Friday, 29 November 2019

इलियटको बञ्जर भूमिमा फर्सीको जरा उमार्ने मोहन कोइराला

१४ मंसिर, काठमाडौं । पहिलो र दोस्रो विश्वयुद्धको चापबाट विश्व घाइते हुँदै थियो, कवि मोहन कोइरालाले युगलाई घाइते बनाइदिए । त्यसैबाट जन्मियो घाइते युग । २०१७ सालमा प्रकाशित सोही कृतिले नेपाली साहित्यमा नवयुगीन प्रयोगवादी धाराको सुरुवात गर्‍यो ।

कोइरालाका यी कविताहरुमा विसंगति र निस्सारताको अभिव्यक्तिमात्रै पाइँदैन, निरर्थकताको अभिव्यक्तिमा सार्थकताको खोजी पनि भेटिन्छ ।

उन्नाइसौं शताब्दीमा जर्मन दार्शनिक फ्रेडरिक नित्सेले ईश्वरको मृत्यु घोषणा गरे । १९९० को दशकमा चर्चित फ्रान्सिस फुकियामाले ‘इतिहासको अन्त्य’को घोषणा गरे । रोला बार्थले ‘लेखकको मृत्यु’को घोषणा गरे । मिसेल फुकोले पाठकको मृत्युको घोषणा गरे ।

स्वच्छन्दतावादको रमन्ते उडानबाट यथार्थविहीन हुन पुगेको साहित्यलाई अल्वर्ट कामु, जिनपाल सात्र्र लगायतको विसंगतिवादी अस्तित्ववादी चिन्तन लगायतका विभिन्न पृष्ठभूमिबाट प्रभावित भएका बेलायती साहित्यकार टीएस इलियटले यथार्थको धरातलमा अवतरण गराउने प्रयास गरेका थिए । सोही प्रयोगवादी सोचलाई नेपालमा भित्र्याए, कवि मोहन कोइरालाले ।

स्वच्छन्दतावादले अहा कति राम्रो हिमाल ? भनेर भावनाको वाहनमाथि सयर गर्न सिकाइरहेका बेलामा त्यसलाई चुनौती दिँदै हिमाललाई ‘राम्रो’ नभनेर ‘चिसो’ भन्ने हिम्मत यही धाराले गर्‍यो ।

अर्थात् कोइरालाले नै यसको सुरुवात गरे ।

बेलायतबाट इलियटले सुरु गरेको प्रयोगवादी धारा पश्चिमी वायुको माध्यमबाट नेपालसम्म आइपुग्यो । नेपालमा आइपुग्दा क्लिष्ट भाषामा आफ्ना रचना गर्ने कविकारुपमा चिनिएका कोइराला यसका प्रसारक भए ।

तिनै साहित्यकार टीएस इलियटको ‘बञ्जर भूमि’ मा कोइरालाले ‘फर्सीको जरा’ रोपे ।

युगलाई नै घाइते घोषणा गरेर निरर्थक मानव संसारमाथिको तीतो यथार्थ प्रस्तुत गरे । आफूलाई नदी किनारका एक्लो माझी सावित गरे । उनकै पछि लागेर धेरैले उक्त धाराको अवलम्वन गरे ।

कविताकै माध्यमबाट मानिसलाई फर्सी बनाए । फर्सीको जरा भनेर मानिसको अस्तित्वलाई बुझाए । अनन्त हात भनेर व्यापक फैलावटलाई बुझाउन थाले । वर्तमान युग र दुष्ट शक्तिशाली व्यक्तिलाई चीलको प्रतिकात्मक शब्दले चिनाए, वर्तमान युगका निरीह मानिसलाई चल्लाको उपमा दिए । यसरी निस्सार जीवनको एक विसंगत पक्षको वकालतको संग्रहका रुपमा उनले फर्सीको जरा लेखे ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा झण्डै दुई शतक अघि आयोजित एक कार्यक्रममा त्रिविका प्राध्यापकहरुसँग कोइरालाले आफ्नो प्रयोगवादी धाराका कविताहरुका बारेमा व्याख्या गरेका थिए । सोही कार्यक्रममा इलियट्सको प्रभाव उनको कवितामा परेको भन्ने तर्कमा उनको मतबारे धेरैले जिज्ञासा राखे । त्यसबारे उनीमाथि आएको सो प्रश्नलाई उत्तर दिँदै कोइरालाले भनेका थिए, ‘इलियटले नेपालीमा पक्कै लेखेनन् होला, म अंग्रेजी बुझ्दिनँ । तर, बाहिर यस्तो लेख्दा रहेछन् । मैले पनि सुनेको हुँ ।’

कोइरालाको यो रोचक प्रसंगबारे त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. खगेन्द्र लुईंटेलले स्मरण गरे । कोइराला आफैंले नस्वीकारेको भए पनि धेरै समीक्षकहरुले भने उनी इलियटबाट प्रभावित भएकै दाबी गर्छन् ।

कोइरालाको २०१७ देखि २०२१ सम्म प्रकाशित भएका डेढ दर्जन हाराहारीका कविताहरुले नेपाली कविता विधालाई एउटा उचाइमा मात्रै पुर्‍याएन, साहित्य केवल भावनामा उडेर मात्रै सफल हुँदैन भन्ने सावित पनि गरिदियो ।

क्लिष्टताकाबीच पनि मानवीय मूल्य र मान्यताको खोजी गरेका प्रयोगवादी कविहरुको त्यो प्रयासले नेपाली कवितालाई एउटा उचाईमा पुर्याउनुका साथै यथार्थवादले पाठक लोभ्यायो । यसको दुर्वाेध्य पक्षका कारण धेरै पाठकहरु नआत्तिएका पनि होइनन् । तर, थोरै क्षेत्रका बुज्रुक पाठकहरुमा लोकप्रिय रहेको यो विधाले पनि एउटा दह्रो धाराको रुपमा विकास भयो । यसको मुख्य श्रेय कोइरालामाथि नै जाने गर्छ ।

विसं. २०२२ सालमा सूर्यदानबाट लामो कविताको विधाको उपोद्घात भयो । सूर्यदानको सार्वजनिककीकरणपछि ‘लेक’ हुँदै ‘नुनका शिखरहरु’ र ‘पलङ नं १’ शिखरहरुले प्रकृतिलाई समेत मानवीकृत गरिदिएको छ ।

भावगत सौन्दर्य र अन्तिम परिणति जतिसुकै आल्हादकारी र आकर्षक भए पनि प्रस्तुतिको जटिलताले खजमजिएको र अभिव्यक्तिले गुजिल्टिएकाले उनका धेरै कविताहरु विकर्षणकै चपेटामा परेका छन् ।

‘फर्सीको जरा’मा कोइरालाले गरेको मानवीकृत प्रस्तुति

फर्सीको जरा कविता एक क्लिष्ट प्रस्तुतिको एउटा उदाहरण हो । पूर्ण प्रतिकात्मक शैलीमा विरचित प्रस्तुत कवितांशमा हिँड्ने, हिम्मत, क्षितिज, दिशा, माटोमा, हिँड्न, खुट्टा, विचार, अभियान आदि साङ्केतिक अर्थ उत्पन्न गर्न सक्षम पदहरू छन् । अधिकांश शब्दहरु प्रतिकात्मक रुपमा प्रस्तुत भएका छन् ।

कोइरालाका यही प्रतिकात्मक शब्दका कारण नै धेरै उनका कविताहरु धेरै क्लिष्ट हुने गरेका छन् । आउने विश्वासलाई उनले भविष्यसँग तुलना गरे, वर्तमानलाई बाँचिरहेको विश्वास माने । काँक्रोलाई पनि मानिसको रुपमा परिचित गराए, मानिसको साहारालाई थाँक्रो माने । असफलतालाई चिनाउन माटो नलागेको हात माने, फर्सीको बियाँलाई उत्पत्तिको आधार मानेका छन् । लाटीले धुमाएको जाँतोले वर्तमान अनियन्त्रित यात्रा र सङ्गतिहीन कार्यलाई बुझाए । अँगेनामा रोटी पोल्नुलाई जिजीविषा माने । यसरी उनको क्लिष्टताले भारी पुर्‍याएको देखिन्छ ।

मोहन कोइराला र उनको प्रयोगवाद

मानव मनमा व्याप्त भय, सन्त्रास र छटपटीलाई यथार्थ रुपमा प्रस्तुत गर्नु नै प्रयोगवाद हो । यसले कोरा कल्पनाको विरोध गरेर यथार्थ जीनवशैलीको पक्ष पोषण गर्ने गर्छ । पाश्चात्य चित्रकला क्षेत्रमा परेको अमूर्त प्रयोग, द्वीतीय विश्वयुद्धपछि फ्रन्समा देखिएको अस्तित्ववादको प्रभाव, डार्विनको विकासवादी सिद्धान्त, मानिसलाई यौनवादी जीवशास्त्रीय दृष्टिले हेर्ने जस्ता साहित्यिक अवधारणासँगै विकास भएको थियो विश्वमा प्रयोगवादको श्रृङ्खला ।

त्यसैको प्रभावस्वरुप कवि कोइरालाले पनि साहित्यमा निर्जीवतालाई जीवन्तता दिन थाले, रुपक तथा उपमाहरुको धेरै प्रयोग गर्न थाले । अव्यक्त भावलाई व्यक्त गर्न थाले । प्रतीकको साहाराले कुनै पनि विषयको विश्लेषण पनि गर्न थाले ।

सुसुप्त र दमित भावनाहरुलाई जागृत पार्नका लागि विभिन्न अलंकारहरुको व्यापक प्रयोग गरेको देखिन्छ । वर्तमान शहरी मानिसहरुको चित्रण गर्नको लागि ‘कार्टुनको सहर’ रचना गरे, सम्पूर्ण नेपालीहरुको आर्थिक अवस्था चित्रण गर्नको लागि सुन सारंगीको रचना गरे साथमा मृत मानवको विम्व कोबेर उचिएको ‘घाइते युग’ मार्फत् नै आफ्नो उत्कृष्ठता प्रस्तुत गरिसकेका थिए ।

उनी केवल प्रयोगवादी धारामा मात्रै कविता लेख्ने कवि होइनन् । हरेक प्रयोगवादी धाराका कविले जस्तै उनले पनि आफ्ना कवितामा जीवनप्रतिको निस्सारता र विसंगतिलाई चित्रण गरेका थिए । विसंगतीपूर्ण स्थितिले जन्माएको विसंगतिवादी दर्शनले बीसौं शताब्दीमा विश्वभर व्यापकता पाएको थियो । त्यसैको पहिलो प्रयोग नेपालमा कोइरालाले गरेका थिए ।

कोइरालाद्वारा प्रस्तुत ‘कार्टुनको सहर’, ‘आधुनिक नेपाली क्लब ह्विस्की’, ‘एक रात’, ‘पहराको फूल’, ‘एक लाश’, ‘आमा मलाई बाँच्न दे’ जस्ता कविताहरुमा विसङ्गति बोधका अभिव्यक्तिहरु पाइन्छ ।



source https://www.onlinekhabar.com/2019/11/815714

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More