Wednesday 27 November 2019

काठमाडौैंमा पनि गजबको होमस्टे : मल्लकालीन सत्कार

काठमाडौंमा खान, बस्नका लागि होटल–लजको अभाव छैन । अति सस्तो र सामान्यदेखि पाँचतारे होटलसम्म उपलब्ध छ । तर, काठमाडौंभित्र रैथाने परिवारमा स–शुल्क पाहुना पनि लाग्न पनि सक्नुहुनेछ । पारिवारिक रहनसहनमा रम्दै एउटै चुल्होमा पाकेको खानेकुरा चाख्न सक्नुहुनेछ । हार्दिकतापूर्वक आतिथ्य पाउनुहुनेछ ।

पाहुना आउने बित्तिकै सामान्य परिचय सोधेर स-सम्मान उनीहरुको रोजाईको खाना, कम्तिमा परिवारको एकजनाबाट बसाई अवधिभर अटुट साथ । साथमा फुर्सदको समयमा परिवारका अरु सदस्य समेत भेला भएर उनीहरुको सम्मानमा कुराकानी गर्ने संस्कार नेपाली संस्कार हो ।

कुनै पाहुना आउँदा उनीहरुको सारा पूख्र्यौली विवरण मात्रै होइन । गाउँलेहरुको विवरण समेत कुरै कुरामा बुझ्ने गरिन्छ । त्यही न्यानो साथबाटै कतिको साइनो जोडिन्छ । कोही निष्ठुरी बनेर हिँड्छन् । यस्तै हुन्छ अर्ग्यानिक नेपाली आतिथ्यता ।

लामो यात्राबाट आएका जो कोही पनि यो संस्कार पाएपछि थकाई भुल्दै जान्छन् । अतिथिको सेवामा कुनै कसर बाँकी राखिँदैन । आफू थोत्रा कपडा ओछ्याएर सुतेपनि अतिथिको विशेष ख्याल राखिन्छ । आफू ढिँडो खाएर पनि पर्यटकको लागि अनेक व्यञ्जन पस्किने नै असली नेपाली संस्कार हो ।

 

यही संस्कारलाई निरन्तरता दिनको लागि ठाउँ ठाउँमा होमस्टेको अवधारणाको विकास भएको छ । एउटा बसाई अवधिभर अतिथिलाई खिन्न अनुभव हुनै नदिनु नै होमस्टेको विशेषता हो । यही होमस्टे पछिल्लो समय ललितपुर दरबार क्षेत्रको आसपास तीब्र रुपमा बढ्दै छ । साथमा नेवारी संस्कृति अरुलाई देखाउनकै लागि जोगाउने परिपाटीको पनि विकास भएको छ ।

रिसेप्सनमा नाम टिपाएर एउटा स्वघोषित बन्दीले जसरी रात बिताउनुपर्ने संस्कृति होइन होमस्टे संस्कृति । यसमा जिवित संस्कारहरु देख्न पाइन्छ । स्थानीय खानाको स्वाद पाइन्छ । साथमा न्यायो माया पनि । ‘पाटनका नेवार समुदायले मनाउने हरेक किसिमका संस्कृतिहरुमा उनीहरुलाई संलग्न गराइन्छ’ ३५ वर्षदेखि पर्यटकहरुलाई पारिवारिक रुपमा बसाईको सेवा दिँदै आएका मंगलबजारका गुणमुनी शाक्य भन्छन् ‘कुनैपनि अतिथिलाई केही समस्या नहोस् भनेर हाम्रा साथीहरुले ध्यान दिइरहेका हुन्छन् । होटलको जस्तो एकान्त वातावरण हुँदैन । उनीहरुलाई हरेक किसिमका पारिवारिक कार्यक्रमहरुमा समेत संलग्न गराइन्छ । यो हाम्रो विशेषता हो ।’

अहिले वडा नं १६ मा मात्रै १३ वटा होमस्टे दर्ता भइसकेको छ । दुई दर्जनभन्दा धेरै होमस्टेहरु अहिले सञ्चालनमा रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । पाटन दरबार क्षेत्रको आसपास पर्ने ललितपुर महानगरपालिका १३ नं वडाका वडाध्यक्ष निर्मल रत्न शाक्य भन्छन् ‘भूकम्पपछि मौलिक किसिमको घर बनाएकाहरु र पहिले पनि मौलिक आकृतिको घर भएकाहरुले भटाभट होमस्टे मार्फत् परम्परागत रुपमा अतिथिको सत्कार गर्न सुरु गरेका छन् ।’ अहिलेसम्म १३ होमस्टे दर्ता भइसकेको उनले जनाए । वडा नं १२ मा पनि तीब्र रुपमा होमस्टे सञ्चालमा आउने गरेको छ ।

त्यस्तै, महानगरपालिकाको वडा नं १२ का वडाध्यक्ष नारायण लाल अवालेले राणाकालीन र मल्लकालीन शैलीमा समेत होमस्टे सञ्चालमा रहेको बताएका छन् । उनले आफ्नो वडामा रहेका एक दर्जन होमस्टे मध्ये ५ वटा जति होमस्टेको भित्री स्वरुप मल्लकालीन शैलीको रहेको बताए ।

भित्तामा हुने कलाकृति, भर्‍याङ र कोठाहरुको मोहोडा आदि राणाकालीन शैलीको बनाएर धेरै होमस्टेहरु खुलेको उनले बताए । होमस्टे बनाउनको लागि महानगरपालिकाले पनि एउटा निश्चित डिजाइन दिने गरेको बताए । सोहीको आधारमा होमस्टेहरु सञ्चालनमा छन् । बाहिरी मोहोडा भन्दापनि भित्री मोहोडा धेरै कलाकृतिहरु सजिएका हुन्छन् ।

पूर्वीय संस्कृतिले नै अतिथि देवो भवः अर्थात् अतिथिहरु देवता हुन् भन्ने संस्कार सिकाएकोले पनि धेरै पर्यटकहरु यही कारणले पटक पटक दोहोर्‍याएर नेपाल भ्रमणको लागि आउने गर्छन् । पहिलेका अतिथिहरुमाथि झनै व्यवसायिक कोणबाट समेत नसोची साँच्चिकै सत्कार गर्ने गरिन्थ्यो । तर, अहिलेको आतिथ्यतामा भने व्यवसायिक स्वार्थ लुकेको छ । तर पनि कुनै पाहुनाले पाटन घुमिसकेपछि नेवारी शैलीबाट स्वागत र आँखी झ्यालबाट चिहाउने अवसर समेत पाउँछन् ।

यहाँका होमस्टे सञ्चालकहरुमध्ये धेरै कतैपनि तालिम लिन नगएकाहरु छन् । शाक्य भन्छन् ‘तालिम लिएर चलाएको होमस्टेमा बनावटी सत्कार हुन्छ । हामीहरु अग्र्यानिक सत्कार गर्छाैं । त्यसैले हामीलाई कुनै तालिमको आवश्यकता पर्दैन । जसरी हुन्छ पर्यटकलाई खुशी गराउने हो । हामीहरुको मूल ध्येय नै त्यही हो ।’

होमस्टेको बसाई होटलको भन्दा केही महंगो हुने गर्छ । यसमा लागत नै धेरै हुने भएकोले पनि धेरै महंगो लिनु परेको व्यवसायीहरु बताउँछन् । केवल व्यवसायिक मात्रै नभएर सेवा सुविधालाई समेत ध्यान दिँदै पाटन दरबार क्षेत्र वरपरी धेरै होमस्टेहरु खुलेका छन् । जहाँ नेवारी शैलीमा न्यानो आतिथ्यता पाउन सकिन्छ । आफूहरुले खाना खाने समयमा सोही अनुसारको खाना खुवाउने गरिन्छ ।

हरेक दिन जस्तो जात्रा र पर्व परिरहने नेवार जातिको होमस्टे अरुको भन्दा भिन्न छ । यहाँ केवल खाना र बसाईको लागि मौलिकता देखाईंदैन । यहाँ पूर्ण पारिवारिक वातावरणमा आफूहरुको हरेक संस्कृतिमा उनीहरुलाई समेत संलग्न गराउने गरिएको सञ्चालकहरु बताउँछन् ।

पूर्वमा च्यासल गेट, पाटन ढोका, पुल्चोक र लगनखेलको परिधिभित्र रहेको कुनैपनि मौलिक शैलीमा बनेको घर भाडामा लिनको लागि तँछाडमछाड चलिरहेको छ । कोही भाडामा घर लिएर होमस्टे चलाउँदैछन् भने कसैले आफ्नै घरमा यो सेवा दिने गरेका छन् । आलिसान पाराले बनेकोदेखि दुई आनामा बनेको घरलाई समेत लाखौं तिरेर भाडामा लिन चाहनेहरु प्रसस्तै भएको घरधनीहरु सुनाउँछन् ।



source https://www.onlinekhabar.com/2019/11/815028

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More