प्रत्येक वर्ष भाद्र महिनाको औंसीका दिन कुशे औंसी पर्व मनाइन्छ । आजका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसको आयुर्वेदिक तथा औषधीय महत्त्व पनि छ ।
व्राह्मणहरुद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको महत्त्वबारे वर्णन गरिएको छ । हिन्दूधर्ममा कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ ।
कुश किन आवश्यक ?
यज्ञादी कर्म गरिँदा कुशको आहुति केतु ग्रहलाई वैदिक मन्त्रकासाथ दिने चलन छ । यज्ञ गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ र रात्रिकालमा शुद्ध पानीमा भिजाएर राखेको कुशको पानीको प्रयोग वीणादि कलश स्थापना गरिँदा कलशमा राख्ने चलन पनि छ ।
देवी देवताको पूजामा अभिषेक, प्राण प्रतिष्ठा, प्रायश्चित, दशविध स्नान आदि गरिँदा कुश मिश्रित जल नै प्रयोग गरिन्छ । कुशासनमा बसेर पूजा गर्नु, कुशको औंठी देव कार्यमा साहिँली औंलामा र पितृकार्यमा चोर औंलामा लगाउनु, कुशलाई कम्मरमा सिउरिनु धार्मिक विधी हुन् । यद्यपि वैज्ञानिक दृष्टिकोणबाट पनि यसो गरिनु लाभदायक मानिएको छ । भनिन्छ कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बसाइले उच्च रक्तचापका विरामीलाई लाभ हुन्छ ।
आयुर्वेदिक महत्व
नुहाउँदा, जप गर्दा, होम, स्वाध्याय, सन्ध्या, देवपूजा यज्ञ यज्ञादी कार्य गर्दा हातमा कुशको दण्ड लिएर बस्नु सनतनी हिन्दुहरुले गर्ने कर्महरुको विशेषता हो । आयुर्वेदिक उपचारमा पनि कुशको खास महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग श्वास, दाह, रक्तपित्त, रक्तविकार, तिर्खा, मिर्गौलाको पत्थरी, मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा आदिको उपचारमा गर्न सकिन्छ ।
कुश मानवले धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुन्छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ ।
शारीरिक स्वास्थ्यका लागि कुश
मानिसको जन्मदेखि मृत्युसम्मका बिभिन्न धार्मिक कर्महरुमा कुश नभइ हुँदैन । तर, कुश किन आवश्यक छ भन्ने कुरा धेरैलाई थाहा छैन । कतिपय मानिसहरु कुशको प्रयोगलाई केबल औपचारिकता पूरा गरेको ठान्छन् । तर, त्यस्तो ठान्नु गलत हो । कुशको प्रयोगमा वैज्ञानिक कारण पनि छ ।
जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवदेहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निस्क्रिय होउन् भनेर कुशको प्रयोग गरिएको हो । ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव पर्दैन । कुण्डलीमा राहुको महादशा चल्दा पानीमा कुशको प्रयोग गरेर स्नान गर्दा यसको नकरात्मक असर कम हुने धार्मिक शास्त्रमा उल्लेख छ ।
कहिले, कतिबेला र कसरी उखेल्ने कुश ?
औंशीको दिन प्रातः कालमा कुश उखेल्ने चलन नेपाली समाजमा छ । भाद्र कृष्ण औंशीको दिन कुश उखेल्नको लागि प्रातः कालमा स्नानादि नित्य कर्म सकी शुक्लपट्ट अर्थात् धोती लगाएर विधिपूर्वक पूजा गरेर प्रातः कालमै अर्थात् विहानै उखेल्नु पर्छ ।
कुश उखेल्दा त्तर या पूर्वतर्फ फर्किएर उखेल्नु पर्दछ । यही भाद्र कृष्ण औंशीको बेला उखेलिएको कुश दुई वर्षसम्म मात्र शास्त्रादी कर्मको लागि ग्राह्य हुने शास्त्रमा उल्लेख ।
कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गरिन्छ । बुवा नहुनेले तीर्थमा खासगरी उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा गएर श्राद्ध, तर्पण, दान गरिन्छ । विष्णु पादुकालमा गरिने श्राद्ध, तर्पण, दान गरेमा पितृ तर्ने धार्मिक विश्वास छ ।
तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्नुका साथै पितृले आशिर्वाद दिने र आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
source https://www.onlinekhabar.com/2019/08/792224
0 comments:
Post a Comment