Thursday, 28 November 2019

भित्री वस्त्रमा लुकाएर ल्याइएको थियो ८ किलो सुन

१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद ८ किलो सुन चिनियाँ नागरिकले भित्री वस्त्रमा लुकाएर ल्याइएको खुलेको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले भित्री वस्त्रमा फल्स बटम बनाएर ४-४ किलो सुन लुकाएर ल्याएको भेटिएको हो ।

गएराति नियमित जाँचका क्रममा शंका लागेपछि खानतलासी गर्दा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुराज ढकालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।

उनीहरुलाई राति नै थुनुवा पूर्जी दिएर महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

समस्या दोभाषेको

अधिकृतहरुका अनुसार पक्राउ परेका चिनियाँ नागरिक भरिया मात्र हुनसक्ने आशंका गरिएको छ । सुनको मालिक को हुन् भन्ने विषयमा शुक्रबार दिउँसोबाट अनुसन्धान थालिने स्रोतको भनाइ छ ।

भाषाका कारण बयानका लागि समस्या भएकाले अनुसन्धानमा ढिलाइ भएको हो । ‘दोभाषे बोलाएका छौं । दिउँसोबाट बयान सुरु हुन्छ’, एक अधिकारीले अनलाइनखबरसँग भने ।

ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिरफ्तारीसँगै विमानस्थलमा तस्करको र्‍याकेट ध्वस्त भएको सरकारले दाबी गरेको थियो । तर, अझै समय-समयमा सुन बरामद हुँदै आएको छ ।

भन्सार प्रमुख ढकाल भने अहिले भन्सारमा सुनको हकमा निकै कडाइ गरिएको बताए । उनले भने, ‘अहिले सुनको विषयमा भन्सार गर्व गर्नलायक बनेको छ । जाँचमा कडाइ भएकै कारण तस्करको प्रयास विफल हुँदै आएको छ ।’



source https://www.onlinekhabar.com/2019/11/815331

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More