूपमा ब्यूँझनु उनको एउटा विशेषता हो ।

परिवारमैत्री थिए बेजोस

उनी परिवारलाई धेरै समय दिने व्यक्तिहरुमध्ये पर्छन् । दिनको सुरुवात उपन्यासकार समेत रहेकी  पत्नी म्याकेन्जी बेजोससँग बिताउँथे । उनीहरुबीच सन् १९९३ मा विवाह भएको थियो । उनीहरुबीच यति गाढा प्रेम थियो कि आफ्नी ४८ वर्षिय श्रीमतीले बिहानको खाजा बनाइरहेको बेलामा बेजोस पनि साथमा गएर सहयोग गर्ने गर्थे । तर, एकाएक फक्स टीभीकी एक कार्यक्रम सञ्चालिका लरेन सान्चेजसँग उनी प्रेमपूर्ण सम्बन्धमा बाँधिएपछि उनको परिवारसँग सम्बन्ध बिच्छेद भएको हो ।

उनका तीन छोरा र एक धर्मपुत्री छन् । म्याकेन्जी र उनका चार बच्चाहरूसँग गुणस्तरीय समय बिताउनकै लागि उनी बिहानको समयमा कुनैपनि बैठक राख्ने गर्दैनथे । उनी सामान्यतया ठूला मानिसहरुसँग बैठकमा बस्नै रुचाउँदैनन् । अमेजनकै लगानीकर्ताहरुलाई समेत उनी वर्षमा जम्मा ६ घण्टा समय दिन्छन् ।

यो पनि पढ्नुहोस फेसबुकका मालिक मार्क जुकरबर्ग कसरी परिवारसँग रमाउँछन् ?

खानामा अक्टोपस

उनको खानामा अचम्मको मेनु हुने गर्छ । उनी जहिलेपनि ‘दुई पिज्जा नियम’लाई पूर्ण रुपमा आत्मसाथ गर्छन् । उनी आफ्ना कर्मचारीहरुसँगको बैठकमा पनि ठूला ठूला पार्टी दिने गर्दैनन् । ‘दुई पिज्जा’ ले नै आवश्यक पोषण पूरा हुन्छ भन्ने उनको बुझाई छ । त्यसैले त्यही दुई पिज्जा नै हरेक कार्यक्रममा खुवाइन्छ ।

बेजोस असामान्य खाना खान मन पराउँछन् । उनी प्रायः बिहानको खाजामा आलु, बेकन, हरियो लसुन, दही र अण्डाहरूको साथमा अक्टोपसको अर्डर गर्छन् । बेजोसलाई अनौंठा व्यञ्जनहरूको स्वाद चाहिन्छ । एकपटक बूटका संस्थापक म्याट रुटलेजसँगको भेटमा उनले आलू, बेकन, हरियो लसुन दही र अण्डाहरूको साथमा अक्टोपस नल्याएपछि आफैंले मुख फोरेर अर्डर गरेका थिए । उनले आफूलाई अक्टोपस अनिवार्य चाहिने भनेर तत्कालै अक्टोपस मगाएका थिए ।

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

घरमै भाँडा माज्छन्

नुहाउन, आफ्नो कपडा धुन पनि बेजोसलाई अफ्टेरो लाग्दैन । उनी रातिको खाना भइसकेपछि घरको भाँडा धुने काम पनि गर्छन् । उनी स्वयंसेवी रुपमा त्यो काम गर्छन् । रातिको खाना खाइसकेपछि बेजोस नियमित नुहाएर मात्रै सुत्ने गर्छन् ।



source https://www.onlinekhabar.com/2019/11/815001

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More