१५ भदौ, काठमाडौं । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ भने दर्जन बढी घाइते भएका छन् ।
एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो ।
टेक्सासका प्रहरी प्रवक्ताले घटनाको पुष्टि गर्दै गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र अन्य १६ घाइते भएको जनाएका छन् । ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुले जनाएअनुसार, २ वर्ष मुनिका बच्चालाई समेत बन्दुकधारीले गोली दागेका छन् । ती बच्चाको अहिले ओडेसाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
ओडेसा नगरका प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले आफ्नो गाडी रोक्ने ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए । अन्दाजी ३० वर्षका ती बन्दुकधारी त्यसपछि हुलाक सेवाका ट्रक नियन्त्रणमा लिएर मिडल्यान्ड नगरतर्फ हुइँकिएका थिए ।
प्रहरीले एक संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारेको छ । उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको हो । घटनामा अन्य व्यक्तिको संलग्नता रहे/नरहेको बारे अनुसन्धान भइरहेको बताइएको छ ।
गोली कुन प्रयोजनका लागि हानियो भन्ने अहिलेसम्म खुलेको छैन ।
घटनाबारे महान्यायाधिवक्ताबाट जानकारी लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआईलगायतले यसबारे अनुसन्धान गरिरहेको लेखेका छन् ।
मास सुटिङ अमेरिकाका लागि कुनै नयाँ घटना होइन । ४ साताअघि मात्रै पनि टेक्सासको एल पासोमा अन्धाधुन्ध गोली प्रहार भएको थियो । जसमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।
source https://www.onlinekhabar.com/2019/09/792622
0 comments:
Post a Comment