१२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अञ्चल अस्पताल संघीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्को वि.सं. २०७५ पुस २३ गतेको बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने र गजेन्द्रनारायण अस्पताललाई प्रतिष्ठानमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले सो प्रतिष्ठानको नौ अर्ब रुपैयाँको लगानीमा भौतिक पूर्वाधार निर्माण हुन लागेको जनाएको छ । राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित विरौलचोकमा प्रतिष्ठानका लागि ६२ बिघा जमीन उपलब्ध गराएको छ ।
प्याकुरेलको पदावधि एक वर्ष थप्न प्रस्ताव
यसैबीच, मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ ।
स्वास्थ्य सेवातर्फका १२औं तहका डा. प्याकुरेलले यही भदौ २२ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै छन् । उनको पदावधि थप गर्दा अन्य कर्मचारीको वृद्धि विकासमा असर नपुग्ने भन्दै मन्त्रालयले स्वास्थ्य सेवा ऐनअनुसार उनको पदावधि थप गर्न प्रस्ताव गरेको जनाएको छ ।
source https://www.onlinekhabar.com/2019/08/791919
0 comments:
Post a Comment